Loving nepal news

Wednesday, December 22, 2010

कठ्यांग्रिँदो चिसोमा छाप्रोको पढाइ


अर्जुन शाह

बाजुरा, पुस ८ - उमेरले चार वर्ष पुग्नै लागेका कृष्णराज न्यौपाने जाडोले थरथरी काप्दै थिए । अगाडिबाट शिक्षिका कमला न्यौपाने 'मन लगाएर क,ख उच्चारण गर्न' बालबालिकालाई अह्राउँदै थिइन् ।

लेकाली गाउँ भएकाले विद्यालय क्षेत्र असाध्यै चिसो थियो । बाजुराको विकट सिम्ला क्षेत्रको बीच जंगलमा भएकाले मध्याह्न नहुँदासम्म घामको झुल्को देख्न पाइँदैन । दिउँसोको एघार बजेको समयमा विद्यालय हातामा पुग्दा यिनै शिशु कक्षाका बालबालिकालाई बसालिएको टहरा माथिबाट थप्थप् शीतको थोपा झर्दै थिए । तै पनि गुरुआमा कमला बालबालिकालाई कठ्यांगि्रँदो चिसोमा भए पनि कक्षाका २० जनालाई क,ख सिकाउने प्रयासमा थिइन् ।

जिल्लामै सर्वाधिक चिसो हुने क्षेत्रका रूपमा चिनिने छतारा गाविसको सिम्लामा रहेको पार्वती माविमा भवन अभावले शिशु कक्षाका कलिला नानीहरू अस्थायी टहरामा शिक्षा आर्जन गर्न बाध्य छन् ।

जतिसुकै सास्ती भए पनि आफ्ना बालबालिकालाई यसै ठाउँमा पढ्न पठाउनुको विकल्प अभिभावकसँग छैन । यो विद्यालय गाउँको मुख्य शिक्षण संस्था हो । स्थानीय अभिभावक अम्मर जैशी भन्दै थिए, 'भवन छैन, छाप्रोमै बसालेर भए पनि पढाउनै पर्‍यो ।'

यो विद्यालय सदरमुकाम मार्तडीदेखि डेढ दिन पैदल दूरीमा छ । विद्यालयमा भौतिक पूर्वाधार र शिक्षकको दरबन्दी अभाव छ । जतिसुकै समस्या भए पनि सिम्लाका बासिन्दा गाउँमै शिशु कक्षादेखि माविसम्मको शिक्षण केन्द्र स्थापना गर्ने एकोहोरो धुनमा छन् । व्यवस्थापन समिति अध्यक्ष प्रभुराज न्यौपानेले भने, 'समयमा पढ्न नपाएर हामीले जतिसुकै दुःख

खेप्नु परे पनि हाम्रा नानीलाई दुःख सहेरै पनि शिक्षित बनाउन चाहन्छौं ।'

विद्यालयमा भएका तीन भवनमा नौ वटा कोठा छन् । दस कक्षासम्मको पढाइ र शिशु कक्षा अनि कार्यालयसमेतका लागि न्यूनतम १२ कोठा आवश्यक रहेको प्रअ नन्दलाल जैशीले बताए । 'कोठा अपर्याप्त भएपछि चौर र छाप्रामै पठाउनुको विकल्प छैन,' उनले भने ।

अढाइ सय विद्यार्थी अध्ययनरत यस विद्यालयले माध्यमिक कक्षा चलाएको भए पनि प्रावि तहसम्मका लागि मात्रै शिक्षक दरबन्दी छ । निमाविका लागि भने तीन जना राहत शिक्षक दिएको भए पनि माविका लागि एउटै सरकारी दरबन्दी छैन ।

शिशु कक्षा पढाउनलाई जिल्ला शिक्षाले मासिक एक हजार आठ सय पारिश्रमिक दिने गरी एक शिक्षिका उपलव्ध गराएको छ । तर विद्यालयले भने शिशुदेखि दस कक्षासम्म चलाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks