Loving nepal news

Wednesday, December 8, 2010

पश्चिम तराईमा धान उत्पादन वृद्धि


नेपालगन्ज ब्युरो

नेपालगन्ज, मंसिर २३ - पश्चिम तराईमा यस वर्ष धानको उत्पादन वृद्धि भएको छ । दाङ, बर्दिया, कैलाली र कञ्चनपुरमा उत्पादन वृद्धि भएको छ भने बाँकेमा उत्पादकत्व मात्र वृद्धि भएको छ । समयमै वर्षा भएको र उन्नत बिउको प्रयोगले उत्पादन वृद्धि भएको कृषि प्राविधिकहरूले बताएका छन् ।

बाँकेमा खेत कटान र धान स्याहार्ने बेलाको झरीले उत्पादन घटेको हो । नेपालगन्ज संवाददाताका अनुसार बाँकेमा गत वर्षको तुलनामा करिब १० प्रतिशत उत्पादनमा ह्रास आएको छ । गत वर्ष ३५ हजार ९ सय ७० हेक्टर क्षेत्रमा धान लगाइएकामा १ लाख ३ हजार मेटि्रकटन उत्पादन भएको थियो । यो वर्ष बाढीमा ४ हजार हेक्टर खेत डुबेपछि ९१ हजार ३ सय ४९ मेटि्रकटन मात्र धान उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । 'उत्पादकत्व वृद्धि भएको छ । खेती क्षेत्र घटेकाले उत्पादनमा भने ह्रास आएको हो,' बाली विकास अधिकृत सालिकराम गौतमले भने, 'उन्नत बीउ लगाएकाले उत्पादकत्व बढेको हो ।

दाङ संवाददाता दुर्गालाल केसी लेख्छन्- दाङमा यस वर्ष धानको उत्पादनमा १२ प्रतिशतले वृद्धि भएको छ । ३८ हजार ५ सय हेक्टरमा धान लगाइएकामा १ लाख ५३ हजार ९ सय ५१ मेटि्रकटन उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । जुन गत वर्ष खेती लगाइएको क्षेत्र र उत्पादन भन्दा अधिक हो । गत वर्ष ३७ हजार ५० हेक्टर क्षेत्रफलमा धान बाली लगाइएकामा १ लाख ३७ हजार ४ सय ५५ मेटि्रकटन उत्पादन भएको थियो । राम्रो वषर्ात, उन्नत जातका धान लगाइएको र रोग नलागेकाले उत्पादन बढेको कृषि कार्यालयका योजना अधिकृत तिलक केसीले बताए ।

गुलरिया संवाददाता कमल पन्थीका अनुसार बर्दियामा यस वर्ष धानको उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । ४५ हजार हेक्टर खेतमा धान लगाइएकामा १ लाख १० हजार मेटि्रकटन उत्पादन भएको योजना अधिकृत भानुभक्त भट्टराईले बताए । समयमै पानी परेको र मलखाद पनि पर्याप्त उपलब्ध भएकाले उत्पादनमा वृद्धि भएको उनको दाबी छ ।

टीकापुर संवाददाता गणेश चौधरीका अनुसार कैलालीमा यस वर्ष धान उत्पादन २५ प्रतिशतले वृद्धि भएको छ । प्रशस्त वषर्ा भएको र नोक्सानी पुर्‍याउने गरी बाढी नआएकाले धान उत्पादन बढेको कृषि अधिकृतले बताएका छन् । गत वर्ष प्रतिहेक्टरमा २५ क्विन्टल धान उत्पादन भएकामा यो वर्ष ३० क्विन्टल धान उत्पादन भएको

कृषि विकास कार्यालय कैलालीले जनाएको छ ।

यस वर्ष ७० हजार हेक्टर खेतमा २ लाख १० हजार मेटि्रकटन धान उत्पादन भएको जिल्ला कृषि योजना अधिकृत लोकराज उपाध्यायले

बताए । 'उन्नत जातका बीउ लगाउनाले पनि उत्पादन बढेको हो,' उनले भने । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन -एफएओ) को प्राविधिक सहयोगमा कैलालीमा ६ वटा कृषक पाठशाला सञ्चालन गरी सघनीकरण धान खेती प्राणालीबाट धान खेती सिकाइएको उपाध्यायले बताए ।

कञ्चनपुरमा गत वर्षभन्दा १३ हजार मेटि्रकटन बढी धान उत्पादन भएको छ । महेन्द्रनगर संवाददाता चित्रांग थापाका अनुसार गत वर्ष १ लाख २७ हजार मेटि्रकटन धान उत्पादन भएकामा यो वर्ष १ लाख ४० हजार मेटि्रकटन उत्पादन भएको हो । उत्पादकत्व पनि २ दशमलव ८ मेटि्रकटन प्रतिहेक्टरबाट वृद्धि भई ३ मेटि्रकटन पुगेको जिल्ला कृषि प्रसार अधिकृत भरत पोखरेलले बताए । 'समयमै राम्रो वर्षात् भयो । उन्नत बीउको प्रयोग र सिँचाइ क्षेत्र वृद्धिले पनि धान उत्पादन बढेको हो,' पोखरेलले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks