Loving nepal news

Thursday, December 16, 2010

'गोली चलाएकामा पछुतो छैन’


शिव शर्मा

कास्की, पुस २ - गोलीकाण्डपछि सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेर रिहा भएका पूर्वयुवराज पारस शाहले घटनालाई राजनीतिक रंग दिन खोजेका छन् । चितवन प्रशासनबाट १० हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार साँझ पोखरा आएका शाहले 'आफूले देश र राष्ट्रका लागि यस्तो काम गरेको' बताउँदै घटनालाई राजनीतीकरण गर्ने प्रयास गरेका हुन् ।

पोखरा विमानस्थलमा संवाददाताहरूको 'यस्तो घटना किन घटाउनु भएको ?' भन्ने जिज्ञासामा उनले 'देश र जनताका लागि फेरि पनि यस्तो गर्न सक्ने' बताए । उनले देश र राष्ट्रका लागि भनेर पटक-पटक वाक्य दोहोर्‍याएका थिए ।

करिब पाँच मिनेटसम्म समर्थकहरूसँगै मूलसडकमा हिँडेका शाह पहेंलो लेन्डरोभर गाडी चढेर फिस्टेल लज गएका थिए । गोलीकाण्डबारे जिज्ञासा राख्दा शाहले हाँसेर भने, 'सेना, पुलिसका बीच एकपटक होइन, पटक-पटक यसरी नै बस्न तयार छु ।'

उनले आफूलाई प्रहरीले पक्राउ नगरेको दाबीसमेत गरे । 'मलाई कसैले लगेको हैन, म आफैं गएको हुँ,' उनले भने, 'पोखरामा साथीहरूलाई छाडेर गएको थिएँ, फेरि उनीहरूलाई भेट्न यहीं आइपुगेँ ।'

गलाभरि लगाएको माला र खादा निकाल्दै उनले गोली चलाएर आफूलाई कत्ति पनि पछुतो नभएको बताए । चितवनबाट अपराह्न फिस्टेल एयरबाट पोखरामा उत्रँदा निकै हषिर्त

मुद्रामा देखिएका उनले साथीहरूलाई भेटेर शुक्रबार काठमाडौं फर्किने बताए ।

सयौं समर्थकले फूलमालाले स्वागत गर्दा हात हल्लाउँदै अघि बढेका उनले 'अहिले तपाईंलाई कस्तो लागिरहेको छ ?' भन्ने जिज्ञासामा भने 'जनताले एकतर्फी कुरा सुनेनन्, त्यसैको परिणाम आज जनता सडकमा उत्रिएर मलाई स्वागत गरिरहेका छन्, मलाई निकै खुसी लागेको छ ।'

गाडीमा चढेर केहीबेर पत्रकारहरूसँग कुरा गरे पनि उनले धेरै बोल्न मानेनन् । हात जोडेर नमस्कार भन्दै गाडी अघि बढाउन चालकलाई निर्देशन दिए । विमानस्थलमा झरेपछि समर्थकले उनलाई अंगालो हाल्दै 'हाम्रंो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ' भन्दै चर्का नारा लगाएका थिए ।

राष्ट्रिय झन्डा हल्लाउँदै स्वागत गर्न बसेका समर्थकहरूसँग हात मिलाउँदै शाह उनीहरू सँगसँगै सडकमा निस्किएका थिए । समर्थकले उनलाई घेर्दा सञ्चारकर्मीलाई तस्बिर लिन हम्मे परेको थियो ।

बाजागाजासहित सडकमा निस्केका समर्थकहरू पारस बस्ने फिस्टेल लज परिसर बाहिरसम्म पुगेका थिए । त्यहाँ पनि केहीबेर नाराबाजी गरेका थिए । शाहीकालमा पोखरा उप महानगरपालिकाका उपमेयर भएका गणेशबहादुर भट्टराई, राप्रपा नेपालका जिल्ला नेता जयलाल पुनलगायत शाह आएको केहीबेरपछि फिस्टेल लज पुगेका थिए । पत्रकारलाई भट्टराईले 'तपाइर्ंहरू यहीँ बस्नुस्' भन्दै रोकेका थिए । थकित भएर आरामका लागि पोखरा आएको भन्दै होटलबाट निस्केका शाहनिकट युवाहरूले 'पत्रकारलाई आज भेट्न नसक्ने' भन्दै फर्काएका थिए । होटल परिसरमा प्रहरी तैनाथ गरिएको थियो ।

पारस १० हजार धरौटीमा रिहा

नारायण शर्मा/दीपेन्द्र बडुवाल

चितवन- टाइगरटप्स होटलमा गोली प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा लगाइएका पूर्वयुवराज पारस शाह १० हजार धरौटी बुझाएर प्रशासनको आदेशमा बिहीबार रिहा भएका छन् । प्रशासनले उनलाई फागुन १९ गते फेरि तारिख लिन आउन आदेश दिएको छ ।

उनका सहयोगीले प्रशासन कार्यालयमा १० हजार नगद राजस्व बुझाएर रसिद लिएर गएका छन् । प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमको इजलासले 'केही सार्वजनिक अपराध ऐन' अन्तर्गत कसूर हेरी सबैभन्दा बढी जरिवाना गरेको हो ।

पूर्वयुवराजले सार्वजनिक अपराध झेलेर सजाय पाएको यो पहिलो हो । जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिलले शाहविरुद्धको मुद्दाको अभियोग पत्र दर्ता गरेका थिए । त्यसअघि चितवनका प्रमुख जिल्ला अधिकारी, एसपी, सरकारी वकिलले पटकपटक सल्लाह गरेका थिए । सबै तयारी गरेर जिल्ला प्रशासनमा उनको प्रतीक्षा गर्दै प्रजिअसहित सबैले करिब तीन घन्टा कुरेका थिए । तीन घन्टासम्म प्रशासनमा कडा सुरक्षा प्रदान गरेर कार्यालयको काम ठप्प पारिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार कडा सुरक्षा घेराभित्र रहेर आफ्ना सयौं सर्मथकबीच उनी दिउँसो ३ बजेर १५ मिनट जाँदा बयानका लागि छिरेका थिए । उनका आधा दर्जन वकिल उनीभन्दा तीन घन्टाअघि नै जिल्ला प्रशासनमा प्रवेश गरेर मुद्दा के-कसरी राम्रो बनाउने भन्नेमा तल्लीन थिए ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले त्यहाँ पुगेका शाहसँग उनी विरुद्धको अभियोग पत्र हेरेर पटक-पटक प्रश्न गरेका थिए ।

प्रश्नोत्तरपछि प्रजिअ कक्षको इजलासमा वादी र प्रतिवादी वकिलहरूको बहस सुरु भएको थियो । शाहका वकिलहरूले घटनाको ३/४ दिन पछि जाहेरी दर्ता गरेर योजनाबद्ध ढंगले फसाउने षड्यन्त्र भएको जिकिर गरेका थिए ।

शाह पक्षका वकिलले 'पारस शाहविरुद्ध लगाइएका आरोप एकपक्षीय मनगढन्ते र हचुवाका भरमा लगाएको' भनाइ राखेका थिए । उनका पक्षवाट अधिवक्ताहरू श्रीप्रसाद पण्डित, हीरा रेग्मी, गणेश केसी, चूडामणि सापकोटा, रामप्रसाद रिजाल र शिव पाण्डे लगायतले बहस गरेका थिए ।

जाहेरीका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाले बहस गरेका थिए । तिमिल्सिनाले शाहले सार्वजनिक स्थलमा होहल्ला र हुलदंगा गरेर आफ्नै मर्यादा घटाउने काम गरेको तर्क राखेका थिए । उनले त्यस दिन होटल टाइगर टप्सका पाहुना रुबेल चौधरीलाई अपशब्द प्रयोग गर्दै धम्क्याएको जिकिर गरेका थिए ।

करिब डेढ घन्टाको बहसपछि प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले शाहलाई १० हजार धरौटी बुझाउन आदेश दिएका थिए । उनले शाहका वकिलहरूको माग र सबैको आग्रहबमोजिम आगामी फागुन १९ गते शाहलाई उपस्थित हुने आदेश सुनाए । गौतमले फागुन १९ मा शाह आफैं उपस्थित हुने/नहुने कानुनमा व्यवस्था भएबमोजिम हुने कान्तिपुरलाई बताए ।

चितवन निकुञ्जभित्रको टाइगरटप्स होटलमा गत शनिबार राति साढे आठ बजे त्यसै होटलमा रहेका पाहुना उपप्रधानमन्त्री सुजाता कोइरालाका छोरी-ज्वाइँ रुबेल चौधरीलाई धम्क्याएको र हुलहुज्जत गरेर आतंकित पारेको भन्दै चितवन प्रहरीले उनीविरुद्ध पाँच दिनअघि केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो । उनी विरुद्ध जिल्ला प्रहरीले मेघौली विमानस्थलका एक प्रहरी सहायक निरीक्षकका नामबाट उजुरी हालेको थियो ।

प्रजिअ- तपाईं टाइगरटप्स होटल किन जानुभयो ?

शाह- म, मेरा परिवार र साथीहरू छोरीको जन्मदिन मनाउन गएका थियौं ।

प्रजिअ- तपाईंले किन सार्वजनिकस्थलमा अमर्यादित ढंगले हो-हल्ल्ाा गर्नुभयो ?

शाह- मैले त्यस्तो केही गरेको होइन । मेरी छोरीको जन्मदिन मनाउन गएकाले त्यस्तो गर्ने कुरै भएन । मेरो आदत पनि त्यस्तो कसैसँग झै-झगडा गर्ने छैन । म माथि सबै अनावश्यक आरोप लगाइएको हो ।

प्रजिअ- तपाईंले रुबेल चौधरीविरुद्ध अपशब्द प्रयोग गरेर हुलहुज्जत गरेको के हो ?

शाह- जन्मदिन मनाएपछि साथी हामी हाम्रो टेबुलमा बसेका थियौं । उनी अर्को टेबुलमा थिए । उनी आफैं हाम्रो टेबुलमा आएर परिचय भयो । फोटो खिचे । उनले कुरा गर्ने क्रममा एक्कासि नेपाल, नेपाली र म विरुद्ध अपशब्द बोले । मैले सम्झाउने क्रममा भनाभन भयो । त्यसैलाई बढाएर मैले हुलदंगा गर्‍यो भनेकोे होला । मैले त्यस्तो केही गरेको छैन । जन्मदिन मनाउन गएकाले त्यस्तो गर्ने कुरै भएन । मैले त साथीहरूसँग जेन्टल्ली इन्ज्वाय गरेको थिएँ । मेरा साथीहरूसँग रमाइलो गरेको थिएँ । उनले पटक-पटक नेपाल, नेपाली र म स्वयंलाई पनि होच्याउने काम गरे । त्यो मैले सहन सकिनँ । त्यत्ति हो । मसँग कुनै हतियार नै थिएन । पड्काएको पनि होइन । मैले त्यहाँ होहल्ला अशान्ति केही गरेको होइन । म विरुद्ध लगाइएका आरोप निराधार भएकाले मेरो मुद्दा खारेज गरेर मलाई सफाइ दिनुपर्छ भन्ने मेरो माग छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks