
सरोजराज अधिकारी
काठमाडौ, पुस ६ - भारतीय सेनाप्रमुख जनरल विजयकुमार सिंहले सरकारले औपचारिक रूपमा आग्रह गरे हतियारका साथै सबै प्रकारका सैन्य सहयोग सुचारु हुन सक्ने बताएका छन् । चारदिने भ्रमणका लागि सोमबार यहाँ आएका सिंहले प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको भेटमा यस्तो धारणा राखेका हुन् । भारतले सन् १९६२ देखि नेपाललाई दिंदै आएको सैन्य सहयोग शान्ति सम्झौताका कारण ६ वर्षदेखि रोकिएको छ ।
'सुदृढ प्रजातन्त्रका लागि सेना बलियो हुनु आवश्यक छ । सेना बलियो भए अतिवाद वा अधिनायकवाद हाबी हुन सक्दैन । सरकारले औपचारिक रूपमा आग्रह गरे नेपाली सेना सुदृढ पार्न हामी सबै प्रकारको सहयोग गर्न तयार छौं,' भारतीय सेनाप्रमुख सिंहको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
प्रधानसेनापति गुरुङको गत मंसिर अन्त्यमा भएको भ्रमण क्रममा भारतले दुई अर्ब रुपैयाँ बराबरको सैन्य सहयोग गर्ने औपचारिक प्रतिबद्धता जनाएको थियो । त्यसबाहेक ६ वर्षदेखि थुप्रै सैन्य सहयोगका सामग्री 'पाइप लाइन' मा रहेको उच्च सैनिक स्रोतले बतायो ।
भारतीय पूर्वसेनाप्रमुख दीपक कपुरले पनि गत माघमा नेपाल भ्रमणमा आएका बेला सरकारले औपचारिक आग्रह गरे जुनसुकै समयमा जस्तोसुकै सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए । लामो समयदेखि हतियार र गोलीगठ्ठा नहुँदा सेना प्रभावित भएको जनाउँदै एक उपरथीले भने, 'हाम्रो थुप्रै सैनिक सामग्री भारतमा पाइप लाइनमा छ, उनीहरू जुनसुकै बेला त्यसलाई सुचारु गराउन तयार छन् । तर त्यसका लागि सरकारले औपचारिक आग्रह गर्नुपर्छ ।'
प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री विद्या भण्डारीसँग भारतीय सेनाप्रमुखको बुधबार हुने भेटमा यस विषयमा छलफल भई ठोस निष्कर्षनिस्कन सक्ने उच्च सैनिक स्रोतले बतायो । स्रोतका अनुसार सेनाले भारतसँग करिब दस हजार थान इन्सास, जीपीएमजी, ८१ इञ्च मोर्टार लगायतका हतियार र लाखौं थान विभिन्न हतियारका गोलीगठ्ठा मागेको छ । सेना आधुनिकीकरणको १० वर्षे योजनाअनुरूप पुरानो एसएलआर विस्थापित गर्न लागिएकाले इन्सासलगायतका हतियार मागिएको सैनिक अधिकृतको भनाइ छ ।
त्यसबाहेक सेनाका लागि ९० वटा गाडी, २५ वटा माइन प्रोटेक्टिङ भेहिकल (एमपीभी), १५ वटा आर्म्ड प्रोटेक्टिङ भेहिकल (एपीभी), सञ्चारका उपकरण, दंगा नियन्त्रणका सामग्री (राइट कन्ट्रोल गियर), बुलेट प्रुफ ज्याकेट, हेल्मेट, जुत्ता, लत्ताकपडालगायत थुप्रै सामग्री 'पाइप लाइन' मा रहेको सैनिक स्रोतले बतायो । यसका साथै पाँच क्षेत्रीयसहित सबै पृतनामा रहेको विकास निर्माण (इन्जिनियरिङ) इकाईको प्रयोगका लागि बुल्डोजर, स्क्याभेटर, लोडर, ग्रेडरलगायतका सामग्री दिनेमा भारतले प्रतिबद्धता जनाइसके पनि सरकारले औपचारिक आग्रह नगरेकाले रोकिएको स्रोतले बतायो ।
सैनिक जनसर्म्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा दुई मुलुकका सेनाप्रमुखको भेटमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ । भारतीय सेनाप्रमुखले नेपाली सेनाका उपरथीभन्दा माथिका पीएसओज (प्रिन्सिपल स्टाफ अफिर्सस) सँग पनि क्षेत्रीय सुरक्षा चुनौती र चासोबारे अन्तर्क्रिया गरेका थिए ।
अन्तर्क्रियाका क्रममा भारतीय सेनाप्रमुखले अफ्गानिस्तान र पाकिस्तानमा रहेका तालिवानी पृथकतावादी नै भारतको प्रमुख सुरक्षा चुनौती भएको बताएका थिए । यसबाहेक अन्तरराष्ट्रिय आतंकवाद, सीमापार संगठित अपराध, अवैध मुद्रा (खासगरी नक्कली भारतीय मुद्रा) र लागूऔषधको कारोबारले पनि सुरक्षामा चुनौती थपिएको धारणा राखेको स्रोतले बतायो ।
नेपाली सेनाको तर्फबाट युद्धकार्य निर्देशनालयका निर्देशक सहायकरथी महेशविक्रम कार्कीले समसामयिक वस्तुस्थिति र सेनाले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी दिएका थिए । 'भारततर्फको खुला सिमानाको कारण सीमा इलाकामा हुने अवैध गतिविधि र सम्भावित आतंकवादी तथा आपराधिक समूहले सीमा इलाकालाई सुरक्षित स्थलका रूपमा प्रयोग गर्न सक्ने सम्भावनालाई मुख्य सुरक्षा चासो लिई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ,' कार्कीको भनाइ उदृत गरिएको निर्देशनालयको विज्ञप्तिमा छ ।
भारतीय सेनाको तर्फबाट मेजर जनरल डीएस हुडाले दक्षिण एसियामा भारतीय सुरक्षासम्बन्धी दृष्टिकोणको बारेमा प्रकाश पारेको निर्देशनालयको विज्ञप्तिमा छ । प्रधानसेनापति गुरुङको औपचारिक निमन्त्रणामा ६ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै नेपाल आएका सेनाप्रमुख सिंहलाई बलाध्यक्षरथी तोरणजंगबहादुर सिंहले अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
सेनाप्रमुख सिंहले अपराह्न सैनिक मञ्चस्थित 'वीर स्मारक' मा मार्ल्यापण गरेका थिए भने सेनाको एक टुकडीले उनलाई सम्मान गारत प्रस्तुत गरेको थियो । सेनाप्रमुख सिंह मंगलबार मुस्ताङ र पोखराको भ्रमणमा जाने र त्यहाँ विभिन्न समारोहमा सरिक हुने कार्यक्रम छ । उनले प्रधानमन्त्री र रक्षामन्त्रीलाई बुधबार भेट्ने छन् भने सोही साँझ राष्ट्रपति रामवरण यादवबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिनेछन् ।
दुई सेनाका उच्च नेतृत्वबीच यस प्रकारको सद्भावना भ्रमण सन् १९५० बाटै थालनी भएको हो । जनरल कोडान्डेरा मडप्पा करिप्पा नेपाल भ्रमण गर्ने प्रथम भारतीय सेना प्रमुख हुन् भने भारत भ्रमण गर्ने प्रथम प्रधानसेनापति किरणशमशेर जबरा हुन् । यसबीच १९ भारतीय सेनाप्रमुखले नेपालको र १४ प्रधानसेनापतिले भारतको औपचारिक भ्रमण गरिसकेको सेनाले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks