Loving nepal news

Thursday, December 9, 2010

मोटरसाइकल फुटपाथमा गुडाउँदा...


जितेन्द्र साह

काठमाडौ, मंसिर २४ - फुटपाथमा मोटरसाइकल गुडाउँदै हुनुहुन्छ ? होस गर्नुस्, विदेश जाने मौका गुम्ला ! महानगरीय ट्राफिक प्रहरी महाशाखाले चार पटकसम्म फुटपाथमा मोटरसाइकल गुडाएको फेला पारेमा केही सार्वजनिक अपराध ऐनमा मुद्दा चलाएर त्यसको रेकर्ड प्रहरी प्रधान कार्यालयलाई पठाउने तयारी गरेको छ ।

'प्रधान कार्यालयमा रेकर्ड हुन्छ, चारित्रिक प्रमाण दिँदा उसले यो रेकर्ड हेर्छ,' महाशाखा प्रमुख डीआईजी विनोद सिंहले बिहीबार कान्तिपुरसँग भने, 'चारित्रिक प्रमाणपत्रमा अपराध उल्लेख गरिनेछ जसले विदेश जानका लागि भिसा पाउन गाह्रो हुनेछ ।' सामान्य जाम हुँदा र छिटो गन्तव्यमा पुग्न पैदल यात्रुको परबाह नगरी फुटपाथमा मोटरसाइकल र गाडी गुडाउने स्वार्थी चालकलाई पाठ सिकाउन आउँदो सातादेखि यो कारबाही थालिने उनले बताए ।

डीआईजी सिंहका अनुसार फुटपाथमा पहिलो पटक गुडाउनेलाई ५ सय रुपैयाँ जरिवाना, दोस्रो र तेस्रो पटक गुडाउनेलाई १ देखि ५ हजार रुपैयाँसम्म जरिवाना र त्यसपछि केही सार्वजनिक अपराध ऐनमा कारबाही हुनेछ । ऐनमा अधिकतम १० हजार रुपैयाँसम्म जरिवाना, ३५ दिनसम्म थुनामा राख्न सक्ने र नोक्सानी गरेमा बिगो बराबरको क्षतिपूर्ति र जरिवाना नहुने अवस्थामा पुनरावेदन अदालतको आदेशले दुई वर्षसम्म कैदको प्रावधान छ ।

फुटपाथमा सवारी निषेधको बोर्ड र सांकेतिक चिह्नको बेवास्ता गर्दै सवारी गुडाउनेमा युवा वर्ग बढी देखिएको उनले बताए । 'सवारी चालकपिच्छे ट्राफिक प्रहरी खटाएर हुँदैन, यसमा स्वअनुशासन आवश्यक हुन्छ,' उनले भने ।

महाशाखाले साउनदेखि मंसिर २० सम्म फुटपाथमा सवारी गुडाउने र पार्किङ गर्ने चार सय ६ लाई कारबाही गरेको छ । महानगरभित्रका विभिन्न ट्राफिक युनिटले यो अवधिमा सडकपेटीमा सवारी गुडाउने, पार्किङ गर्ने र जथाभावी सवारी चलाउने दुई हजार दुई सय १२ लाई कारबाही गरेको छ । महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त कारबाहीमा एक हजार दुई सय ९६ जना परे ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks