Loving nepal news

Wednesday, December 22, 2010

उखु किसान आन्दोलित * चाँडै समस्या समाधान नभए २० लाख किसानलाई सडकमा उतार्ने चेतावनी


अमन कोइराला

सर्लाही, पुस ७ - उखुको मूल्य बढाउन माग गर्दै उखु किसान संयुक्त संघर्ष समितिले मंगलबार हरिऔनमा लाँक्रे जुलुस प्रदर्शन गरेको छ । पूर्व-पश्चिम राजमार्गमा सयौं किसान सहभागी जुलुसका कारण केहीबेर यातायातसमेत अवरुद्ध भएको थियो । सडक ढाकेर हरिऔन बजारबाट निस्केको जुलस इन्दुशंकर चिनी उद्योगमा पुगेर कोणसभामा परिणत भयो । उखु किसान सम्बद्ध सबै संघसंगठन मिलाएर आन्दोलन गर्न संघर्ष समिति गठन भएको हो ।

चालू क्रसिङ सिजनका लागि उखुको मूल्य तय गर्न किसान र चिनी उत्पादक संघबीच काठमाडौंमा भएको वार्ता असफल भएपछि मूल्य तय गर्न किसानले आन्दोलनको सहारा लिएका हुन् । उनीहरूले प्रतिक्विन्टल ४ सय २१ रुपैयाँ कायम हुनुपर्ने माग गरे । गत वर्ष किसानले त्यति मूल्य पाएका थिए । यस वर्ष उद्योगले ३ सय २० रुपैयाँ मूल्य दिने प्रस्ताव राखेपछि वार्ता असफल भएको थियो । जोताइ, ज्याला, मजदुरी, खाद्यान्न लगायतमा दोब्बर मूल्य वृद्धि भएको अवस्थामा उखुको मूल्य घटाउने प्रस्ताव स्वीकार्य नहुने किसानको अडान छ ।

उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले किसानहरू हदै लचिलो बनेर गत वर्ष कायम मूल्य मान्न तयार भएको बताए । 'सम्पूर्ण वस्तुको मूल्य बढ्दा हामीले पोहोरको मूल्य मान्न तयार भएका छौं,' उनले भने, 'हामी यति लचिलो हुँदा पनि उद्यमी पक्षबाट मूल्य घटाउन खोज्ने किसानमारा प्रस्ताव ल्याउनुले आश्चर्यमा परेका छौं ।' उनले गत वर्षको भन्दा कम मूल्य कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

वार्तामा बोलाएर उद्यमीहरूले लागत समेत नउठ्ने गरी एकतर्फी मूल्य प्रस्ताव गरेपछि उचित मूल्यका लागि किसान संघर्षमा उत्रिएका हुन् । गत वर्ष पुस ८ गते सञ्चालन भएको हरिऔनको इन्दुशंकर चिनी मिल यस वर्ष मूल्य तय हुन नसक्दा चल्ने टुंगो छैन ।

मैनालीले नियोजित चाल अनुसार चिनी उत्पादकले उखुको कम मूल्य दिन खोजेको आरोप लगाए । चिनी मिल बढे पनि उखु कम भएकाले सञ्चालन गर्न हतार नहुँदा मूल्यमा सहमति गर्न उद्यमी नहतारिएको उनले बताए । 'मिल चलाउन हतार नभएकाले किसानलाई सताउने प्रयास भएको छ,' मैनालीले भने, 'मौका छोपेर किसानलाई पेल्न खोज्नु उद्योगका लागि दुर्भाग्य सावित हुनेछ ।'

गत वर्ष राम्राे मूल्य पाएपछि यस वर्ष जिल्लामा उखु खेती बढेको छ । खेती बढेपछि उद्योगले पुनः भाउ घटाउन खाेजेपछि किसान आन्दोलनमा उत्रेका हुन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks