
शिला पाण्डे
काठमाडौ, पुस २ - ओखलढुंगा- खोटाङको लामीडाँडाबाट काठमाडौंका लागि उडेर बुधबार बेपत्ता भएको तारा एयरको टि्वनअटर श्रीचौर-९ मानेडाँडामा दुर्घटना हुँदा त्यसमा रहेका सबै २२ जनाको मृत्यु भएको छ । आवश्यकभन्दा बढी तौलका कारण दुर्घटना भएको अनुमान छ ।
उडेको पाँच मिनेटमै सम्पर्कविहीन विमानलाई १५ घन्टापछि बिहीबार बिहान ६:२५ बजे एयर डाइनेस्टिकको हेलिकप्टरले फेला पारेको हो । विमानमा ३ जना चालक
दलका सदस्यबाहेक सबै विदेशी नागरिक थिए । टि्वनअटर जहाजले उडान गर्दा ५ हजार ६ सय ७० किलो (१२ हजार ५ सय पाउन्ड) भन्दा बढी तौल लान पाउँदैन । तर लामीडाँडा उडेको ताराको जहाजमा योभन्दा बढी तौल थियो । तौल बढी हुनासाथ जहाजको गति र माथि बढ्ने क्षमतामा समेत ह्रास आउँछ ।
दशकदेखि लामीडाँडा उडान गरिरहेका एक विमान चालकका अनुसार बढी तौल दुर्घटनाको कारण हो । यात्रु नहुँदा टि्वनअटर जहाजको तौल (एमटी वेट) न्यूनतम ७ हजार ७ सय १ देखि ७ हजार ७ सय ३ पाउन्ड हुन्छ । त्यस्तै, क्रुको तौल २ सय ३१ किलो -५ सय ८ पाउन्ड) र लामीडाँडा-काठमाडौंका लागि राखिएको इन्धनको तौल ५ सय ४५ किलो (१ हजार २ सय पाउन्ड) हुने गर्छ ।
बाँकी रहेको तौलमा यात्रु, ब्यागेज र कार्गो लगिने ती विमान चालकले बताए । 'दुर्घटना भएको जहाजको एमटी वेट ३ हजार ४ सय ९४ किलो (७ हजार ७ सय २ पाउन्ड) भन्दा केही बढी नै थियो,' उनले भने ।
तारा एयरले दिएको यात्रु सूचीका अनुसार जहाजमा १ सय ८० किलो (३ सय ९७ पाउन्ड) तौलको ब्यागेज रहेको थियो । त्यस्तै, जहाजमा रहेका यात्रुको औसत तौल ७० किलो राख्दा १९ यात्रुको तौल १ हजार ३ सय ३० (२ हजार ९ सय ३२ पाउन्ड) हुन्छ । सामान्यतया विदेशी यात्रुको तौल ७५ किलो मान्ने गरिन्छ ।
बढी तौलमा जहाज उडाउनु मुख्य चालक (क्याप्टेन) ले जोखिम उठाउनु रहेको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनायो । 'तोकिएकोभन्दा ३० किलो मात्र तौल बढी हुँदाको अवस्था जोखिमपूर्ण हुन्छ,' स्रोतले भन्यो, 'तर, ताराको जहाजमा १ सय १० केजी तौल बढी भएको पाइयो ।' तारा एयर व्यवस्थापनले भने आफ्नो जहाज 'अन्डरलोड' भएको दाबी गरेको छ ।
कानुनी रूपमा ५ हजार ६ सय ७० किलोभन्दा एक किलो तौल पनि बढी हुन नहुने विमान चालक संघका एक सदस्यले बताए । प्राधिकरणको नियममा पनि यो कुरालाई समावेश गरिएको छ । '३० किलो बढी हुनासाथ कार्यक्षमतामा नकारात्मक प्रभाव पर्छ,' ती सदस्यले भने, 'निश्चित तौलभन्दा बढी भएको अवस्थामा सिट क्षमताभन्दा कम यात्रु लानुपर्छ ।'
एयरका अनुसार तीर्थका लागि गएको हुँदा कार्गो थिएन । जहाज उडान गर्दा उड्नुपर्ने उचाइ, रनवेको लम्बाइ र उडान गर्दाको मौसमको आधारमा तौल राखिनुपर्ने हुन्छ ।
खोजीका लागि गएको अनुसन्धान टोलीले जहाजको ब्ल्याक बक्सलगायत उपकरण चेकजाँच गरेरमात्र दुर्घटनाको कारण खुलाउने जनाएको छ । यसका लागि सरकारले शुक्रबार अनुसन्धान कमिटी बनाउनेछ । जसले प्राप्त भएका उपकरण तथा कन्ट्रोल टावरसँग भएको कुराकानीका आधारमा दुर्घटनाको कारण सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।
बुधबारदेखि परिचालित डाइनेस्टिकका हेलिकप्टरहरूले बिहीबार बिहान रुम्जाटार विमानस्थलबाट ६:१५ मा उडेपछि दुर्घटनास्थल पत्ता लगाएका थिए । घटनास्थल पत्ता लागे पनि हावाका कारण एउटा हेलिकप्टर अवतरण गर्न नसकेर रुम्जाटारै फर्केको थियो भने अर्कोले अवतरण गरी घटनास्थल निरीक्षणपश्चात् रुम्जाटार आएको थियो ।
घटनास्थल सदरमुकामदेखि १३ कोष टाढा छ । वरपर बस्ती नभएका कारण पनि पत्ता लाग्न ढिला भएको
हो । घटनास्थल पत्ता लगाउन सफल एयर डाइनेस्टिकका क्याप्टेन अनिल रावलका अनुसार विमान डाँडामा ठोक्किएको देखिन्छ । 'जलेको नभई पहाडमा ठोक्किएर टुक्राटुक्रा भएको देखिन्छ,' उनले भने, 'के कारणले ठोक्किएको हो, त्यो अनुसन्धानकै विषय हो ।'
विमान बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी लगायतको टोली बुधबारदेखि नै परिचालित थिए । सेनाको टोली पैदल हिँडेर घटनास्थल पुगेको थियो । यात्रु तथा चालक दल सबैको शव क्षतविक्षत भए पनि पोशाक लगायत वस्तुका आधारमा पहिचान सम्भव भएको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक रामकृपाल साहले बताए । केही शवहरूको हात, खुट्टा छुट्टिएका छन् ।
काठमाडौंबाट दिउँसो आइपुगेको सेनाको एम आई १७ हेलिकप्टरले १९ यात्रुको शव राजधानी लगेको थियो । चालक दलका तीन नेपालीको शवलाई भने एयर डाइनेस्टिकमार्फत रुम्जाटार ल्याई तारा एयरको नाइन एन विमानमार्फत राजधानी लगियो ।
घटनास्थल ९ हजार फिटको उचाइमा रहेको एयर डाइनेस्टिकका इन्जिनियर सन्तोष केसीले बताए । उनका अनुसार विमानले डाँडा नाघ्न ५० फिट जति उचाइ बाँकी थियो । मानेडाँडाको उत्तर भएर विमान जानुपर्नेमा दक्षिणतर्फ गएकाले ठोक्किएको हुन सक्ने क्याप्टेन रावलले बताए ।
विमान रूखहरूमा ठोक्किँदै करिब ५० फिट जति तल खसेको देखिन्छ । छरिएका शव संकलन गर्न प्रहरी र सेनालाई दिनभर लागेको थियो । ओखलढुंगामा विमान दुर्घटना भएको यो पहिलो हो । घटनापछि बिहीबार रुम्जाटारको नेपाल वायु सेवा निगम र तारा एयर दुवैको नियमित उडान रद्द गरिएको छ । उडान रद्द हुँदा यात्रु मारमा परेका छन् ।
विमानमा रहेका १८ यात्रु भुटानी नागरिक रहेको तर अर्का एक जना विदेशी कुन देशको भन्ने खुल्न नसकेको नेपाली सेनाले बताएको छ । सबै यात्रु हलेसी मन्दिर दर्शन गरेर काठमाडौं र्फकने क्रममा थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks