Loving nepal news

Saturday, December 11, 2010

देउवापक्षले गुरुङलाई अघि सार्ने

कुलचन्द्र न्यौपाने

काठमाडौ, मंसिर २६ - कांग्रेसमा देउवा पक्षले महामन्त्री पदमा केबी गुरुङको नाम प्रस्ताव गर्दै अघि बढ्ने भएको छ । केन्द्रीय कार्यसमितिमा सभापति सुशील कोइरालाको प्रस्ताव असफल पार्ने रणनीति बनाउन नेता शेरबहादुर देउवा निवासमा शनिबार भएको छलफलमा उनी पक्षका केन्द्रीय सदस्यहरू यस्तो निचोडमा पुगेका हुन् ।

छलफल उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्न कोइरालाले राखेको प्रस्तावको विवादमा केन्दि्रत थियो ।

देउवा पक्षले कनिष्ठ नेता सिटौलालाई महामन्त्री बन्न दिन नहुने भन्दै सहमतिका लागि गुरुङको नाम अघि सारेको हो । आफूलाई महामन्त्रीमा प्रस्तुत नगरिएपछि कोइरालासँग असन्तुष्ट नेता अर्जुननरसिंह केसीले गुरुङप्रति संकेत गर्दै आदिवासी जनजाति, मधेसी र दलितबाट महामन्त्री प्रस्ताव गरिएमा सहमति जुट्न सक्ने धारणा राखेका थिए ।

केसीले कसलाई महामन्त्रीमा प्रस्तुत गर्ने भनेर व्यक्तिबारे छलफल नभएको बताउँदै समावेशी ढंगले प्रस्तुत गरेमा सहमतिका साथ अघि बढ्न सकिने धारणा आफूले राखेको बताए । पूर्वमहामन्त्रीसमेत रहेका गुरुङ उपसभापतिका आकांक्षी रहँदै आएका छन् । पदाधिकारी मनोनयन विवादका विषयमा आफूपक्षीय सदस्यहरूसँग मात्रै छलफल गर्दा विभाजनको सन्देश जाने भन्दै देउवाले कोइराला पक्ष्ाीय सदस्यहरूसँग पनि परामर्श थाल्ने भएका छन् ।

'गिरिजाबाबुले त मसँग सल्लाह गर्नुहुन्थ्यो तर सुशीलजीले सल्लाह गर्नुभएन,' देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'एकलौटी गर्नुभएन, सबैलाई मिलाएर जानुपर्‍यो भन्नेमा मेरो जोड हो ।'

कोइरालाले भने देउवाले राखेको छुट्टै भेलाप्रति असन्तुष्टि प्रकट गर्दै पार्टीमा छुट्टै समानान्तर शक्ति खडा गर्न खोजेको बताएका छन् । भेलालाई लिएर कोइरालाले सार्वजनिक रूपमा भने कुनै टिप्पणी गर्न चाहेनन् । 'अहिले यसमा भन्नु मेरो केही छैन,' उनले यतिमात्रै भने । देउवा पक्षीय सदस्यहरूले छुट्टै भेला नभएर आन्तरिक विवाद मिलाउन छलफलका लागि मात्रै बोलाएको जनाएका छन् ।

पदाधिकारी मनोनयन प्रस्ताव पुनर्विचार नगरेमा कोइराला क्याम्पबाट असन्तुष्ट रहेका केसी, केबी गुरुङ, सुजाता कोइराला र गगन थापालाई आफ्नो पक्ष्ामा कायम राखेर प्रस्ताव असफल बनाउने रणनीतिमा देउवा छन् । असन्तुष्टमध्येका केसी, गुरुङ र पूर्वकेन्द्रीय सदस्य गोविन्दराज जोशी पनि भेलामा उपस्थित थिए ।

कोइरालाले ल्याएको पदाधिकारी मनोनयन प्रस्तावमा देउवा पक्षले सल्लाह नभई ल्याएको भन्दै विवाद झिकेपछि अनुमोदन हुन नसकी प्रस्ताव केन्द्रीय कार्यसमितिमा अलपत्र छ । एक व्यक्तिलाई एक जिम्मेवारी भन्दै आएका सभापति कोइराला स्वंयले संसदीय दलका नेतासमेत रहेका पौडेललाई उपसभापति बनाउन खोजेको र महामन्त्रीमा सिटौलालाई प्रस्ताव गरेर उनीभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य जित्ने वरिष्ठ नेताहरूलाई लत्याइएको भन्दै विरोध भएको थियो । केसी, गुरुङ, सुजाता, गगनलगायत प्रस्तावको विपक्षमा उभिएपछि सभापति कोइराला अल्पमतमा परेका थिए । अधिकांश केन्द्रीय सदस्यले सबैसँग परामर्श गरेर सहमति खोज्न दबाब दिएपछि अघिल्लो साता पाँच दिनसम्म चलेको बैठक कोइरालाले स्थगित गरेका थिए । कोइरालाले यसबीचमा केन्द्रीय कार्यसमितिका सबैजसो सदस्यसँग परामर्श गरे पनि प्रस्ताव पुनर्विचार नगर्ने मनसाय व्यक्त गरिसकेका छन् ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काले सहमति खोज्न आफूले दुवै नेतालाई विकल्प सुझाएको बताउँदै वातावरण नबिगि्रयोस् भनेर त्यसलाई सार्वजनिक गर्न नचाहेको बताए । उनले पार्टीभित्रको विवाद मिलाउने विषयमा उपस्थित केन्द्रीय सदस्यले धारणा राखेको बताउँदै यो छुट्टै भेला नभएको बताए ।

सभापतिले प्रस्तावको पुनर्विचार नगरी त्यसैलाई अघि बढाएमा मतदान गराएर असफल बनाउनुपर्नेमा देउवा पक्षीय सदस्यहरू एकमत देखिएका छन् । प्रधानमन्त्रीका उम्मदेवार रहेका संसदीय दलका नेता पौडेललाई असर गर्ने गरी उपसभापतिमा प्रस्ताव गरेर आफंैले लिएको एक व्यक्ति एक पदको नीति उल्लंघन गरेको र महामन्त्रीमा कनिष्ठ नेतालाई प्रस्ताव गरिएकामा बैठकमा विरोध जनाइएको थियो । 'सिटौला गृहमन्त्री हुँदा पाँच पटकसम्म राजीनामा माग्ने सुशील कोइरालाले अहिले तिनै व्यक्तिलाई कुन बाध्यताबाट महामन्त्रीमा प्रस्ताव गरे ?' भेलामा सिँचाइमन्त्री बालकृष्ण खाँडले भने, 'उनको मनोनयन प्रस्तावको आधारसमेत सभापतिले दिनसक्नुभएको छैन ।'

केही सदस्यहरूले १६औं पटकसम्म निर्वाचन लड्दा पनि पौडेल प्रधानमन्त्री हुन नसकेको भन्दै विकल्प खोज्नुपर्ने बताएका थिए । तर खड्काले माओवादी र एमालेले कुरा स्पष्ट नपारेसम्म विकल्पबारे छलफल नहुने बताए । 'माओवादी र एमालेले कांग्रेस नेतृत्व मान्न तयार छौं तर पौडेल मान्दैनांै भनेमात्रै विकल्पमा सोच्नुपर्ने छ,' खड्काले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks