Loving nepal news

Saturday, December 25, 2010

कुन बन्ला मिस हात्ती ?



सौराहा (चितवन), पुस ११ - सुन्दरीहरू भवानीकली, वसन्तीकली, चम्पाकली, चञ्चलकली, धीरेन्द्रकली र

रूपकली शनिबार बिहानैदेखि राप्तीमा नुहाउन व्यस्त थिए । उनीहरूले हरेक अंग मिचिमिची निकै सफा हुने गरी नुहाए । त्यसपछि उनीहरूको शरीर तेल घसेर चिल्लो बनाइयो । नङ काटियो । गाजल लगाइयो । अनि सिंगारपटार गरेर चिरिच्याट्ट पारियो ।

उनीहरूलाई हेर्न देश/विदेशबाट आएकाहरूको भीड सौराहामा शनिबार साँझदेखि नै बढेको छ ।

आइतबार सुरु हुने अन्तर्राष्ट्रिय हात्ती महोत्सवअन्तर्गत यसपटक समावेश सुन्दरी प्रतियोगितामा ती ६ हात्ती सहभागी हुँदैछन् । त्यसैले माहुतेले शनिबार दिनभर उनीहरूको सरसफाइ र सिंगारपटारमा समय खर्चिए ।

हात्ती व्यवस्थापन उपसमिति संयोजक ऋषि तिवारीका अनुसार प्रतियोगितामा रमेश सिलवालको भवानीकली, हरिभक्त घिमिरेको वसन्तीकली, कृष्ण भट्टराईको चम्पाकली, धु्रव गिरीको चञ्चलकली र चितवन निकुञ्जका धीरेन्द्रकली र रूपकली सहभागी हुने भएका हुन् ।

पहिलो दिन दुई र दोस्रो दिन एक हात्ती बाहिरिने छन् । तीन हात्तीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका नियममा हात्तीका नङ सफा हुनुपर्ने, गाजल लगाउनुपर्ने,

सिंगारपटार हुनुपर्ने, हात्ती चालक अनुशासित र अनुभवी हुनुपर्ने, चालकले पोसाक अनिवार्य लगाउनुपर्ने, हतियारको प्रयोग गर्न नपाइने, चिल्लो र फूर्तिलो छावालाई प्राथमिकता दिइने उल्लेख छ । हात्तीको साझोपन र हिँडाइमा ध्यान दिइने छ । घाउ र रोग भएकामा समावेश गरिने छैन । मान्छेकै नियममा हात्ती दौडिने छन् । फिफाका नियमअनुसार छावाले फुटवल खेल्छन् । 'हात्तीको सुन्दरी प्रतियोगिता किन नगर्ने,' उनले भने, 'हात्ती बुद्धिमान प्राणी हो ।' सहभागी हुने हात्तीलाई सुन्दरीले अपनाउनुपर्ने चालढालबारे प्रशिक्षण दिइएको छ ।

हात्तीका लागि विभिन्न रंगका पोसाक तयार गरिएको छ । सजाइएका र रंगरोगन गरिएका हात्ती हेरेपछि निर्णायकले अंक प्रदान गर्नेछन् । जसको धेरै अंक हुन्छ त्यो विजेता घोषित हुनेछ । जुन हात्तीमा बढी पर्यटक झुम्मिन्छन् त्यसले अंक धेरै हासिल गर्ने छ । प्रतियोगिताको उद्देश्य पर्यटक लोभ्याउनु रहेको महोत्सवका संयोजक नारायण भट्टराईले बताए ।

आइतबार सुरु हुने हात्ती दौडको पूर्वसन्ध्यामा सौराहामा आन्तरिक पर्यटक बढेका छन् । सौराहा होटलमा कोठा पाउन मुस्किल परेको छ । आइतबार मध्याह्न बाघमारा सामुदायिक वनको चौरमा पर्यटन वर्षको क्षेत्रीय शुभारम्भ हुनेछ ।

त्यससँगै अन्तर्राष्ट्रिय हात्ती महोत्सव उद्घाट गरिनेछ । उद्घाटनपूर्व हात्ती, बाजागाजा र सांस्कृतिक झाँकीसहित कलशयात्रा निकालिने छ ।


दीपेन्द्र बडुवाल

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks