Loving nepal news

Wednesday, December 8, 2010

६ लेन सडकको रेलिङ काटियो


मकर श्रेष्ठ

भक्तपुर, मंसिर २३ - अरनिको राजमार्गको तीनकुने-सूर्यविनायक सडकमा दुर्घटनाबाट बच्नका निम्ति बार (रेलिङ) ले व्यापारमा असर परेको जिकिरसहित काट्न सुरु गरेका छन् । जापान सरकारको सहयोगमा विस्तारित मुलुककै फराकिलो सडकमा मानवीय सुरक्षाका लागि मोटो डण्डी र पिलर गाडिएको छ ।

आफ्नो घरअगाडि बाटो बन्द गरेको भन्दै केही ठाउँमा धारिलो हतियार प्रयोग गरी फलामको मोटो डण्डी काटेका छन् भने १४ वटा पेट्रोलपम्पले बार लगाउन दिएका छैनन् ।

काठमाडौं-भक्तपुर सडक विस्तार आयोजनाका अनुसार व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि अन्य सडकमा भन्दा यो सडकमा स्तरीय रेलिङ हालिएको

हो । 'अन्य सडकभन्दा फराकिलो भएकाले सवारी चालकले तीव्र गतिमा गुडाउन सक्छन् ।

बढी स्पिड भएको गाडीले सडक दायाँ-बायाँ हिंड्ने पैदल यात्रीलाई ठक्कर नदिऊन्, जथाभावी गाडी रोक्ने र बाटो काट्ने प्रवृत्ति हटोस् भन्ने मुख्य उद्देश्य हो,' आयाोजना प्रमुख सरोज प्रधानले भने, 'सडक रेलिङ कसैले व्यक्तिगत स्वार्थ पूरा गर्छ भने भविष्यमा हुने क्षति पनि उसले तिर्न तयार हुनुपर्छ ।'

व्यक्तिगत स्वार्थभन्दा पनि सबैको हित हुने काममा सहभागी हुन उनले आग्रह गरे । सडक विस्तार हुनुअघि ५८ वटा बाटो भए पनि सुरक्षाको दृष्टिकोणले १४ स्थानमा मात्रै खुला बाटो राखिएको उनले बताए । अन्य सडकमा राखिएको रेलिङ नाघेर सहजै सडकमा निस्कन सकिन्छ भने विस्तारित सडकमा जान सकिंदैन । फुटपाथबाट सहजै सडकमा जान नसक्ने भएकाले दुर्घटना न्यून हुन सक्ने ट्राफिक प्रहरी वृत्त कोटेश्वरले जनाएको छ ।

रेलिङ राखेर सहजै सर्वसाधारण पसलमा जान नपाएको र व्यापारमा असर परेको भन्दै कोटेश्वरबाट तीनकुुनेतर्फ आउँदा अवाल हाउस अगाडि रेलिङ काटिदिएको छ । अवाल हाउस र डिल्ली दरबार नाम दिएको घर अगाडि सडक सुुरक्षाका लागि बनाएको रेलिङ काट्दासमेत प्रहरीले यस्ता व्यक्तिको खोजी गरी कारबाही गर्न सकेको छैन । 'कसले काट्यो प्रहरीले त पत्ता लगाउन सकेको छैन,' एनडीईपी बैंकका सुरक्षा गार्डले भने- 'हामीलाई त के थाहा ?'

आफ्नो स्वार्थका लागि बार नै काट्ने व्यक्तिलाई कारबाही हुुन नसके अन्य ठाउँमा पनि यस्तै समस्या आउन सक्ने आयोजनाले जनाएको छ । 'सडक प्रयोगकर्ताको सुरक्षाका लागि बनाएको बारसमेत भत्काएर विदेशीलाई नकारात्मक सन्देश जान सक्छ,' तीनकुुने-भक्तपुुर सडक विस्तार आयोजना प्रमुख सरोज प्रधानले भने- 'यस्ता गलत काम गर्नेलाई कारबाही गरी जरिवानासमेत तिराउन प्रहरीले सक्रियाता देखाउनु आवश्यक छ ।'

पहिलो चरणको तीनकुने जडीबुटीसम्मको सबै काम सकिएको छ तर दातृ निकायको प्रत्यक्ष निगरानीमा उनीहरूले नै बनाउने बारसमेत पेट्रोलपम्पवालाको विरोधले रोकिएको छ । पहिलो चरणमा कोटेश्वर र कामख्य पेट्रोलपम्पले बार लगाउन नदिएको आयोजनाले जनाएको छ ।

सडकको दायाँ-बायाँ कामख्य, कोटेश्वर, जुगल, वाग्मती, प्रवीण, अरनिको, साझा, रिसव, सिद्धार्थ, गुह्येश्वरी, अजिमालगायतका १४ पम्पले बार लगाउन दिएका छैनन् । सबैले पम्प अगाडि खुला राख्नुपर्ने माग राखेका छन् ।

पम्पमा आउने वैकल्पिक बाटो बनाए पनि नहुने भन्दै आएका छन् । बाटोको माग गरेर पम्पवालाहरू श्रम तथा यातायात मन्त्रीलाई भेटेर गुनासो सुनाउनसमेत भ्याइसकेका छन् ।

पम्पबाहेक मुनिभैरव ओरालोको किस्ट बंैक भएको घरले पनि बार लगाउन नदिएको आयोजनाले जनाएको छ । वाग्मती पेट्रोलियम ढुुवानी संघका अध्यक्ष एवं कामख्य आयल स्टोरका प्रमुख वासुदेव दाहालले पेट्रोलपम्प सडक विभागबाट स्वीकृत लिएर राखेकाले पम्पमा जाने र आउने बाटोको व्यवस्था गरिदिनुपर्ने बताए । पम्प विकासविरोधी नभई आफ्नो समस्याका लागि बाटो मागमात्रै गरेको उनले बताए ।

पम्पमा खुला छाड्दा दुर्घटना बढ्ने प्रधानले बताए । 'पम्पसम्म जाने वैकल्पिक बाटो बनाइदिन्छु भन्दा पनि उनीहरूको विरोधले बार लगाउन सकिएको छैन,' उनले भने, 'सडक विस्तारमा कसैले अवरोध नगरी सहयोग गरिदिन आग्रह गछौर्ं ।' मुनिभैरवको अवाल हाउस अगाडि बार काटिएको सम्बन्धमा कारबाही गरी क्षतिपूर्ति तिराउन जिल्ला प्रशासन कार्यालय काठमाडांैमा पत्राचार भए पनि केही नभएको उनले बताए ।

सडक विस्तार कार्य नसकिंदै तीनकुनेदेखि ठिमीसम्मको विभिन्न स्थानमा सडक रेलिङ सवारी साधनको ठक्करबाट भत्काएका हुन् । ठिमीको साझा पेट्रोलपम्प छेउमै बसको ठक्करबाट, कोटेश्वरमा आर्मी गेटमा दमकलको ठक्करबाट, कोटेश्वर चोकमै प्राइभेट कारले हानेर भत्किएको छ । कार र बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सबैले क्षतिपूर्ति तिर्ने सहमति गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks