
अमन कोइराला
सर्लाही, पुस १० - सीमावर्ती भारतीय बजारमा गोलभेंडाको भाउ अकासिए पनि यहाँ कुनै प्रभाव छैन । यहाँको बजारमा शुक्रबार औषत २५ रुपैयाँ किलो गोलभेंडा खरिद बिक्री भइरहेको छ । गत वर्षको तुलनमा यो मूल्य पनि चार गुणा बढी हो ।
भारतका ठूला सहरमा गोलभेंडाको मूल्य वृद्धिले रेकर्ड कायम गरेको छ । प्रतिकिलो ५० रुपैयाँ (८० नेपाली रुपैयाँ) मा गोलभेंडाको बिक्री भइरहेको छ । भारतीय सञ्चारमाध्यममा प्याजपछि गोलभेंडाको मूल्य वृद्धिले समाचारको स्थान ओगटेको छ ।
यहाँ उत्पादित गोलभेंडा भारतसँग सीमा जोडिएका वीरगन्ज, विराटनगर, भैरहवासम्म पुग्छ । तर भारतमा भएको मूल्य वृद्धिबारे किसान मात्र होइन व्यापारीसमेत अनभिज्ञ छन् । व्यापारीले परम्परागत रूपमा लैजान स्वदेशी सहरमा मात्र गोलभेंडा पुर्याइरहेका छन् ।
दस वर्षदेखि गोलभेंडाको थोक व्यापार गर्दै आएका शम्भु चौधरीले अहिलेसम्म भारतका कुनै सहरमा गोलभेंडा बिक्री नगरेको बताए । 'त्यताका बजारमा हाम्रो पहुँच छैन,' उनले भने, 'लैजान पाइन्छ कि पाइँदैन भन्ने पनि थाहा छैन, उताको भाउ पनि
थाहा हुँदैन ।' उनले भारतीय बजारमा बेच्न सके व्यापारीलाई मात्र नभएर किसानलाई पनि फाइदा हुने बताए ।
गत वर्षको तुलनामा अहिले राम्राे भाउ पाएका किसान भारतीय बजारमा भएको मूल्य वृद्धिसँग बेखबर छन् । गोलभेंडा किसान गणेश विश्वकर्मा पोहोरभन्दा चार गुणा बढी मूल्य पाएकाले त्यसमै किसानहरू दंग परेको बताउँछन् । 'पोहोर ३ रुपैयाँ किलोमा बेच्न समस्या थियो,' उनले भने, 'अहिले न्यूनतम २० रुपैयाँ किलोमा हातहातै बिक्री भइरहेको छ, यसैमा खुसी छौं ।'
पुस पहिलो साता बितिसक्दा पनि मौसम सफा भएकाले गोलभेंडाको उत्पादन राम्राे छ । शीतलहर चल्दा दैनिक छिट्नुपर्ने कीटनाशक औषधिमा खर्च गर्नुपरेको छैन । गोलभेंडा बेचेर अहिले भइरहेको आम्दानी चोखो भएको किसानको भनाइ छ । त्यसमाथि सडक जाम हुन छाडेकाले गोलभेंडा ढुवानीका लागि पनि वातावरण अनुकूल छ ।
इटहरी र विराटनगरमा गोलभेंडा बिक्री गर्ने व्यापारी जानुका पौडेल पनि भारतीय बजारमा भएको मूल्य वृद्धि थाहा नभएको बताउँछिन् । उनी पनि भारतीय व्यापारीसँग सम्पर्क नभएकाले कसरी लैजाने भन्ने अन्योलमा छिन् । नजिकै भारतको सिलगुढीका व्यापारीसँग सम्पर्क गरेर उताको बजारमा पुर्याउन प्रयास गर्ने उनले
बताइन् । 'उता लैजाँदा बढी अाम्दानी हुने भए कोसिस गरिहाल्छु,' उनले भनिन् ।
यहाँ किनेको गोलभेंडा स्वदेशी सहरमा लैजाँदा प्रतिकिलो ५ रुपैयाँ नाफा हुन्छ । नियमित लगिरहने सहरमा बिक्री गर्ने व्यापारी सीमित छन् । स्वदेशी सहरमा बिक्री गर्दा पनि राम्रै मुनाफा भइरहेकाले भारतमा बेच्ने सम्बन्धमा व्यापारीले सोच्न भ्याइरहेका छैनन् ।
किसान र व्यापारी दुवैलाई बढी आम्दानी हुने भएकाले गोलभेंडा भारतमा लैजान अनुकूल वातावरण सरकारले मिलाइदिए काम गर्न सकिने चौधरीले बताए । 'हामीलाई बाटो देखाइदिए गर्न सक्छौं,' चौधरीले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks