
अब्दुल्लाह मियाँ
काठमाडौ, पुस ४ - संसद्को विशेष अधिवेशन आइतबार सुरु हुँदैछ । माओवादीसहित नेपाः राष्ट्रिय पार्टी, जनता दल, जनमुक्ति पार्टी, नेकपा एकीकृत र नेपाल सद्भावना पार्टीका १ सय ८७ सभासदले २७ मंसिरमा गरेको समावेदनअनुरूप राष्ट्रपति यादवले आइतबार ३ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।
मंसिर ३ गते राति बजेट पेस गर्न लाग्दा माओवादी सभासदले अर्थमन्त्री सुरेन्द्र पाण्डेसहित अन्य केही मन्त्रीलाई लछार/पछार गरी बिथोलेपछि सरकारले जारी संसद्को आठौं अधिवेशन अन्त्य गरेको थियो । संसद् अन्त्यसँगै पाँच महिनादेखि जारी प्रधानमन्त्रीको चुनावसमेत अन्योलमा परेको भन्दै सभामुख सुवास नेम्वाङसहित अन्य केही दलले तत्काल अधिवेशन बोलाउन सरकारसित माग गरेका थिए ।
प्रधानमन्त्री माधवकुमार नेपाल तथा उनको पार्टी एमालेले नियमित अधिवेशनकै लागि तयारी गरिरहेका बेला राष्ट्रपतिबाट विशेष अधिवेशन आह्वान भएको थियो । विशेष अधिवेशन आह्वान गरेकामा प्रधानमन्त्री नेपालले राष्ट्रपतिप्रति असन्तुष्टि जनाएका थिए ।
संसद्का कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाका अनुसार बैठकको सुरुमा विशेष अधिवेशन आह्वानबारे राष्ट्रपतिले पठाएको पत्र सभामुखले संसद्मा पढेर सुनाउने छन् । त्यसलगत्तै समावेदनकर्ताका दलका हैसियतले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालले अधिवेशनको औचित्यबारे प्रस्ट पार्ने छन् ।
समावेदनकर्ता दलको मन्तव्यपछि सभामुखले बोल्न इच्छा राख्ने दलका नेताहरूलाई अवसर दिनेछन् । माओवादीले दर्ता गराएको प्रस्तावमा भने आइतबार छलफल हुने छैन । 'पहिलो बैठक औपचारिकतामा सीमित हुनेछ,' ढुंगानाले भने ।
माओवादीले अघिल्लो अधिवेशन अन्त्यसँगै प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको उम्मेदवारी स्वतः खारेज भएको दाबीसहित प्रधानमन्त्री निर्वाचनमा नयाँ प्रक्रिया र नियमावली संशोधनसहित शुक्रबार संसद्मा प्रस्ताव दर्ता गराएको थियो ।
कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेपछि मात्रै संसद्मा दर्ता प्रस्तावबारे छलफलको मिति तय हुनेछ । सभामुखले आइतबार बिहान ११ बजेका लागि परामर्श समिति बैठक बोलाएका छन् । कार्यव्यवस्थाले नै प्रस्ताव छलफल गर्ने मिति तय गर्नेछ । सभामुख नेम्वाङका अनुसार विगतमा घटीमा दुई/तीन तथा बढीमा ६ दिनपछि बैठक डाकिने गरिन्थ्यो ।
माओवादी प्रस्ताव पास भएमा नियमावली संशोधन र निर्वाचन प्रक्रियाका लागि ढोका खुल्नेछ । तर एमाले र कांग्रेससहितका दलले माओवादी प्रस्तावको विपक्षमा मत हाल्ने बताइसकेकाले उसको प्रस्ताव पास हुने सम्भावना झिनो छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks