Loving nepal news

Tuesday, December 7, 2010

एनसेलका २० लाख मोबाइल सम्पर्कविहीन


योगेश खतिवडा

काठमाडौ, मंसिर २२ - एकैपटक दुई वटा अप्टिकल फाइबर लाइन काटिदिएपछि एनसेलका २० लाख मोबाइल उपभोक्ताले साढे दस घन्टासम्म मोबाइलमा कुरा गर्न पाएनन् । लाइन काटिँदा काठमाडौं उपत्यका र भिस्याट सम्पर्क भएका केही स्थानबाहेक अन्य क्षेत्रमा शुक्रबार बेलुका पौने ९ बजेदेखि शनिबार बिहान सवा ७ बजेसम्म मोबाइलले काम गरेन ।

शुक्रबार मुख्य अप्टिकल फाइबर लाइन काटेको ५० मिनेटमा सहायक अप्टिकल फाइबर काटिएको थियो । मुख्य अप्टिकल फाइबरले काम नगर्दा सेवा नरोकियोस् भनेर सहायक अप्टिकल फाइबर राखिएको हुन्छ । तर दुवै काटिएकाले एनसेल ग्राहक सम्पर्कविहीन हुनु परेको हो । एनसेल उपभोक्ता झन्डै ४० लाख छन् । शुक्रबार साँझ एकान्तकुन-स्युचाटार अप्लिटक लाइनको बल्खुमा मुख्य अप्टिलक फाइबर र टेकु रुटको बाफलमा सहायक फाइबर लाइन काटिएको थियो । विद्युत् प्राधिकरणको पोलमा चार मिटरमाथि टाँगिएको अप्टिकल तार चक्कुले काटिएको अनुमान कम्पनीको छ ।

'मुख्य फाइबर काटेको ५० मिनेटपछि त्यो बिग्रँदा पनि सेवा सुचारु होस् भनेर राखिएको सहायक फाइबर पनि काटिएको छ,' कम्पनीकी कर्पोरेट कम्प्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भनिन्, 'यसबाट एससेलको अप्टिकल फाइबर हो भन्ने पूर्ण जानकारी भएका व्यक्तिले काटेको देखिन्छ ।' पोलमा अन्य धेरै प्रकारका तार हुँदा पनि छानेर काट्नु र मुख्य र सहायक अप्टिकल फाइबर एकैपटक काट्नु संवेदनशील कुरा भएको कम्पनीले जनाएको छ ।

'चोर्ने उद्देश्य भएकाले काटेपछि तार लिएर जान्छन्,' उनले भनिन्, 'अन्य तार केही नगरी हाम्रो अप्टिकल फाइबरको तार काटेर छाडिएको छ । त्यसैले यो चोर्न उद्देश्यले काटेको देखिँदैन ।' भिन्दाभिन्दै ठाउँमा मुख्य र सहायक अप्टिकल तार एकै प्रकृतिले काटिएको उनले बताइन् ।

कोइरालाका अनुसार शुक्रबार बेलुका मोबाइल नेटवर्क सबैभन्दा बढी व्यस्त रहने समय हो । 'यो कम्पनीको आम्दानी र उपभोक्ताको विश्वासमा असर पार्ने नियतले गरेको देखिन्छ,' उनले भनिन्, 'हामीलाई दुःख दिने नियतले काटिएको देखिन्छ ।'

तार काटिएपछि कम्पनीको मुख्य सर्भरमा काटिएको संकेत बत्ती बलेपछि कम्पनीका अधिकारीले यसबारे जानकारी पाएका थिए । 'त्यसपछि हामी बिजुलीको पोल लडेर वा अन्य कारणले चुँडियो भनेर हेर्न गयौं,' उनले भने, 'दुर्घटना कतै नभेटेपछि बत्ती बालेर

पोलपोलमा हेर्दा काटिएको पाइयो ।' रातिको समय काटिएको ठाउँ पत्ता लगाउन समय लागेकाले सेवा पुनः सुचारु गर्न केही ढिला भएको कम्पनीले जनाएको छ ।दुःख दिने र उपभोक्ताको विश्वास घटाउने नियतले यस्तो गरिएको भन्दै कम्पनीले कालिमाटी प्रहरी वृत्तमा उजुरी हालेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks