ईश्वरी न्यौपाने
पोखरा, मंसिर १७ - बजेटमार्फत कर बढाइएकाले बजारमा गाडीको भाउ वृद्धि भए पनि यहाँ सञ्चालित पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेलामा भने पुरानै मूल्यमा ग्राहकले खरिद गर्न पाएका छन् । मौकाको फाइदा उठाउँदै मेलामा साढे ३ करोडका गाडी बिक्री भएका छन् ।
बिक्रेताहरूले मेला अवधिभर स्टलबाट खरिद गर्नेलाई पुरानो मूल्यमै छुटसमेत दिएका छन् । बिक्रेताहरूको यो निर्णयले गाडीअनुसार ७५ हजारदेखि ५ लाख रुपैयाँसम्मको सहुलियत पाएका छन् ।
पोखराका बिक्री कक्षहरूमा नयाँ मूल्य कायम गरिसकेका बिक्रेताले मेलाको स्टलमा भने पुरानै दर राखेका छन् । सरकारले बजेटमार्फत अन्तःशुल्कमा १० र सडक दस्तुर २ प्रतिशत बढाएपछि गाडीमा क्रमशः ६० र ५ प्रतिशत कर पुगेको छ । यसले मोटरहरूमा ५० देखि ४ लाख रुपैयाँसम्म मूल्य बढेको छ । मेलाको अवसरमा यहाँका उपभोक्तालाई सुविधा दिन मूल्य नबढाई बिक्री गरिएको पश्चिमाञ्चल अटो मोबाइल्स डिलर एसोसिएसनका अध्यक्ष शम्भुलाल श्रेष्ठले बताए । 'गत वर्ष बजेट भाषणको भोलिपल्टै बढ्थ्यो, अहिले मेलाले पोखरेली उपभोक्ताले सहुलियत पाइरहेका छन्,' उनले भने ।
पुरानो मूल्यमा पनि बिक्रेताले मेलाको अवसरमा विभिन्न छुटका योजना ल्याएका छन् । १ लाख रुपैयाँ छुटदेखि गाडी किन्दा स्कुटर उपहारससमेत राखिएको छ । दाइहत्सुको ज्योति गाडी किन्दा अन्नालाइफ स्कुटर तथा नाजा र युएफओ गाडीमा प्लेजर स्कुटर सित्तैमा दिने योजना मेलामा छ । 'स्कुटर उपहार मेलामा मात्र हो, यहीँंको बिक्री कक्षमा गए पनि यो उपहार पाइँदैन,' एवन मल्टिनेसनलका सञ्चालकसमेत रहेका श्रेष्ठले कान्तिपुरसँग भने ।
९ गतेदेखि सञ्चालित उक्त मेलामा १७ ब्रान्डका गाडीका स्टल छन् । मेलामा राखिएका २ सय ७३ मध्ये ५० वटा स्टल मोटरका मात्र छन् । मेलामा अटो मोबाइल्सले सबैभन्दा धेरै स्टल लिएका छन् । मेला १९ गतेसम्म चल्नेछ ।
मेलामा होन्डाको सोनाटामा १ लाख २५ हजार, टाटाको सफारी जिप र ग्य्रान्ड म्याक, टोयटाको कोरोला कार, हाइलक्स र डच फार बतास अर्गनाइजेसनको चेरी टिग्गो, मारुती सुजुकी इको, जेन एसटिलोमा एक/एक लाख, होन्डाकै आई १० मा ४० हजार र एक वर्षको बिमा, इन्डिगो मान्जामा २५ हजार रुपैयाँ छुट दिइएको छ । 'यो सहुलियत मेलामा आएर बुक गर्ने वा किन्नेका लागि मात्र हो,' बतास अर्गनाइजेसनका विनोद पौडेलले भने ।
मेलाको स्टलबाट गाडीको मात्र साढे ३ करोड रुपैयाँको कारोबार भएको छ । ए वन मल्टिनेसनलबाट यएफओ १, गण्डकी ट्रेड हाउसबाट टेरिस २, विश्वकर्मा अटोमार्टबाट प्यारोडोवा १, ए एन्ड डी अटो हाउसबाट स्पोटेज १, प्रजिओ १, दुगडको ट्रयाक्टर ४, लक्ष्मी/जोंन्छे ट्रेडर्सबाट आई १० कार र न्यु हल्यान्ड ट्रयाक्टर एक बिक्री भएको अटो मोबाइल्स एसोसिएसनले जनाएको छ ।
यहाँ अटोसम्बन्धी कारोबार गर्ने १ सय ४० र्फम छन् । यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार १२ हजारभन्दा बढी साना गाडी यहाँ छन् । पोखरामा मासिक १० करोड रुपैयाँको गाडी बिक्री हुने एसोसिएसनको तथ्यांक छ । 'मानिसले गाडीलाई आधारभूत आवश्यकतामा राख्न थालिसकेको तथा पोखरामा सार्वजनिक सवारी भरपर्दो नभएकाले गाडीप्रति आकर्षण बढेको हो,' बतास अर्गनाइजेसनका
शान्त बतासले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks