
दुर्गा खनाल र कुलचन्द्र न्यौपाने
काठमाडौं, पुस ६ - प्रधानमन्त्री माधवकुमार नेपालले जारी प्रक्रियाबाट नै काग्रेस उम्मेद्वार रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
तीन दलका शिर्ष नेताको सोमबार शान्ति मन्त्रालयमा भएको बैठकमा नयाँ प्रक्रियामा प्रवेश गर्दा सरकार बनाउन लामो समय लाग्ने कारण देखाउदै पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गराउनुपर्ने प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीको प्रस्तावमा सोमबार थप छलफल भने भएन ।
एमालेको केन्दि्रय समितिले उम्मेद्वारी फिर्ता लिनु पर्ने र नलिएको अवस्थामा मतदानबाट हराउने निर्णय गरेको चार दिनपछि पार्टीका बरिष्ठ नेता समेत रहेका नेपालले पौडेललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् । प्रस्तावप्रति एमाले संस्थापन पक्षले असन्तुष्टी जनाएको छ ।
'प्रधानमन्त्रीले काम चलाउ सरकारमा बसिराख्दा मलाई अप्ठयारो पर्यो । नयाँ प्रकृया सुरु गर्दा फेरि अर्को महिना वित्छ । अहिले पौडेलको उम्मेदवारी कायमै छ । त्यसैले शान्तिप्रकृया र संविधानलाई अघि बढाउन अहिलेलाई पौडेललाई नै प्रधानमन्त्री बनाउँ' प्रधानमन्त्रीको भनाई उद्घृत गर्दै बैठकमा सहभागी एक बरिष्ट नेताले भने ।
कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले पनि प्रधानमन्त्रीले पौडेललाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेको स्विकारर्दै त्यस बिषयमा थप छलफल भने नभएको बताए । बैठकमा सहभागी एमालेका एक नेताले पनि प्रधानमन्त्रीले पौडेललाई निर्वाचित गराउने प्रस्ताव अघि सारेको पुष्टी गरे । 'कामचलाउ सरकारलाई छिटो विस्थापित गर्नका लागि पौडेलजीको उम्मेदवारी कायमै रहेको तर्क गर्दै प्रधानमन्त्रीले प्रस्ताव राख्नु भएको हो' तीन नेताले भने-'शान्ति प्रक्रिया लगायत बिषयहरु नटुंगिउन्जेल, ४ महिना जती समयका लागि भएपनि पौडेललाई प्रधानमन्त्री बनाउने उहाँको प्रस्ताव थियो ।'
बैठकमा कुनै प्रतिक्रिया नदिएपनि एमाले संस्थापन पक्ष प्रधानमन्त्रीको प्रस्तावलाई लिएर असन्तुष्ट भएको छ । पार्टी निर्णय विपरितको प्रस्ताव प्रधानमन्त्री नेपालले प्रस्ताव राखेको भन्दै संस्थापन पक्षका नेता असन्तुष्टी जनाएका हुन् । कांग्रेसले भने प्रधानमन्त्रीकै प्रस्तावको ध्यानआकर्षण गर्दै मंगलबार हुने दुईपक्षीय र त्यसपछि हुने तीन दलको बैठकमा सरकार निर्माणको मुद्दामा पनि सहमती जुटाउनु पर्ने धारणा राखेको थियो । पौडेलले सरकार निर्माण प्रकृया अबरुद्ध भईराख्दा शान्तिप्रकृया र संविधान निर्माणमा असर पुगेको बताउदै अवको बैठकले त्यसमा पनि सहमती जुटाउनु पर्ने बताएका थिए ।
एमाले केन्द्रीय समितिले प्रधानमन्त्री नेपाल सहितको सर्वसम्मतिमा पौडेललाई उम्मे्दवारी फिर्ता लिन आग्रह गर्ने र फिर्ता नभए विपक्षमा मतदान गरेर हराउने निर्णय लिएको थियो । पार्टीको सर्बोच्च निकायले गरेको निर्णय भन्दा फरक रुपमा प्रधानमन्त्रीले पौडेलेको पक्षमा प्रस्ताव अघि सारेको भन्दै संस्थापन पक्ष असन्तुष्ट भएको हो ।
'उहाँको पहिलेदेखि नै पौडेललाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मनसाय फेरि पनि प्रकट गर्नुभयो' संस्थापन पक्षका एक नेताले भने,'यो प्रस्ताव पार्टीको निर्णय विपरीत छ ।'
एमालेको केन्द्रीय समिति बैठकमा यसअघि नेपाल-ओली पक्षले शुरुमा पौडेललाई समर्थन गर्नुपर्ने धारणा राखेपनि पछि उनको विपक्षमा जाने निर्णयमा सहमत भएको थियो । एमालेको संस्थापन पक्ष नयाँ प्रक्रियामा जाँदा सहमति जुटेको अस्थामा बरु काग्रेसको नेतृत्व पनि स्वीकार्न सक्ने तर जारी प्रक्रियामा पौडेलको पक्षमा कुनै हातलमा पनि उभिन नसक्ने धारणा राख्दै आएको छ ।
अनमिन फिर्ता जान लागेको अवस्था र बिषेश अधिवेशन सम्बन्धमा कसरी सहमति जुटाउने भन्ने एजेण्डाका केन्द्रित तीन दलको सोमबारको बैठकको अन्त्यतिर प्रधानमन्त्रीले पौडेललाई प्रधानमन्त्री बनाएर छिटो गतिरोध अन्त्य गर्नुपर्ने भनाई राखेका थिए । प्रधानमन्त्रीको प्रस्ताव आए पनि सरकार निर्माण सम्बन्धि बैठकको एजेण्डा नभएकाले दलका नेताले केही प्रतिक्रिया जनाएनन ।
माओवादी उपाध्यक्ष नारयाणकाजी श्रेष्ठका अनुसार मुलुकलाई प्रधामन्त्री छिटो दिऔ भन्ने कुरा उठ्दा प्रधानमन्त्रीले 'त्यसो भए पौडेललाई नै छिटो बनाइदिउ न त' भनेका थिए । यो बिषयमा सोमबारको बैठकमा थप कुराकानी नभएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
तर काग्रेसले भने प्रधानमन्त्रीबाट आफ्नो पक्षमा प्रस्ताव आएपछि अबको तीन दलको बैठकमा यस बिषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले शान्तिप्रकृया र नयाँ संविधानलाई अघि बढाउन पनि तत्कालै सरकार निर्माणमा सहमती जुटाउन आवश्यक भएको बताए ।
'अबको बैठकमा शान्तिप्रकृया र संविधान निर्माणलाई अघि बढाउन सरकार निर्माण पनि महत्वपुर्ण एजेण्डा बन्नुपर्छ' महतले भने । उनले नयाँ बन्ने सरकारको प्रकृतिमा शान्तिप्रकृया र नयाँ संविधान निर्माणको प्रकृया निर्भर रहने बताउदै अहिलेको आवश्यकता राष्ट्रिय सहमतीकै सरकार रहेको बताए ।
'माओवादीको सहयोग विना शान्तिप्रकृया र नयाँ संविधान निर्माण हुनसक्दैन, त्यसका लागि सहमतीकै सरकार आवश्यक छ, दुवै पार्टीले नेतृत्व लिईसकेको अवस्थामा अव कांग्रेसले राष्ट्रिय सहमतीको सरकारको नेतृत्व पाउनुपर्छ भन्ने हाम्रो माग हो' महतले भने-'अहिलकै प्रकृयाबाट पौडेललाई प्रधानमन्त्री बनाएर पनि राष्ट्रिय सहमतीको सरकारको स्वरुप दिन सकिन्छ, । महतले शान्तिप्रकृयालाई टु्रगोमा नपुर्याँदा सम्म माओवादीले आफ्नो नेतृत्वको दावा छाडेर सहमतीमा आएमा नयाँ प्रकृयाबाट पनि सहमतीको सरकार बन्न सक्ने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks