Loving nepal news

Saturday, December 18, 2010

एमालेमा तीनै नेताको 'फेस सेभिङ'


दुर्गा खनाल

काठमाडौ, पुस ४ - एमालेभित्र तीन नेताहरू अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीबीच व्यक्तित्वको टकराव निकै अघिदेखि छ । एजेन्डागत रूपमा नेपाल र ओली एउटै कित्तामा देखिए पनि उनीहरूबीच पनि भिन्नता छन् । व्यक्तित्व टकरावकै कारण उनीहरू पार्टीका हरेक निर्णयमा आ-आफ्नो अस्तित्व जोगाउने प्रयत्नमा हुन्छन् । बिहीबारको सातबुँदे निर्णयमा पनि तीन नेताको 'अस्तित्व रक्षा' रणनीतिले काम गरेको छ । भलै यो निर्णयले पाँच महिनादेखि अन्योलमा रहेको सरकार निर्माणको प्रक्रियालाई भने टुंगोमा पुर्‍याउने आधार खडा गरेको छ ।

प्रमुख रूपमा रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिए उनको विपक्षमा उभिने, माओवादीको विशेष अधिवेशन असफल गराउने र भावी सरकार निर्माणका लागि सबै विकल्प अपनाउने निर्णयमा तीन नेताले आफ्नो 'फेस सेभिङ' को प्रयत्न गरेका हुन् ।

अध्यक्ष झलनाथ खनाल राष्ट्रिय सहमतिबाहेक अन्य सरकारमा जानै नहुने अडानमा थिए । तर उनले भनेअनुसारको राष्ट्रिय सहमति पाँच महिनासम्म नभएपछि घुमाउरो ढंगमा त्यो अडानबाट पछाडि हट्न चाहन्थे । 'पौडेलको विपक्ष' मा पनि जाने भन्ने निर्णय गरेर उनले त्यहाँ आफ्नो 'फेस सेभ' गरेका छन् ।

पछिल्लो समय नेपाल संसद्को नियमित अधिवेशन तयारी गरिरहेका बेला माओवादीले विशेष अधिवेशन बोलाएकोमा रुष्ट थिए । संसद् अधिवेशन अन्त्यपछि पौडेलको उम्मेदवारी समाप्त भएको र नयाँ प्रक्रियाका लागि संसद् नियमावली संशोधन अवश्य रहेको भन्दै माओवादीले विशेष अधिवेशन बोलाएको हो । यो कार्यसूची एमालेको संस्थापन पक्षले राख्दै आएको धारणासँग मिल्थ्यो । तर उनी कुनै पनि हालतमा विशेष अधिवेशनलाई सहयोग पुग्ने खालको धारणा र प्रयास पार्टीर्भित्रका नेताहरूबाट नहोस् भन्ने चाहन्थे । त्यसका लागि जसरी भए पनि माओवादीको विशेष अधिवेशन असफल पार्ने निर्णय गराउने उनको मनसाय थियो । विशेष अधिवेशन असफल बनाउने निर्णय गराएर माधव नेपालले आफ्नो 'फेस सेभ' को प्रयास गरेका छन् ।

अर्का नेता केपी ओली सुरुदेखि नै राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने भन्दै बहुमतीय प्रक्रियाबाट भए पनि सरकारविहीनताको अन्त्य गर्नुपर्ने भनाइ राख्दै आएका थिए । 'बहुमत सरकार' निर्माणका विकल्प खुल्ला गराउने सुरुदेखिको आफ्नो एजेन्डा पारित गराएर आफ्नो फेस सेभ गरेका छन् । एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली जुनसुकै पार्टीमा पनि आन्तरिक समीकरणको प्रभाव पर्ने बताए । 'सहमतिबाहेक अन्य विकल्प हँुदै हँुदैन भन्ने अडान पनि सधैं राखिरहन सम्भव थिएन,' उनले भने, 'तर अहिलै प्रक्रियालाई समर्थन गर्न पनि ठीक थिएन ।'

'एकै पटक कांग्रेस र माओवादीका विपक्षमा उभिने निर्णय गरेर पार्टी कसैको पनि पिछलग्गु हुन हुँदैन भन्ने मान्यता पनि सम्बोधन भएको छ,' केन्द्रीय सदस्य घनश्याम भुसालले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks