Loving nepal news

Tuesday, December 7, 2010

देउवाले भेला डाक्ने भएपछि कोइराला आक्रोशित


कुलचन्द्र न्यौपाने

काठमाडौ, मंसिर २२ - कांग्रेस सभापति सुशील कोइरालाले पदाधिकारी मनोनयन प्रस्तावमा सहमति जुटाउन केन्द्रीय सदस्यहरूसँग परामर्श गरिरहेका बेला नेता शेरबहादुर देउवाद्वारा बिहीबार बोलाइएको भेलालाई लिएर आक्रोश व्यक्त गरेका छन् ।

नवलपरासीमा रहेका देउवालाई मंगलबार बिहानै टेलिफोन गरी कोइरालाले भेलाको प्रयोजनबारे जानकारी माग्नुको साथै स्थगित गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार पार्टीलाई एकढिक्का बनाएर लैजान खोजिरहेका बेला देउवाले 'ग्रुपिजम' खडा गर्न खोजेको भन्दै कोइरालाले आक्रोश व्यक्त गरेका थिए ।

देउवाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनीत गर्ने सभापतिको प्रस्तावलाई लिएर बिहीबार आफू पक्षीय केन्द्रीय सदस्य र सभासदको भेला बूढानीलकण्ठस्थित पार्क भिलेजमा बोलाएका छन् । टेलिफोनमा देउवाले कोइरालालाई भेलाबारे जानकारी नभएको बताए । तर देउवा पक्षीय एक नेताले भेलाको तयारी उनकै उपस्थितिमा भएको जनाएका छन् । 'भेला आयोजना हुँदैछ भनेको सुनेपछि मैले देउवाजीलाइ फोन गरे, उहाँले आफूलाई थाहा नभएको बताउनुभयो,' कोइरालाले भने, 'कसको इसारामा भेला हुन गइरहेको छ ? त्यसलाई तुरुन्त रोक्नुपर्छ ।'

बिहान ब्रेकफास्ट र लन्चको व्यवस्थासहित बोलाइएको भेलाले कोइरालालाई पदाधिकारी मनोनयन प्रस्तावप्रति पुनर्विचार गर्न र पार्टीका अन्य विभाग र समितिमा एकलौटी गर्न नदिन दबाब सिर्जना गर्ने उद्देश्य राखेको देउवा निकट स्रोतको दाबी छ । तर कोइरालाले आफू कसैको दबाबमा काम नगर्ने बताए । 'म कार्यकर्ताको म्यान्डेटअनुसार गर्छु, कसैको दबाबमा काम गर्दिनँ,' कान्तिपुरसँग कोइरालाले भने, 'सहमति जुटाउने प्रयास भइरहेको बेला यस्ता भेलाले पार्टी हित गर्दैन । पार्टीलाई बचाउने दिशामा लाग्न म सबैसँग आग्रह गर्छु ।'

देउवा पक्षले भेला नभएर भेटघाट आयोजना मात्रै गरिएको दाबी गरेको छ । 'यसलाई भेलाभन्दा पनि पदाधिकारी मनोनयन प्रस्तावमा सभापति कोइरालाले गरिरहेको परामर्श र भावी रणनीतिका बारेमा भइरहेका पछिल्लो जानकारीबारे छलफल गर्न भेटघाट आयोजना गरिएको हो,' देउवा निकट एक केन्द्रीय सदस्यले भने, 'यसमा देउवा पक्षीय केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य र सभासद जम्मा हुनेछन् ।' देउवा पक्षीय केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, भेलाको तयारीबारेमा अनभिज्ञता जनाए ।

देउवापक्षले सभापतिले मनोनयन गर्न पाउने २० केन्द्रीय सदस्य, संसदीय समिति, कार्यसम्पादन समिति र पार्टीका विभागमा प्याकेज सहमति जुटाउन दबाब दिँदै आएको छ । त्यसो गर्न सभापति तयार नदेखिएमा प्रस्तावित पदाधिकारी मनोनयन प्रस्ताव असफल बनाउने यो पक्षको रणनीति छ । जसका लागि कोइराला समूहबाट असन्तुष्टि व्यक्त गर्दै प्रस्तावको विपक्षमा उभिएका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केबी गुरुङ, सुजाता कोइराला र गगन थापालाई आफ्नो पक्षमा राखिराख्ने योजना देउवाको रहेको स्रोतको दाबी छ । 'परामर्शका क्रममा पनि कोइरालाले प्याकेजमा सहमतिका लागि तयार नदेखिएपछि भेलामार्फत दबाब दिन खोजिएको हो,' स्रोतले भन्यो, 'पदाधिकारी मनोनयनमा दलदलमा कोइराला फसिसक्नु भएको छ । अब प्रस्तावको पक्षमा सहमति जुटाउने हो भने सबैमा प्याकेज सहमति निकाल्नुपर्छ । नत्र प्रस्ताव पारित हुन सक्दैन ।' आइतबार कोइरालासँगको भेटमा समेत देउवाले प्याकेज सहमतिमा जोड दिएका थिए ।

यता कोइराला पक्षीय नेताहरूले प्रस्तावलाई लिएर पार्टीभित्र विवाद बढ्ने अवस्था आएपछि केही अवधिका लागि पदाधिकारी मनोनयन प्रस्ताव प्रक्रियामा नलैजान सुझाव दिएका छन । केन्द्रीय सदस्य रामशरण महतले पनि आन्तरिक वादविवादलाई पन्छाएर पार्टीको ध्यान राष्ट्रिय मुद्दामा प्रवेश हुनुपर्ने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks