Loving nepal news

Friday, December 31, 2010

भारतीय रुपैयाँ लिन नक्कली आयात



काठमाडौ, पुस १७ - सामान निकासी नगरी गरेको कागज बनाएर राष्ट्रको ढुकुटीबाट कर फिर्ता (रिफन्ड) भन्दै ठूलो रकम झिकेको प्रकरण छानबिन नसकिँदै आयातको कागज बनाई बैंकबाट भारतीय रुपैयाँ लिएको खुलासा भएको छ ।
भारतीय रुपैयाँ पाउन महोत्तरीको मटिहानी छोटी भन्सार कार्यालयबाट करिब ७ करोड रुपैयाँको किताब र कपास भित्रिएको कागज बनाएको खुलेको हो । सामान नल्याई बनाइएको प्रज्ञापनपत्र पेस गरेर लिएको करिब ४ करोड भारतीय रुपैयाँ बढी मूल्यमा बजारमा सटही गरेको अनुसन्धानको प्रारम्भिक चरणमा देखिएको छ ।
राष्ट्र बैंकले भारतबाट सामान भित्रिएको प्रज्ञापनपत्र पेस गरेपछि मात्र भारतीय रुपैयाँ उपलब्ध गराउने गरी गत फागुनमा कडाइ गरेको थियो । सीमा क्षेत्रमा चर्को अभाव भई १ सय भारतीय रुपैयाँबराबर १ सय ६५ रुपैयाँमा हाताहात भारतीय रुपैयाँ सटही हुन थालेपछि कर्मचारीको संलग्नतामा नक्कली आयातको धन्दा भएको हो ।
असोज महिनाको विभिन्न मितिमा गरी १० वटा प्रज्ञापनपत्र भरेर सामान भित्रिएको कागज बनाएको फेला परिसकेको छ । थप कागज बनाएको हुन सक्ने आशंकामा भन्सार विभागले अनुसन्धान जारी राखेको छ । यसरी भारतीय रुपैयाँ पाउन कर, महसुल नलाग्ने किताब र कपास आयात गरेको कागज बनाइएको थियो ।
सामान नभए पनि भित्रिएको प्रमाण दिने काममा मटिहानी छोटी भन्सारका प्रमुख (नायब सुब्बा) पन्तेभाइ महर्जनको संलग्नता देखिएको छ । महर्जनलाई मटिहानीमा राख्न दबाब दिने महोत्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकृष्ण सुवेदीको पनि यसमा मिलेमतो हुन सक्ने विभागसम्बद्ध स्रोतले आशंका गरेको छ । सोझा गाउँलेका नाममा दर्ता भएका र्फमको नाममा आयात भए पनि यो प्रकरणमा सर्लाहीका भन्सार एजेन्ट वीरेन्द्र गुप्ता संलग्न देखिएका छन् । विभागले उनको ३४१ नम्बरको भन्सार एजेन्ट अनुमतिपत्र खारेजीको कारबाही सुरु गर्न जलेश्वर भन्सारलाई निर्देशन दिएको छ । नासु महर्जनलाई बयान लिएर कारबाहीको सिफारिस गर्न निर्देशन दिइएको छ ।
जय नेपाल ट्रेडर्स, भगवती इन्टरप्राइजेज, शम्भु सप्लायर्स र नाम नखुलेको अरू दुई र्फमको नाममा सामान आयात भएको देखाइएको छ । ती र्फमबारे छानबिन गरिने भएको छ । मटिहानी नाकाको कामकारबाहीमा विचलन देखिएको बताउँदै कारबाहीको प्रक्रिया सुरु भइसकेको भन्सार विभागका महानिर्देशक नवराज भण्डारीले बताए । 'कारबाही प्रारम्भिक चरणमा छ,' उनले थपे ।
गडबडी गरेको फेला परेपछि छोटीबाट जलेश्वर भन्सारमा सरुवा गरिएका नासु महर्जनलाई मटिहानीमै राख्न सिडिओ सुवेदीलेका साथै माओवादी जिल्ला नेतृत्व र एमालेसम्बद्ध कर्मचारी संगठनको जिल्ला नेतृत्वले दबाब दिएको थियो । वाइसिएलले भन्सार कार्यालयमै पुगेर नासुको सरुवा बदर गर्न धम्क्याएको विभाग स्रोतले जनाएको छ । गत आइतबार सुवेदी बर्दिया सरुवा भएपछि मात्र महर्जनलाई जलेश्वरमा हाजिर गराउन सकिएको थियो ।
यसअघि स्थानीय आवश्यकताका वस्तु ओसारपसारमा सीमित रसुवा नाकाबाट गत आर्थिक वर्ष ४० करोड रुपैयाँभन्दा बढी मोल बराबरका वस्तु चीन निकासी भएको कागज बनाई राष्ट्रको ढुकुटीबाट ७ करोड रुपैयाँभन्दा झिकेको फेला परेको थियो । नक्कली निकासी भएको खुलासा भएपछि अन्तिम चरणमा रहेको थप ३ करोड रुपैयाँभन्दा बढी झिक्ने प्रक्रिया रोकिएको थियो ।
भीमेश्वर ट्रेड हाउस, दिगम्बर ट्रेडर्स, जाल्पा ट्रेडिङ, गणपति ओभरसिज, त्रिपुरा ओभरसिज र आकृशा ट्रेड इन्टरनेसनल गरी ६ वटा र्फमले वस्तु निकासी गरेको देखिएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks