केदार ओझा
काठमाडौ, मंसिर २३ - आकर्षक स्थानमा सरुवा पाउन प्रहरी नायब महानिरीक्षकहरू यतिबेला नेताका घर-घर धाउन थालेका छन् । झन्डै एक महिनाअघि गृहमन्त्री भीम रावलले सरुवाको पहल थालेपछि नायब महानिरीक्षकहरू आफूले चिनेका नेता लिएर शक्तिकेन्द्र र प्रभावशाली व्यक्तिकहाँ धाउन थालेका हुन् ।
क्षेत्रको जिम्मेवारी पाएका डीआईजीहरू नियमित काममा भन्दा आकर्षक स्थानका लागि दौडधुप गर्न थालेपछि देशभरिकै सुरक्षा प्रभावित भएको छ । प्रहरी मुख्यालयले केही दिनअघि आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विज्ञानराज शर्माले जनाएअनुसार गत असोजको तुलनामा कात्तिकमा ३० प्रतिशतभन्दा ज्यादा अपराध बढेको छ ।
'मूल्यांकन पद्धति नभएकाले उनीहरू नेताकहाँ धाउनु अस्वाभाविक होइन,' पूर्वएआईजी केशव बरालले भने, 'प्रहरीका उच्च अधिकारीहरू काम छाडेर नेताका पछाडि दौडन थालेपछि सुरक्षाको स्थिति खस्कनु स्वाभाविक हो ।'
इमान्दार र सक्षम मानिएका थोरै डीआईजीहरू मात्र महानिरीक्षक रमेश चन्दले खटाएको स्थानमै जाने मानसिकतामा छन् । प्रहरीमा हाल प्राविधिकसमेत गरेर ३२ डीआईजी छन् ।
गृहमन्त्री निकट अधिकारीका अनुसार सर्वाधिक सरुवा हुन चाहनेको चाप मध्यमाञ्चल, पूर्वाञ्चल, पश्चिमाञ्चल र ट्राफिकमा छ । डीआईजीको सरुवा एआईजीको विभाग परिवर्तनसँगै हुने तयारी थियो । तर गृहमन्त्रीले शक्ति सन्तुलन मिलाउन नसकेकै कारण सरुवा ढिलो हुन पुगेको दाबी गृहका अधिकारीहरूको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks