Loving nepal news

Monday, December 20, 2010

बजेटले राजस्व असुली बढायो


कान्तिपुर संवाददाता

काठमाडौ, पुस ६ - बजेटले दरमा हेरफेर गरेपछि राजस्व असुली बढ्न थालेको छ । कात्तिकको अन्तसम्म राजस्व वृद्धिदर ९ दशमलव ८ प्रतिशत रहेकामा मंसिरसम्म ११ दशमलव १ प्रतिशत पुगेको छ ।

चालू वर्षको पाँच महिनामा गत वर्षको सोही अवधिभन्दा ६ अर्ब ५० करोड रुपैयाँ राजस्व बढी असुली भएको छ । गत वर्ष ५८ अर्ब ६० करोड रुपैयाँ असुली भएको थियो । चालू वर्ष ६५ अर्ब १० करोड रुपैयाँ असुली भएको छ । तैपनि २ खर्ब १६ अर्ब ६५ करोड रुपैयाँको लक्ष्य चुनौतीपूर्ण मानिएको छ ।

बजेट ढिलो हुँदा अपेक्षा गरेभन्दा करिब ६ अर्ब रुपैयाँ राजस्व असुली कमी आएको अर्थ मन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटाले जनाए । 'बजेटपछि देखिएको वृद्धिले लक्ष्य पूरा हुने छाँटकाँट देखिएको छ,' उनले भने, 'पुस महिनामा २ अर्ब रुपैयाँभन्दा बढी राजस्व असुली गरी बाँकी ४ अर्ब रुपैयाँ ६ महिनामा पूर्ति हुने विश्वास छ ।' पुस महिनामा २५ अर्ब ५ करोड रुपैयाँ असुली हुने अनुमान गरिएको उनले जनाए ।

पुँजीगत खर्च बढ्ने भएकाले असुली बढ्नेछ । बजेटको परिवर्तित व्यवस्थापछि प्रतीतपत्र खुलेका सामान पुसदेखि भित्रिन थाल्ने भएकाले राजस्व बढ्ने अनुमान गरिएको छ । सवारी साधनमा अधिकतम बिक्री मूल्य सार्वजनिक गर्नुपर्ने प्रावधानको कारण सवारी साधनमा चुहावट नियन्त्रण हुने अनुमान छ । यसबाहेक गैरकरमा घटेको असुली पनि पुसमा पूर्ति हुने सचिवले जनाए । गैरकर २ अर्ब ८४ करोड रुपैयाँ मात्र असुली भएको छ । गत वर्ष ६ अर्ब ११ करोड रुपैयाँ असुली भएको थियो ।

घरजग्गा कारोबारमा देखिएको मन्दीका कारण रजिस्ट्रेसन दस्तुरमा उल्लेख्य कमी आएको छ । गत अव २ अर्ब २१ करोड रुपैयाँ असुली भएकोमा चालू वर्ष १ अर्ब २५ करोड रुपैयाँ मात्र उठेको छ । राजस्व चुहावट नियन्त्रण, भन्सार मूल्यांकनका साथै बिलविजक जारी नगर्ने प्रवृत्ति राजस्व असुली चुनौतीका रूपमा रहेको मन्त्रालयले ठहर गरेको छ ।

कर कार्यान्वयन अभियान वर्ष घोषणा गरिएको चालू वर्षमा पेसाकर्मीलाई राजस्वको दायरामा ल्याउन थप प्रयास गरिने उनले जनाए । घरबहाल कर असुलीमा कडाइ गरिने योजना छ । 'कम्तीमा साइनबोर्ड राखेर कार्यालय सञ्चालन भइरहेको ठाउँलाई घरबहाल करको दायरामा ल्याइने छ,' उनले भने । यसका लागि स्वयम्सेवी परिचालन गरिन लागेको छ । स्टिकरमा थप कडाइ गरिन लागेकाले अन्तःशुल्क चुहावट घटेर असुली वृद्धि हुने बाँस्कोटाले जनाए ।

मूल्य अभिवृद्धि कर २६ अर्ब १६ करोड रुपैयाँ उठेको छ । गत वर्ष २० अर्ब २० करोड असुली भएको थियो । भन्सार महसुल १४ अर्ब २ करोड असुली भएको छ । गत आव १३ अर्ब २४ करोड असुली भएको थियो । अन्तःशुल्क १० अर्ब ८५ करोड असुली भयो । गत आव ८ अर्ब ९३ करोड असुली भएको छ ।



प्रकाशित मिति: २०६७ पुस ६ ०९:०१

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks