Loving nepal news

Monday, December 13, 2010

'पारशलाई १६ वर्षसम्म कैद हुन सक्छ'


घनश्याम खड्का

काठमाडौं, मंसिर २८ - गोली चलाएकामा पारस शाहलाई कर्तव्य ज्यान मुद्दा लाग्न सक्ने र अभियोग प्रमाणित भए १६ वर्षसम्म जेल सजाय हुने कानुनविद्हरूले बताएका छन् । उनीमाथि हातहतियार तथा खरखजाना ऐन र सार्वजनिक अपराध ऐनअनुसार समेत कारबाही गर्न सकिने उनीहरूले जनाएका छन् ।

'सबभन्दा पहिले उनीमाथि कर्तव्य ज्यान उद्योगमा कारबाही गर्नुपर्छ,' अधिवक्ता श्रीकृष्ण सुवेदीले भने, 'किनभने उनले ज्यानै मार्ने उद्देश्यले गोली चलाएको देखिन्छ ।'

उनका अनुसार हत्याको मनसाय भएमा, मनसायअनुसार तयारी गरेमा र आक्रमण गरेमा कर्तव्य ज्यानको मुद्दा लाग्छ । 'यस्तोमा ज्यान नगए पनि कानुनले अपराधको गम्भीरता कम मानेको छैन,' उनले भने, 'पारसले आफ्नो सत्ता जानुमा कोइराला परिवारको हात भएको भन्दै रिसइबी देखाएको, हतियार बोक्ने गरेको र सुजाताका ज्वाइँ-छोरीलाई भेट्नेबित्तिकै विवाद गरी हतियार चलाएको देखिन्छ ।' पारसलाई अधिकतम १६ वर्षसम्म कैद गर्न सकिने कानुनी आधार भएको सुवेदीले बताए ।

मुलुकी ऐन ज्यानसम्बन्धी महलमा 'ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरे कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने पनि त्यस्तो काम गर्ने र गर्न लगाउने तथा त्यस ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ' भन्ने उल्लेख छ । युवराज छँदा पनि पटक-पटक गोली चलाउने गरेका पारसलाई कारबाही गर्न ऐनको यो व्यवस्था नै काफी हुने अर्का अधिवक्ता बाबुराम दाहालले बताए ।

'यसबाहेक पारसलाई सार्वजनिक अपराध ऐनअन्तर्गत पनि मुद्दा चलाएर कारबाही गर्न सकिन्छ, उनीसँग हतियार बोक्ने अनुमतिपत्र छैन भने हातहतियार तथा खरखजाना ऐन पनि लाग्छ,' उनले भने, 'यसका लागि पारस आफैंले अपराध स्वीकार गरिसकेकाले पीडितले जाहेरी पनि दिइरहनु पर्दैन ।'

'रिस उठेकाले गोली चलाएको' पारसको प्रस्टीकरण नै उनलाई पक्रन पर्याप्त भएको दाहालले बताए । 'रिस उठ्दैमा अर्कालाई गोली हान्न पाइन्छ ?' उनले भने, 'प्रहरीले पारसलाई हतकडी लगाएर कठघरामा उभ्याउनुपर्छ ।'

हातहतियार तथा खरखजाना ऐनमा अनुमतिपत्र नभई हतियार राख्न नहुने उल्लेख छ । राखे 'बिनावारेन्ट गिरफ्तार गर्न र निजले साथमा लिएको हातहतियार कब्जासमेत गर्न सक्ने' ऐनमा व्यवस्था छ । कसुर प्रमाणित भए ३ देखि ७ वर्षसम्म कैद वा साठी हजारदेखि एक लाख चालीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।

कानुनविद्हरूका अनुसार पारस सार्वजनिक अपराध ऐनका दृष्टिमा दोषी छन् । उक्त ऐनले कसैमाथि हतियार प्रदर्शन गर्न नपाइने र कसैलाई धम्की, डर र त्रास पनि दिन नहुने व्यवस्था गरेको छ । त्यसको उल्लंघन गर्नेलाई प्रहरीले 'बिनावारेन्ट पक्राउ गर्न सक्नेछ ।' यो ऐनअनुसार चाहिँ पारसलाई 'बढीमा दुई वर्षसम्म कैद' हुन सक्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks