Loving nepal news

Monday, December 13, 2010

टिकट ब्ल्याकमा बेच्थे स्पाइडर नाइके


प्रतिमा बाँस्कोटा

काठमाडौ, मंसिर २८ - ब्ल्याक स्पाइडर ग्याङका नाइके सन्दीप पाठक भनिने मिलन लामा १५ वर्षअघि गोपीकृष्ण हलमा टिकट ब्ल्याक गर्ने गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले भिडियोमार्फत् सार्वजनिक गरेको बयानबाट यस्तो देखिएको हो ।

तीन दिनअघि पक्राउ परेका उनले प्रहरीलाई बयान दिंदै २०५२ सालमा सिन्धुलीबाट एसएलसी दिएर आएपछि गोपीकृष्ण हलमा टिकट ब्ल्याक गरेको बताएका छन् । उनको गैरकानुनी काम यही पेसाबाट सुरु भएको प्रहरीको दाबी छ । कञ्चनपुर प्रहरीको हिरासतमा रहेका उनले दिएको बयान प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देखाइएको थियो । उनले काठमाडौं आएपछि दुई दिन खलासी काम गरेको, दुई वर्ष टिकट ब्ल्याक गरेर कमाएको पैसाले सिंगापुरमा फुड एन्ड बेभरेज पढ्न गएको बताएका छन् ।

सँगै पढ्ने साथीलाई चिट्ठा भर्न सल्लाह दिएको, चिट्ठामा परेपछि ७ लाख सिंगापुर डलरको आधा आफूले पाएको र त्यो पैसाले नेपालमा आएर गोंगबुमा रेस्टुरेन्ट चलाएको बयानमा भनेका छन् । त्यसपछि उनले दरबारमार्गको रिबक ब्रान्डको कपडा र जुत्ताको सोरुम सञ्चालन गरेका थिए । 'व्यापारमा घाटा भएपछि म क्यासिनोको लतमा परें,' उनले बयानमा भनेका छन् ।

उनलाई पहिलोपल्ट क्यासिनो लाने केदार श्रेष्ठ अहिले केन्द्रीय कारागारमा छन् । उनले राजधानीका धेरैजसो क्यासिनोमा ८० लाखभन्दा बढी हारेको बताएका छन् । त्यसपछि नेपाल मेडिकल कलेजमा ल्याब असिस्टेन्टका रूपमा कार्यरत विजय थापाले फोनबाट धम्क्याउँदा धेरै पैसा आउने सल्लाह दिएपछि अस्पतालका पि्रन्सिपल डाक्टर हेमाङ्ग दीक्षितलाई उनले धम्क्याएको बयानमा उल्लेख गरेका छन् ।

'धेरै पैसा आउँछ भनेर सूचना उपलब्ध गराएकाले अन्य साथीसँग मिलेर ब्ल्याक स्पाइडर इन्टरनेसनल नामको समूह खडा गरेका थियौं,' लामाले भने, 'त्यसपछि समूहको नामबाट विभिन्न व्यक्तिलाई धम्क्याएर मोटो रकम असुलेको हो ।' उनले डाक्टर दीक्षितलाई मार्ने उद्देश्यले गोली नचलाएको बताए ।

'तर्साउनका लागि गोली चलाइएको थियो,' उनले भने, 'मेडिकल कलेजका व्यक्तिसँग पैसा हुन्छ भनेपछि हामीले धेरैजसो डाक्टरहरूलाई धम्क्याएका हौं ।'

'प्रहरीको सफलता’

लामाको गिरफ्तारीलाई प्रहरीले उल्लेख्य सफलताका रूपमा लिएको छ । प्रहरीले लामाको ब्ल्याक स्पाइडर इन्टरनेसनलको नामबाट १४ जना व्यक्ति पीडित भएको बताएको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोमा पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा ब्युरो प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारीले भने 'ऊ सामाजिक सन्त्रास फैलाएर हत्याको प्रयास गर्ने समूहको नाइके हो, सन्दीप पाठक भनिने मिलन लामा समातियो भन्न पाउनु सिंगो प्रहरी संगठनका लागि गर्व हो ।'

नेपालबाट भागेको केही समयपछि भारतको दिल्लीमा पेस्तोलसहित पक्राउ परेपछि २७ महिना जेल परेर ६ महिनाअघि छुटेका थिए । त्यसपछि आफू भूमिगत नै बसेर उनले आफ्नो टिमलाई पुनः सक्रिय बनाउँदै धम्क्याउने क्रियाकलाप सुरु गर्न थालपछि प्रहरी नियमित रूपमा उनको पछि लागेको डीआईजी भण्डारीले बताए ।

अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरी निरीक्षक कृष्ण कोइरालाको टिमलाई विभिन्न स्थान पठाएको थियो । 'भारत, बंगालदेश र भुटानका सिमानामा गएर त्यहाँको नम्बरबाट धम्क्याउन थालेपछि अनुसन्धान गर्न ती स्थानमा प्रहरी परिचालित गरिएको थियो' भण्डारीले भने, 'दार्जिलिङ, सिलगुढी आसपासमा पुगेको थियो ।' व्यापारीबाट धम्क्याएर उनीहरूले ५५ लाख रुपैयाँ प्राप्त गरेको बताए पनि धेरै पैसा असुलेको हुन सक्ने प्रहरी दाबी छ ।

प्रहरीले उनलाई ज्यान मार्ने उद्योग, हतियार खरखजना र लागूऔषध अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले मुख्य नाइकेलाई पक्राउ गरेपछि स्पाइडर इन्टरनेसनलको अस्तित्व सकिएको दाबी गरेको छ । 'यस समूहको नाइके पक्राउ गरेपछि मिलन लामाको स्पाइडर ग्याङको अन्त्य भयो' डिआइजिपी भण्डारीले भने, 'अरू कसैले स्पाइडर ग्याङको नाममा अपराध गरे भने उनीहरूलाई पनि छाड्दैनौं ।' डाक्टर दीक्षितमाथि गोली प्रहार भएलगत्तै ग्याङका महत्त्वपूर्ण व्यक्ति समातिएकाले त्यतिबेला ग्याङ कमजोर बनेको भण्डारी बताउँछन् ।

उनको समूहका दुई जना केदार श्रेष्ठ र मनोज तामाङ डिल्लीबजार र केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । प्रहरीका अनुसार ब्ल्याक स्पाइडर इन्टरनेसनलका ७ सदस्य अझै फरार छन् । फरारहरूमा हेम तामाङ, प्रवीण लामा, सुधीर थापा, रमेश चौधरी, आनबहादुर महत, जितबहादुर खत्री, होमबहादुर खत्री र गणेश कार्की छन् ।

ब्ल्याक स्पाइडरबाट पीडितहरू

हेमाङ्ग दीक्षित, वीरबहन शमशेर जबरा, भोला रिजाल, नागेन्द्र पाम्पटी, मधु घिमिरे, सतीश बजाज, सतीश मोर, एभरेस्ट नर्सिङ होमका अधिकांश डाक्टरहरू, उद्धव पौडेल (चलचित्र निर्माता), एलपी साँवा (वैदेशिक रोजगार व्यवसायी), निर्मल गुरुङ (वैदेशिक रोजगार व्यवसायी, सगरमाथा टेलिभिजन सञ्चालक), मीनबहादुर गुरुङ (भाटभटेनी सुपरमार्केट सञ्चालक), रमेश शर्मा (शर्मा एन्ड शर्मा कम्पनी), तिलक गुरुङ (रोजगार व्यवसायी)


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks