रसुवा-, मंसिर १८ -
नागरिकता लिन उनेको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि भीड लाग्ने गरेको छ । बिहानैदेखि लाइनमा छोराको नागरिकता बनाउन पालो कुरेर बसेका भोर्लेका मदन न्यौपानेले भने, 'भैसीले दूध दिनै छाड्ने भो ।'
उनलाई छोराको नागरिकताभन्दा पनि घरमा पालिएको बकेर्नु भंैसीले दूध दिन छाड्ने चिन्ताले सताएको छ । उनी छोरा रामको नागरिकता बनाउन प्रशासन आएका हुन् । नागरिकता बनाएर चार जनाले सेयर भर्ने न्यौपानेले बताए ।
चिलिमे जलविद्युत् कम्पनीले रसुवावासीका लागि सेयर खुला गरेपछि स्थानीयहरू नागरिकता बनाउन प्रशासनमा लाइन बसेका हुन् । उनी मात्र होइन् धैबुङबाट नागरिकता लिन आएका श्याम तामाङ पनि गोठमा गाईबाख्रा त्यसै छाडेर नागरिकता बनाउन आएको बताए ।
उनले भने, 'गाईबाख्रा भोकै हुने भए ।' उनी लेकमा रहेको दर्जन गाईबाख्रा छाडेर नागरिकता बनाउन आएको बताए । उनले भने, 'खै त्यो सेर सेर
भन्छ नि, त्यो लिन नागरिकता चाहिन्छ भने यहाँ आको ।' उनले तीन जना परिवारले सेयर भर्ने बताए ।
चिलिमे जलविद्युत् कम्पनीले धितोपत्र बोर्डको स्वीकृति लिएर जिल्लावासीलाई १० प्रतिशत सेयर आह्वान गरेको छ । कम्पनीले कात्तिक तेस्रो
साताबाट सेयर खुला गरेपछि नागरिकता लिनेको प्रशासनमा भीड लागेको हो ।
नागरिकता वितरण गर्ने कार्यमा खटिएका युवराज न्यौपानेले भने, 'कोही भैंसी थाकिसक्यो भन्छन्, कोही गाई । कोही ब्याउने गाईबस्तु त्यत्तिकै छाडेर आएको छिटो बनाइदिनुपर्यो भन्छन् ।' फाइल बोकेर पल्लो र वल्लो कोठा चहारिरहेका न्यौपानेले भने, 'काम गर्न भ्याइनभ्याई छ ।'
दैनिक मुस्किलले आधा दर्जन नागरिकता बन्ने कार्यालयमा मंसिर पहिलो साताबाट नागरिकता बनाउनेहरू बढेको प्रशासन कार्यालयले जनायो । 'ल हेर्नुस् न बिहानै नागरिकता बनाउनेहरू आइसके,'
निमित्त तथा सहायक प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले कार्यालय नखोल्दैको भीड देखाउँदै भने, 'कसैलाई मर्का पारेको छैन ।'
सेयरले गर्दा जिल्ला प्रशासन कार्यालयले दैनिक २ सय जनासम्म नागरिकता दिने गरेको जनायो । कार्य व्यस्तताले प्रशासनका कर्मचारीले चियासमेत पिउन नपाएको गुनासो गरे । 'त्यति गर्दा पनि छिटो नागरिकता चाहियो भन्छन्,' नागरिकतामा नाम लेख्दै गरेका गोकर्ण कार्कीले भने, 'नागरिकता दिए पनि बेलामा पाइएन भनेर भन्न भने छाडेका छैनन् ।'
यति बेला १६ वर्ष उमेर पुगेदेखि ९० वर्षका वयोवृद्धवृद्धा सेयर भर्न नागरिकता लिन प्रशासन धाइरहेका छन् । चिलिमे जलविद्युत् कम्पनीले रसुवावासीलाई ९ लाख ६० हजार कित्ता
सेयर उपलब्ध
गराउने भएपछि नागरिकता अनिवार्य भएको हो । जिल्ला प्रशासनले नागरिकता लिने बढेपछि कर्मचारी थप्नुपर्ने बाध्यता बढेको जनायो ।
चिलिमे जलविद्युत् कम्पनीले रसुवावासीलाई कात्तिक २४ देखि २८ मंसिरसम्म सेयर भर्न आह्वान गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङले भने, 'सुनौलो अवसर छोप्न नागरिकता बनाउनै पर्यो रसुवावासीले ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks