सरोजराज अधिकारी
काठमाडौ, मंसिर २७ - हाटसिंजा (जुम्ला) नेपाली (खस) भाषा र सभ्यताको उद्गमस्थल कर्णाली, जुम्लाको सिंजा उपत्यकासम्म सडकबाटो निर्माण भएपछि त्यहाँका बासिन्दा अत्यन्त खुसी छन् । कर्णाली राजमार्गको ९१ किलोमिटर लामो नाम्न-गमगडी सडक खण्डको हाटसिंजासम्मको करिब ४० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ र त्यहाँका बासिन्दा छिट्टै यात्रुबाहक गाडी गुडिदिए हुन्थ्यो भन्ने आशमा छन् । 'धेरै खुसी छौं, स्वर्ग नै पुगेजस्तो भएको छ । पहिले ९/१० दिनको बाटो हिँडेर नेपालगन्ज पुगी नुन, चामल ल्याएर त्यसैगरी हिँडेर फर्किनुपथ्र्यो । अहिले आँगनमै सामान आइपुग्छ,' कनकासुन्दरी ६ हाटसिंजाका पन्नप्रसाद उपाध्यायले भने, 'अब छिट्टै नियमित यात्रुबाहक सवारीका साधन गुडिदिए हुन्थ्यो ।'
हाटसिंजासम्म आवश्यकताअनुसार मालबाहक सवारी गुडे पनि यात्रुबाहक सवारी सञ्चालनमा आइसकेका छैनन् । सडक निर्माणपछि यस क्षेत्रका जडिबुटीका साथै स्याउ, आलु, सिमी, मकै, फापर बिक्री गरेर आम्दानी गर्न सकिने स्थानीय ६६ वर्षे रेली सिकर्मीले बताइन् । 'पहिला त उब्जनीहरू कुहिएर खोलामा फ्याक्नु पर्दो थियो,' स्थानीय लवजमै उनले भनिन्, 'हाम्रो उभोगति हुने भो, छोरा नातिले जग्गा, जमिन नमासी गरे राम्रो गर्लान् ।'
नेपाली सेनाले जिम्मा लिएकाले सडक निर्माण तीव्र भएको स्थानीय कालीबहादुर शाहीले बताए । 'अरू भएको भए समय लगाएर बढी बजेट सक्न खोज्थे । तर सेनाले निकै तीव्र गतिमा काम गरेको छ । हामी निकै खुसी छौं' उनले भने । सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्गको कालिकोटमा पर्ने जटिल सडक खण्डको निर्माण कार्य पनि सेनाले गरेको थियो । सेनाद्वारा निर्माणाधीन कालिकोटको नाग्मबाट मुगुको गमगढी जोड्ने सडक आधाभन्दा बढी निर्माण भइसकेको छ । नाग्मबाट हाटसिंजासम्मको ४० किलोमिटर सडक निर्माण पूरा भएको छ । त्यसैगरी उतापट्टको ४ किलोमिटर बाटो पहिले नै बनाइसकेकाले हाटसिंजास्थित करिब सय मिटरको चट्टान फुटाएर सम्याएपछि लाहासम्मको ४४ किलोमिटर बाटो पूरा हुने सडक निर्माण कार्यदल प्रमुख नेपाली सेनाका प्राविधिक सेनानी सञ्जय केसीले बताए ।
'आगामी दुई महिनाभित्रै नाग्मदेखि जिया गाउँसम्मको ५७ किलोमिटर बाटो पूरा गर्छौं,' उनले भने, 'बजेट तथा मौसमले साथ दिए ०६८ कात्तिकसम्म मुगुको सदरमुकाम 'गमगडीसम्मकै सडक निर्माण सम्पन्न हुनेछ ।' नाग्मदेखि ८५ किलोमिटरमा रहेको मुगुको ताल्चा विमानस्थलबाट उतापट्ट गमगडीसम्मको थप ६ किलोमिटर सडक खण्ड निर्माण सम्पन्न भइसकेको सेनानी केसीले बताए । यस सडकका लागि २०६४/६५ मा तीन करोड, ०६५/६६ मा साढे एघार करोड र ०६६/६७ मा १७ करोड रुपैयाँ विनियोजन भएको थियो । यस आव ०६७/६८ मा आवश्यक २१ करोड माग गरिए पनि ८ करोड ७४ लाखमात्र छुट्याएको सेनानी केसीले बताए । साढे पाँच फिट चौडाइ रहेको माटो र ग्राभेलको यो बाटोमा २ वटा जटिल घुम्ती रहेकाले निर्माणमा केही कठिनाइ रहेको सेनानी केसीले बताए ।
यो सडक खण्डमा परेको स्थानीयको घर र जग्गाका लागि करिब एक करोड ११ लाख रुपैयाँ मुआब्जासमेत दिइसकिएको छ । यसैगरी सेनाले सडक खण्ड आसपासका जनताका लागि सिँचाइ कुलो, विद्यालय मर्मत, सहायक बाटो, खानेपानीलगायतका निर्माण कार्य र विभिन्न सामग्रीहरू सहयोगका रूपमा उपलब्ध गराउँदै आएको सेनानी केसीले जनाए । सुर्खेतदेखि कर्णाली कालिकोटको सदरमुकाम मान्म हुँदै जुम्ला जोड्ने २ सय ३५ किलोमिटर कर्णाली राजमार्ग करिब २ वर्षदेखि सञ्चालनमा छ । त्यसअघि कर्णालीका यी दुई जिल्ला पुग्न हवाई यातायात वा पैदल यात्रा विकल्प थिएन । कालिकोटको नाग्मदेखि करिब गुर्चिलंगास्थित् ११ सय फिटको उचाइ हुँदै मुगुको सदरमुकाम गमगडी पुग्ने यो सडक पनि निर्माण पूरा भए कर्णालीका ३ जिल्लालाई सडकले जोड्ने छ । यसले मुलुककै प्रमुख पर्यटकीयस्थलमध्येको एक रारा तालको विकासमा पनि टेवा पुग्नेछ । भावी योजनामा रहेको जुम्लाबाट डोल्पा र मुगुको गमगडीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्मको करिब सय किलोमिटर लामा सडक निर्माण भएमा केही वर्षअघिसम्म हवाई यातायात वा पैदल यात्राको विकल्प नभएको कर्णालीका पाँचै जिल्लालाई सडकले जोड्नेछ । हुम्लाको सिमकोटबाट चीन तिब्बतलाई जोड्ने हिल्सासम्मको करिब सय किलोमिटर सडक निर्माण भइरहेको छ ।
सिमकोट-हिल्सा सडक निर्माण सम्पन्न भए यस क्षेत्रका जडिबुटी, उत्पादन चीनमा पुर्याएर बेच्न सकिने तथा चीनसँगको व्यापार र सम्बन्ध विस्तारमा टेवा पुग्ने स्थानीयवासीले बताए । 'कुनै समय अँध्यारो कुनामा रहेकोकर्णाली चीन र भारतसँगको व्यापारको सेतु बन्नसक्छ,' उनले भने, 'यसले कर्णालीमात्र होइन सिंगो देशकै विकासमा मद्दत गर्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks