कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २४ - माओवादीको बिद्यार्थी संग्ठन अखिल (क्रान्तिकारी) को १८ औं राष्ट्रिय सम्मेलन आज शुक्रबारदेखि सुरु हुदैछ । क्रान्तिकारीको अध्यक्षका लागि तीनजना प्रतिस्पर्धी भए पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् । पार्टी नेतृत्वको डरका कारण उनीहरु खुल्न नपाएका हुन ।
अध्यक्ष पुष्पकमल दाहाललगायत बरिष्ठ नेताले सोमबार बिद्यार्थी नेतासंगको छलफलमा सहमतिका लागि छलफल गरेका थिए । उपाध्यक्षद्वय युवराज चौलागाई, रामदीप आचार्य र महासचिव हिमाल शर्माले अध्यक्षको दाबी नछाडेपछि पहिलेकै अध्यक्ष लेखनाथ न्यौपानेलाई दाहोर्याउने नेताहरुले निश्कर्षनिकालेका थिए । न्यौपानेले सात बर्षदेखि बिद्यार्थी संगठनको नेतृत्व गर्दै आएकाले पुनः अध्यक्ष हुन धेरै इच्छुक नभए पनि पार्टीले जिम्मा दिए पछि नहट्ने बताएका छन् ।
बिहीबार सम्मेलनस्थल कीर्तिपुरमा पत्रकार सम्मेलन गर्दासम्म कसैले आधिकारिक उम्मेदवारी घोषणा गरेका छैनन् । तर नेतै नेता भएको संगठनमा सबैको नेता एकजना पार्टी निर्देशनमा चयन हुने बताए पनि संगठनभित्र अध्यक्षको दाबी नछाडेको श्रोतले जनाएको छ ।
पार्टी पंक्तिबाट अहिलेकै अध्यक्ष लेखनाथ न्यौपानेलाई पुनः चयन गर्ने संकेत गरेपछि तीनजनाले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । उपाध्यक्षद्वय चौलागाई, आचार्य र महासचिव शर्माले अध्यक्षको अडान छाडेका छैनन् ।
श्रोतका अनुसार चौलागाई दाहाल पक्ष, आचार्य उपाध्यक्ष मोहन बैद्य र शर्मा अर्का उपाध्यक्ष बाबुराम भट्टराई पक्ष हुन् । पार्टीको तीन पक्षीय संर्घष बिद्यार्थीमा नपरोस् भन्दै नेताहरुले पुरानै नेतृत्वलाई निरन्तरता दिने पक्षमा रहेको श्रोतले जनाएको छ । सोमबार पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा समेत त्यही सहमति भएको थियो । माओवादीले २७ गतेसम्म कसले नेतृत्व गर्नेबारे निर्णय गर्ने आवश्वासन बिद्यार्थी नेताहरुलाई दिएको छ ।
माओवादी स्थायी समिति सदस्य एबं बिद्यार्थी इञ्चार्ज नेत्रबिक्रम चन्दले नेतृत्व चयन बारे निर्णय भइनसकेको बताए । 'कसको नेतृत्व बनाउदा राम्रो हुन्छ भनेर छलफल भइरहेका छ' उनले ईकान्तिपुरसंग भने, 'अहिलेसम्म निर्णय भइसकेको छैन ।'
क्रान्तिकारी अध्यक्ष न्यौपानेले नेतृत्वबारे बिवाद नभएको दाबी गरे । 'नेतृत्वको चयन र्सवसम्मतबाट हुन्छ', पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले भने, 'व्यक्तिगत इच्छा जेपनि हुनसक्छ तर पार्टी प्रमुख हो । अनेरास्ववियु क्रान्तिकारीले जे गर्छ सामूहिक र सापेक्षित रुपमा फरक धारमा काम गर्नेसमेतलाई समेटेर काम गर्छ ।'
अध्यक्षका दाबैदार शर्माले मुलुक संक्रमण कालमा भएकाले विद्यार्थी नेतृत्वलाई एक ढिक्का हुनेगरी नयाँ नेतृत्व चयन हुने बताए । 'औपचारिक रुपमा कसैले उम्मेवारी घोषणा गरेका छैनौं', उनले भने, 'मुलुक संक्रमणकालमा भएकाले एक ढिक्का भएर नयाँ नेतृत्व चुन्ने छौं ।'
अर्को अध्यक्षका उम्मेदवार चौलागाईले स्वतन्त्रता चाहिएको र त्यसका निम्ति अखिल क्रान्तिकारीको भूमिका महत्वपूर्ण रहने दावी गरे । 'हाम्रो आवश्यकता परेको सही हो', उनले भने, 'साझा समझदारी हुनेछ ।'
अर्का उपाध्यक्ष आचार्यले नेतृत्व चयन विधानसम्मत निर्वाचन गर्ने, र्सवसम्मती या पार्टीबाट छान्न लगाउने तीन प्रक्रिया रहेको उल्लेख गरे । 'हामी सक्षम छौं', क्रान्तिकारी विद्यार्थी आन्दोलनको मोर्चाबाट कहिल्यै पछाडि नरहेको उल्लेख गर्दै भने, 'तीनैथरी विषयमा छलफल हुनेछ र सक्षम नेतृत्व चयन गर्नेछौं ।'
क्रान्तिकारीले सम्मेलनमा नीति तथा कार्यक्रमअन्तरर्गत आन्तरिक र विश्व राजनीतिमा विद्यार्थीको भूमिकाबारे चर्चा हुने भनेको छ । यसैगरी शिक्षा प्रणालीअन्तरगत पुरानो शिक्षा र अभिभावकलाई राहत दिने जनाएका छन् । देशमा विद्यमान विश्वविद्यालय र तिनको स्थिति, प्राविधिक शिक्षामा जोडदिने छ । विद्यार्थी आन्दोलनको समीक्षा तथा भूमिका बहसको बहस, स्ववियु निर्वाचनबारे गम्भीर समीक्षा हुने जनाइएको छ ।
शुक्रबार १२ बजे माओवादीका अध्यक्ष पुष्पकमल दाहालबाट क्रान्तिकारीको १८ औं राष्ट्रिय सम्मेलन कीर्तिपुरको खुल्ला मैदानमा उद्घाटन हुनेछ । पहिलो पटक पार्टीको अध्यक्षबाट विद्यार्थी संगठनको सम्मेलन उद्घाटन हुन लागेको हो । उद्घाटन सत्रमा १ लाखभन्दा बढी जनसमुदायको उपस्थिति रहने जनाइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks