Loving nepal news

Thursday, December 30, 2010

'सुडानमा तैनाथ प्रहरी असुरक्षित'


सरोजराज अधिकारी

काठमाडौ, पुस १६ - प्रहरी महानिरीक्षक रमेश चन्दलगायत प्रहरी अधिकृतले अत्यावश्यक सामग्रीको अभावमा राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिसन सुडानमा तैनाथ प्रहरी अधिकृत तथा जवान नै असुरक्षित भएको बताएका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री भीम रावल, मुख्यसचिव माधव घिमिरे, गृह, अर्थ, परराष्ट्र सचिव, महालेखा नियन्त्रक, केही संसदीय समितिका सभापति तथा प्रतिनिधिलगायत ४० उच्च सरकारी अधिकृत सहभागी बुधबारको बैठकमा प्रहरीले तत्काल सामग्री पठाउन गुहार लगाएका हुन् ।

संसद्को राज्य व्यवस्था समितिले नौ महिनाअघि नै निर्देशन दिएअनुरूपका पाँचवटा एपीसी (आम्र्ड पर्सनल करियर), ६ वटा गाडी, ९६/९६ थान बुलेटप्रुफ ज्याकेट अझैसम्म सुडान नपुगेको भन्दै मंगलबार दस दिनभित्र सामग्री पठाउने प्रक्रिया थाल्न अन्तिम निर्देशन दिएको थियो । त्यसो नगरे अर्को बैठक बसी कठोर कदम चाल्ने बताएको थियो । प्रधानमन्त्री नेपालले बुधबार नै सरोकारवाला प्रायः सबैलाई राखेर समितिको अल्टिमेटमभित्र निर्देशन कार्यान्वयन गर्न कुन प्रक्रिया अपनाउन सकिन्छ भनेर बैठक गरेका थिए ।

प्रहरी महानिरीक्षक चन्द, अतिरिक्त महानिरीक्षक प्रकाश कुँवरलगायत अधिकृतले बैठकमा सुडानको स्थिति र तैनाथ प्रहरीबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरूले अत्यावश्यक सामग्री अभावमा मिसन फिर्ता हुने सम्भावनाका साथै तैनाथ प्रहरीकै जीवन असुरक्षित रहेको तथ्य प्रस्तुत गरेका थिए ।

एपीसीजस्तो बख्तरबन्द गाडी नहुँदा सुरक्षित गस्तीमा समस्या परेको, अन्य गाडी पनि थोत्रो भएकाले बाटैमा बिगि्रने हुँदा विद्रोही आक्रमणको खतरा भएको, बुलेटप्रुफ ज्याकेट र हेल्मेटजस्ता आधारभूत सुरक्षाका सामग्रीसमेत नभएकाले प्रहरीहरू असुरक्षित रहेको गुनासो प्रहरी अधिकृतहरूले गरेका

थिए । 'एपीसीलगायतका सामान पठाउन समय लाग्ने भए पनि बुलेटप्रुफ ज्याकेट, हेल्मेट, मिलिटरी भर्सनका गाडी पठाउन नसक्दा त्यहाँ तैनाथ प्रहरीकै जीवन जोखिममा छ,' एक उच्च प्रहरी अधिकृतले भने । प्रहरी अधिकृतहरूले राष्ट्रसंघलाई तत्काल पत्र लेखी समय नै तोकेर छिट्टै अत्यावश्यक सामग्री पठाउने प्रतिबद्धता जनाउन र ती सामग्री पठाउने प्रक्रिया सुरु गर्न सरकारलाई आग्रहसमेत गरेका थिए ।

अन्यथा राष्ट्रसंघले हाल 'बेकम्मा' अवस्थामा रहेको प्रहरी टोली नै फिर्ता गराउने भएकाले त्यसबाट प्रहरीका साथै मुलुककै बेइज्जत हुने प्रहरी अधिकृतले बताएका थिए ।

प्रतिवेदनमा सन् २०१० अक्टोबर १४ मा अतिरिक्त महानिरीक्षक रवीन्द्रप्रताप शाहले राष्ट्रसंघ मुख्यालयमा गरेको भ्रमण र गत डिसेम्बरको ९ देखि १४ सम्म अर्का अतिरिक्त महानिरीक्षक नरेश गुरुङले गरेको सुडान डार्फरको भ्रमण क्रममा नै राष्ट्रसंघीय अधिकारीले बेकम्मा रहेको एपीसीबारे प्रश्न उठाएको उल्लेख छ । दुवै भ्रमणमा उठेका विषयबारे गृह मन्त्रालयलाई जानकारी दिएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा सुडान डार्फरका लागि राष्ट्रसंघीय मिसन (युनामिड) अन्तर्गत नेपाल प्रहरी तैनाथ भएका क्षेत्रमा ठूल्ठूला हिंसाका घटना भएको तथ्य पनि प्रस्तुत गरिएको छ । आगामी जनवरी ९ देखि सुडानमा मुलुक टुक्रिने मुद्दामा हुन लागेको जनमतसंग्रहका क्रममा द्वन्द्व बढ्ने निश्चित भएकाले त्यहाँ तैनाथ प्रहरी झनै असुरक्षित रहेको प्रहरी अधिकृतको भनाइ छ । प्रहरी प्रतिवेदनमा सुरक्षा सामग्रीको राम्रो व्यवस्था भएका मुलुकका टोलीमाथिको आक्रमणमा नै ठूलो धनजनको क्षति भएको उल्लेख छ ।

प्रतिवेदनमा सन् २००८ जनवरीमा मिसन परिचालन भएयता २२ जना युनामिडका प्रहरी अधिकृत र सैनिकलाई एम्बुस र कार अपहरणका घटनामा पारी हत्या गरिएको विवरण छ । साथै, २००९ जुन २९ मा एम्बुसमा परी युनामिडका फम्र्ड पुलिस युनिटका कमान्डर गम्भीर घाइते भएको जनाइएको छ ।

सामग्रीतर्फ सुडान पुर्‍याइएका ८ मध्ये ८ वटै एपीसी, इन्धन र पानी बोक्ने ३/३ वटा गाडी, २ वटा पानी शुद्धीकरण प्लान्ट कामै नलाग्ने अवस्थामा रहेको जनाइएको छ । पूर्वसम्झौतापत्र (एमओयु) मा उल्लेख भएबमोजिमका सैनिक प्रयोजनका ६ गाडी मिसनस्थलमा नपुगेको उल्लेख छ ।

हत्याका शृंखला

२००८ जुलाई ८ : सात शान्ति रक्षकको मृत्यु ।

२००८ जुलाई १६ : एक युनामिड अधिकृतको हत्या ।

२००८ अगस्ट ३१ : एक शान्ति रक्षकको मृत्यु ।

२००८ अक्टोबर ६ : एक शान्ति रक्षकको मृत्यु ।

२००८ अक्टुबर ८ : एक शान्ति रक्षकको मृत्यु ।

२००८ डिसेम्बर २७ : एक युनामिड अधिकृतको हत्या ।

२००८ डिसेम्बर २९ : एक प्रहरीको हत्या ।

२००९ मार्च १७ :एक शान्ति रक्षकको हत्या ।

२००९ मे ७ : एक युनामिड कर्मचारीको हत्या ।

२०१० जनवरी १० : पाँच शान्ति सैनिकको हत्या ।

कार अपहरण

२००६ मा : ११६ वटा ।

२००७ मा : १५८ वटा ।

२००८ मा : २७४ वटा ।

२००९ मा : १२५् वटा ।

अन्य

२००८ देखि ०९ सम्म : एम्बुस, अपहरण, बन्धक, बमवारी, आक्रमणलगायतका १९ घटना । घाइते तथा प्रभावितको संख्या करिब ५० ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks