Loving nepal news

Wednesday, December 29, 2010

दुर्गममा शिक्षक अभाव

भीमबहादुर सिंह

जाजरकोट, पुस १४ - विद्यालय भवन जीर्ण छ । कक्षा कोठामा फर्निचर अभाव छ । कक्षा कोठामा भने विद्यार्थी खचाखच भरिएका छन् ।यो दयनीय अवस्था हो, सदरमुकामबाट २० कोस पूर्व पञ्च भैंयार मावि जिकुवा, खगेनकोटको । १० कक्षासम्म पढाइ हुने यस विद्यालयमा कक्षा कोठा र फर्निचरसँगै शिक्षकको पनि अभाव छ । यहाँ प्राथमिक तहका शिक्षकको भरमा मावि सञ्चालन हुँदै आएको छ । ३० वर्षअघि स्थापना गरिएको विद्यालयको १० कोठे भवन जीर्ण छ । एउटा कक्षा कोठामा १५ जनाभन्दा बढी विद्यार्थी अटाउने अवस्था छैन । साँघुरो कोठाको समस्या त्यसमा पनि फर्निचर नहुँदा विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य छन् । यहाँ ५ सयभन्दा बढी छात्रछात्रा नियमित विद्यालय आउँछन् । २ सय छात्रा र ३ सय छात्र छन् । चार घन्टाको दूरीसम्म अरू विद्यालय नभएकाले विद्यार्थीको चाप बढेको हो ।

अभिभावकहरू निजी शिक्षकलाई तलब खुवाउँदै हैरान छन् । घरघरबाट चन्दा उठाएर तलबको व्यवस्था गरिएको छ । निजी स्रोतमा राखिएका ३ शिक्षकले एक वर्षखेखि तलब खान नपाएको बताए । उनीहरूको तलब भने मासिक ५ हजारभन्दा बढी नभएको प्रअ सरोजप्रसाद चौरसिया बताउँछन् ।

यहाँ ३ प्राथमिक, १ एसटीआर, १ पीसीएफ र २ निमावि राहत दरबन्दीका शिक्षक कार्यरत छन् । अन्य विकल्प नहुँदा प्राविका स्थायी शिक्षक चौरसियाले प्रअ चलाएका हुन् । भौतिक पूर्वाधारका लागि विभिन्न निकायमा बारम्बार माग गरे पनि कसैले वास्ता नगरेको गुनासो व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर खत्रीले बताए ।

विद्यालय सुधार कार्यक्रमअन्तर्गत करोडौं रकम जिल्ला शिक्षा कार्यलयले खर्च गरे पनि यसतर्फ कसैको ध्यान नपुग्नु विडम्बना भएको अनुगमनको क्रममा गत साता उक्त विद्यालय पुगेका स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमले बताए । विद्यालयको शैक्षिक तथा भौतिक अवस्था देख्दा आश्चर्यचकित भएको उनको प्रतिक्रिया थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks