
केदार ओझा
काठमाडौं, पुस ३ - उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्वपूर्ण व्यक्तिहरू आवागमन गर्ने (भीआईपी) कक्ष निर्वाध रूपमा उपयोग गर्ने गरेका छन् । कोइरालाको ठाडो निर्देशनमा चौधरीले कक्ष उपयोग गर्ने गरेका हुन् । विशिष्ट कर्मचारी, विदेशी पाहुना, कूटनीतिक नियोगका प्रमुखहरू तथा मन्त्रीहरू विदेश जाँदा/आउँदा परराष्ट्र मन्त्रालयका निर्देशनमा मात्रै उक्त कक्ष खोलिन्छ ।
'विदेश जाँदा र आउँदा सधैं उनी विशिष्ट कक्ष प्रयोग गर्छन्,' विमानस्थल कार्यालयका एक उच्च अधिकृतले भन्छन्, 'उनलाई छाड्न र लिन दुवै अवस्थामा परराष्ट्रमन्त्री कोइरालाको निजी सचिवहरू आउँथे ।' ती अधिकृतका अनुसार सुरुका केही महिना लिखितै पत्र ल्याउँथे, पछिल्लो समयमा सबैले चिह्न थालेपछि विमानस्थल कार्यालयले निजी सचिवको आग्रहमा आउनुअघि सबै ढोकाहरू खोलिन्थ्यो ।
परराष्ट्रका एक अधिकारीका अनुसार उनकै नाममा चाहिँ आदेश दिएका छैनौं तर उनले प्रयोग गर्ने गरी अनेकखाले आदेशहरू गएका छन् । चौधरीले उनका सामान्य आफन्त र साथीभाइहरू आउँदासमेत भीआईपी कक्ष खोल्न लगाउने गरेका थिए । चौधरी विवादमा आएपछि अधिकृतहरूले हस्ताक्षर गरी पठाएको निर्देशन सार्वजनिक भए कारबाही हुने डरले हाल यो प्रकरणका सबै कागजपत्र गोप्य राखिएको छ ।
चौधरी हाल नेपालमा गैरपर्यटकीय हैसियतमा 'रिलेसन' भिसा लिएर काठमाडौंमा बसेका छन् । उक्त भिसाका लागि परराष्ट्रमन्त्री कोइराला आफैंले सिफारिस गरेकी छन् । एक पटकमा एक वर्ष भिसा पाउने चौधरीले नेपालभित्र कुनै पनि जागिर र व्यापार गर्न नपाउने कानुनी प्रावधान छ । उनी सुजाताद्वारा सञ्चालित गैरसरकारी संस्थाहरूका गाडीमा देखिन्छन् ।
टेलिकम सम्बद्ध अधिकारीका अनुसार मन्त्रीका ज्वाइँ चौधरी नेपालमा भीओआईपी सञ्चालन गर्ने कार्यका नायक मानिन्छन् । दर्जनौं 'ई-वान' प्रविधिको आउने/जाने दोहोरो सुविधा गोप्य रूपमा लिएर उनले भीओआईपी (अन्तर्राष्ट्रिय कल छली) गरेका थिए । अवैध रूपमा इन्टरनेटमार्फत अन्तर्राष्ट्रिय फोन स्थानीय नेटवर्कमा भित्र्याउने कार्यलाई 'भ्वाइस ओभर इन्टरनेट प्रोटकल' (भीओआईपी) भनिन्छ ।
इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपाल टेलिकमले उपलब्ध गराउने ई-वान प्रविधि एकतर्फी मात्रै दिइन्छ । टेलिकमका एक अधिकारी भन्छन्, 'दोहोरो सुविधाको ई-वान प्रणाली अन्तर्राष्ट्रिय कल छली गर्न सबैभन्दा सुरक्षित र सजिला प्रविधि हो ।'
एक थान ई-वान प्रविधिबाट एकैपटक ३० लाइन टेलिफान बराबरको कल आउने-जाने सुविधा हुन्छ । ई-वान प्रविधिबाट अन्तर्राष्ट्रिय कल छली आउने फोनमा 'कल वान/टु' भनेर सकेत हुने गर्छ । सिम राखेर अन्तर्राष्ट्रिय कल छली गर्नेबाट आउने फोनमा भने स्थानीय मोबाइल नम्बर देखिन्छ । यसरी कल छलीमा दैनिक ३० लाख रुपैयाँसम्म आम्दानी हुने टेलिकमका कर्मचारीहरू बताउँछन् ।
प्रहरीले खुमलटारमा छापा मार्दा नेपाल टेलिकम, एनसेल, यूटीएल लगायतका आठ सय सिमसहित बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको थियो । उनीहरूले अनौपचारिक कुराकानीका क्रममा प्रहरीको अनुसन्धान अधिकृतलाई रुबेल चौधरीकै निर्देशनमा कार्य गरेको बताए पनि पछि दबाबमा उनको नाम बयानमा हटाइएको थियो ।
चौधरीले बंगलादेशमा कार्यरत रहने गरी खोलेको वल्र्डपिस एन्ड इकोनमिक्स डेभलपमेन्ट अर्गनाइजेसन नामक एक गैरसरकारी संस्थाले संयुक्त राष्ट्रसंघको लोगो दुरुपयोग गरेको देखिन्छ । उक्त संस्थामा परराष्ट्रमन्त्री सुजाता कोइराला कार्यकारी उपाध्यक्षको रूपमा रहेकी छन् । सामान्यतः कुनै पनि गैरसरकारी सस्थाले यूएनको लोगो राख्न पाउँदैनन् । उक्त गैरसरकारी संस्थामा चौधरीले मन्त्री कोइराला र आफ्नो नामका अगाडि डा. लेखेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks