ऋषिराम पौड्याल
(जलबिरे) सिन्धुपाल्चोक, मंसिर १९ - नेपाल- भारत संयुक्त लगानीमा बन्न लागेको ५० मेगावाटको बलेफी विद्युत् आयोजना असुरक्षा र स्थानीय समस्याले अन्योलमा परेको छ ।
प्रवेश मार्गका लागि १५ करोड रुपैयाँ खर्च गरिसकेको आयोजना स्थानीय विवादकै कारण आयोजनाको संरचना निर्माण अन्योलमा परेको
हो । डेढ वर्षअघि नै आयोजना सुरु गर्ने लक्ष्यअनुरूप निर्माणमा जुटेका लगानीकर्ताहरू अहिले निरुत्साहित भएका छन् ।
आयोजनाको मुख्य काम कहिले सुरु हुन्छ उनीहरूलाई पत्तो छैन । 'आयोजना कहिले सुरु हुन्छ भन्न सकिँदैन,' साइट इन्चार्ज बद्री रिजालले भने, 'स्थानीयका कतिपय मागहरू पूरा गर्न नसकिने खालका छन् ।' स्थानीय राजनीतिक दलको सहमतिमा उपभोक्ता समिति बनाएर निर्माण सुरु गरिएको २२ किमि प्रवेश मार्ग अझै पूरा भएको छैन ।
स्थानीय निर्माण व्यवसायी जयबहादुर लामा सडक निर्माणको काम आफूहरूले नपाए आयोजना सञ्चालन कठिन हुने बताउँछन् । 'स्थानीयले गर्न सक्ने काम अन्यलाई दिन हुँदैन,' उनले भने, 'आयोजना फर्काउने नियत होइन ।' दलहरूले गरेको निर्णयलाई अस्वीकार गर्दै आफूखुसी बनेका दबाब समूहले काममा असर पार्ने गरेका छन् ।
आयोजना नेपालको त्रिवेणी समूह र भारतको भैल्वारा कम्पनीको संयुक्त लगानीमा निर्माण हुन लागेको हो । प्रवेशमार्गमा मात्र उसले २० करोड रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको छ ।
राजनीतिक दलहरूबीचको असमझदारी, संघसंस्थालाई चन्दा र 'मुन्द्रे' समूहलाई पैसा दिन नसक्दा आफूहरू झमेलाबाट मुक्त हुन नसकेको गुनासो लगानीकर्ताको छ । कर्मचारीमाथि हातपात प्रयास, आयोजनाको साइट कार्यालय तोडफोड, रोजगारी र आर्थिक सहयोग मुख्य समस्याको रूपमा देखिएको छ । 'यो क्षेत्रमा राज्यको उपस्थिति नै देखिन्न,' आयोजनाका जनसम्पर्क अधिकृत भरत आचार्यले भने, 'अहिले पनि मोटरेबल पुल कुन स्थानमा बनाउने भन्ने विवादले काममा बाधा पुगेको छ । पुल निर्माण सरोकार समितिका अध्यक्ष अक्कलबहादुर लामाका अनुसार आयोजनाले प्रभावित बासिन्दाभन्दा माथिल्ल्ाो तहका नेता र प्रशासकसँगको निर्देशनमा काम गरेकाले समस्या आएको हो । 'खेतबारी जाने गाउँलेको निर्णय गर्ने माथिका मान्छे, यो स्वीकार्य छैन,' उनले भने । प्रवेशमार्गले स्थानीयलाई सुविधा पुग्ने र आयोजना निर्माणमा टेवा पुग्ने भन्दै ०६५ मा निर्माण सुरु गरिएको थियो ।
प्राधिकरणले गत कात्तिकमा विद्युत् खरिद सम्झौता (पीपीए) समेत गरिसकेको छ । उत्पादित विद्युत् भारत निकासी गर्ने विषयमा ट्रान्समिसन लाइनको समस्याले पीपीए हुन सकेको थिएन । प्राधिकरणले ढल्केवर-मुज्जफपुरमा ४ सय केभी प्रसारण लाइन
निर्माण नहुन्जेलसम्मका लागि खरिद सम्झौता गरेको हो । प्राधिकरणले छोटो अवधिका लागि ४ रुपैयाँ २७ पैसामा खरिद सम्झौता गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks