Loving nepal news

Thursday, December 9, 2010

पूर्व पनि सिन्डिकेट/ ट्रक ढुवानी भाडा २५ प्रतिशतसम्म वृद्धि * योगेश खतिवडा/काठमाडौंमा


विनोद भण्डारी

विराटनगर, मंसिर २४ - मुलुकको पश्चिमी भेगमा ढुवानी व्यवसायीले सञ्चालन गरिरहेका आलोपालो प्रथा पूर्वी भेगमा पनि पुगेको छ । मोरङ र सुनसरीमा व्यवसायीले जोर बिजोर नियम लगाउने भन्दै मंगलबारदेखि सिन्डिकेट सुरु गरेका छन् ।

दुर्घटना, पेट्रोलको क्षमता घटाउने निहुँमा ट्रक तथा ट्यांकर व्यवसायीले पूर्वी नेपालमा समेत सिन्डिकेट सुरु गरेपछि दुई दिनकै अवधिमा ढुवानी भाडामा २५ प्रतिशतसम्म वृद्धि गरिएको छ ।

वैशाखमा राजधानीमा सबैभन्दा बढी ट्रक तथा ट्यांकर भित्रने वीरगन्ज (नारायणी ढुवानी व्यवसायी) ले जोर बिजोर व्यवस्था लागू गरेको थियो । यो प्रणाली नेपालगन्ज, बुटवल, धनगढीलगायत क्षेत्रमा पनि लागू भइसेको छ ।

ढुवानीका साधन भाडामा लिने उद्योग व्यवसायीले भने नयाँ व्यवस्थाले आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । ढुवानी व्यवसायीले भने सडकमा चाप कम गर्न, दुर्घटना कम गर्न, बढी लोड बोक्ने चलन अन्त्य गरी यात्रा सुरक्ष्ाित गर्न र सवारी दुर्घटना कम गर्न यस्तो नियम लगाएको दाबी गरेका छन् ।

'मंगलबारदेखि जोर बिजोर नम्बर लागू गरेका हौं,' मोरङ ट्रक व्यवसायी संघका कार्यबाहक अध्यक्ष विनोद खड्काले भने, 'दुई दिन जोर नम्बर र दुई दिन बिजोर नम्बर चल्न पाउने व्यवस्था गरेका छौं ।' ढुवानीका साधन अत्यधिक भएकाले नयाँ व्यवस्था गरिएको उनले

बताए । बाटो नबढे पनि ढुवानी साधनको संख्याले दुर्घटना धेरै भएकाले त्यो रोक्न नयाँ व्यवस्था सुरु गरेको उनको दाबी छ ।

उनी जोर बिजोर प्रणालीले ढुवानी साधनको अभाव नहुने दाबी गर्छन् । 'सुनसरी र मोरङमा अहिले १ हजार ट्रक तथा ट्यांकर छन्,' उनले भने, 'यो प्रणाली सुरु गरे पनि दुई दिनमा झन्डै २ सय ५० गाडी जान्छन् । यो ढुवानीका लागि पर्याप्त छ । यदि त्यसले नपुगे अरू पठाउन पनि हामी तयार छौं ।'

ट्रकको संख्या बढ्दा प्रतिस्पर्धाले कम भाडामा ढुवानी गर्नुपरेको भन्दै मिलेमतोमा दैनिक गुड्ने ढुवानी संख्या नियन्त्रण गरेर भाडा बढाउन खोजिएको आरोप लगाइएको छ । प्रतिस्र्धात्मक बजार नियन्त्रण गर्ने यस्तो प्रावधान ठीक नभएको विश्लेषक बताउँछन् । खुला बजार प्रणालीका बेला यस्तो व्यवस्थाले कार्टेलिङ भएको र यसले ढुवानी व्यवसायीको हितमा मात्र गर्ने उनीहरू बताउँछन् । ढुवानी भाडा बढ्दा दैनिक उपभोग्य सामग्रीको मूल्य समेत माथि लाग्छ ।

नयाँ व्यवस्थामा पनि पर्याप्त ट्रक नपाइने भएकाले ढुवानी सवारी भाउ वृद्धि भएको उद्योग व्यवसायीले जनाएको छन् । मोरङ व्यापार संघका अध्यक्ष महेश जाजु ट्रक व्यवसायी संघले ट्रकको अभाव देखाएर ढुवानी भाडा बढाएको बताउँछन् । जोर बिजोर प्रणाली सुरु भएपछि विराटनगर-काठमाडौंको ढुवानी भाडा ५ हजार रुपैयाँसम्म बढेको उनले बताए । गैरकानुनी रूपमा सुरु गरिएको व्यवस्था रोक्न सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

ढुवानी व्यवसायी भने नयाँ व्यवस्थाले भाडा नबढ्ने दाबी गर्छन् । 'यो नियमले ट्रक अभाव हुँदैन,' ट्रक व्यवसायी संघका महासचिव रमेशकुमार चापागाई भन्छन्, 'नियम लागू हुनुभन्दा अघि विराटनगरबाट मात्र दैनिक ७०/८० ट्रक जान्थे । अहिले पनि त्यत्तिकै संख्यामा उपलब्ध छन् । कसरी भाडा बढ्छ ?'

विराटनगर ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष सुशील जोशी नयाँ व्यवस्थाले भाडा वृद्धि मात्र नहुने बताउँछन् । 'ट्रक कम चल्ने भएकाले भण्डारण क्षमता कम भएका उद्योगलाई धेरै असर पर्छ,' उनले भने, 'ट्रकको अभावले उत्पादन भएका समान पठाउन नसक्दा उत्पादन रोक्नुपर्ने अवस्था आउन सक्छ ।'

नयाँ व्यवस्थाले २५ प्रतिशतसम्म भाडा बढेको ढुवानी व्यवसायीको पनि स्वीकारोक्ति छ । नयाँ व्यवस्थाअघि विराटनगर- काठमाडौं भाडा २०/२१ हजार रुपैयाँ थियो । 'जोर बिजोर लागू भएपछि २५ हजार पुगेको छ,' जेबी ट्रान्सपोर्टका सञ्चालक सुशीलकुमार जोशी भन्छन्, 'यो नियम लागू भएपछि सबै ठाउँको ढुवानी भाडा बढेको छ ।' प्रतिस्पर्धाको जमानामा व्यवसायीलाई खुला छाडिदिनुपर्ने उनको माग छ ।

पहिले विराटनगर-वीरगन्ज ढुवानी भाडा ९ हजार रहेकामा अहिले ११ हजार ५ सय पुगेको जोशीले बताए ।

हिउँद महिना ढुवानीको सिजन हो । यसै सिजनमा उखु, निर्माण सामग्रीदेखि खाद्यान्न ढुवानी पनि बढी हुन्छ । 'यस सिजनमा ढुवानीका साधनको माग अत्यधिक हुने गरेकाले भाडा वृद्धि भएको हो,' ट्रक व्यवसायी संघका महासचिव चापागाई भन्छन्, 'तर जोर बिजोर नियमले होइन ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks