
सञ्जय न्यौपाने
मिलान (इटाली), पुस १६ - हजारौं इटालियाली जस्तै यतिखेर क्रिस्टियन क्यारिनी पनि हतारमा छन् । क्रिसमस र नयाँ वर्षको रिगालो -उपहार) खरिद गरेर आजै भ्याउनुछ, उनलाई । दक्षिण इटालीको पाभिकोबाट १ सय ५० किलोमिटर पार गरेर मिलानस्थित आर्तिजियानोमा आएका उनी सीधै नेपाली स्टलमा छिरे ।
'नेपाली सामान मौलिक छन्, त्यसैले साथीलाई विशेष उपहार दिन बर्सेनि यतै आउँछु,' मेलामा सिंगिङ बाउल किनेर हतारिँदै अर्को नेपाली स्टल जाँदै गरेका उनले कान्तिपुरसित भने । यसपालाको रिगालोका लागि उनले ८ सय युरो (करिब ७५ हजार रुपैयाँ) को उपहार किनिसकेका छन् । 'योचाहिँ महँगो भएकाले सबैभन्दा मिल्ने साथीलाई दिने हो,' उनले भने । नभन्दै उनले फेल्टका पर्स, पस्मिना सललगायत सामान किनेर फर्किए ।
क्यारिनी मात्र होइन सबै साथीलाई रिगालो दिनैपर्ने उनीहरूको संस्कृति नेपाली व्यवसायीका लागि पनि अवसर भएको छ । 'नेपालबिना यो मेला अपुरो हुन्छ,' मेला आयोजक जेफीका निर्देशक डिएगो शालाले भने, 'किनभने नेपाली सामान मौलिक छन् र तुलनात्मक रूपले सस्ता पनि ।' १ सय ६ देशका ३ हजार स्टलको भीडमा नेपाली झन्डासहित प्रस्टै चिनिने नेपालीका स्टल छन् । जुन आर्थिक मन्दीको असरले भेटिसकेको इटालीका लागि अवसर पनि हो ।
अवसर उनीहरूका लागि मात्र होइन, नेपालमै रोजगारी सिर्जनाका लागि पनि यो मेलाको महत्त्व छ । 'यो थांका बिक्री भयो भने नेपालमा एक जनालाई ८ महिना जागिर दिन सक्छु,' मिलानमा हालै सकिएको आर्तिजियानो मेलाको स्टलमा १२ सय युरोको ट्याग झुन्डिएको थांका देखाउँदै राम श्रेष्ठले भने । वर्षमा एकपल्ट हुने यो मेलामा उनी पछिल्लो समय प्रायः सधै आएका छन् । मेला आयोजकले उनी मात्र होइन, नेपाली व्यवसायीलाई बर्सेनि सहभागी गराउँदै आएको छ ।
९ दिन चलेको मेलामा ३० लाख अवलोकनकर्ता आएका थिए । उनीहरूमाझ नेपाल चिनिइसकेको छ । नेपाल छिमेकी भारतभन्दा निकै सानो देश भनेर मेलामा आउनेहरूलाई पत्तै हुँदैन । सजिएको नेपाली स्टल र त्यहा देखिने भीडले जवाफ दिइरहेको छ । यो आकर्षणको सीधा सम्बन्ध नेपालको रोजगारीमा रहेको मेलाका नेपाली प्रतिनिधि मार्केट प्रोमोसन सेन्टरका अध्यक्ष तथा प्रबन्ध निर्देशक सागर थापा बताउँछन् । 'यहाँ बिक्ने प्रत्येक सामानले नेपालमा रोजगारी थप्छ,' उनको अनुभव छ ।
इटालियाली मात्र होइन, यहाँ बस्दै आएका नेपालीसमेत रिगालो किन्दै छन् । 'यहाँको चलनअनुसार किन्नैपर्यो,' नेपाली स्टल बाहिर भेटिएकी इन्द्राकुमारी थापाले भनिन्, 'नेपाली करिब ३० हजारको उपहार बाँड्छु ।' यस्तै आकर्षणले यो मेलामा स्टल राख्ने नेपालीको संख्या बर्सेनि बढिरहेको छ ।
साना तथा मझ्यौला उद्योग र तिनका उत्पादन प्रवर्द्धन गर्न सीधै अनुदान दिँदै आएको छिमेकी भारतसँग प्रतिस्पर्धा गरेर पनि उनीहरू सन्तोषजनक व्यापार भएको बताउँछन् ।
भारत सरकारले नै यहाँ आउनेहरूको स्टल भाडामा आधा रकम अनुदान दिएको छ । साना तथा मझ्यौला उद्योगका उत्पादन ल्याउनेलाई स्टल भाडामा ५० प्रतिशतसम्म अनुदान दिएको इन्डिया ट्रेड प्रोमोसन अर्गजनाइजेसनका डिपी पोखर्यालले बताए । भारतीयको मात्र १ सय २५ स्टल छन् ।
छिमेकी सरकारले गरेको सहयोगप्रति नेपाली व्यवसायी इस्र्या गछर््रन् । तर आशा भने केही पनि
छैन । नेपालमा हजारौंलाई रोजगारी दिइरहेका उनीहरू सामान ल्याउने बेलामा आवश्यक विदेशी मुद्रा मात्र सजिलोसँग दिए हुन्थ्यो भन्छन् । 'हामी आउने बेलामा बैंकबाट विदेशी मुद्रा मात्र सजिलै दिए हुन्थ्यो,' श्रेष्ठ भन्छन्, 'राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई भनिदिनुहोला, अर्को मेलामा आउँदा ठमेल गएर ब्ल्याकमा युरो लिन नपरोस् ।'
एसिया, युरोप, अपि|mका, दक्षिण अमेरिकादेखि झन्डै संसारकै प्रतिनिधित्व भएको मेलामा सस्तो सामान बनाउन संसारमै नेतृत्व गरिरहेको छिमेकी चीनको भने उपस्थिति छैन । 'उनीहरू त सबैभन्दा धेरै बिकेका सामानहरूको स्याम्पल किन्न आउँछन् । त्यसलाई केही परिवर्तन गरेर उत्पादन गरी सीधै उपभोक्ताकासमक्ष पुर्याउँछन्,' एक नेपाली सहभागीले भने । कुनै समय युरोपमा हट केक भएको पस्मिना अहिले चिनियाँले बनाएपछि यही मेलामा ५ युरोसम्ममा बिक्री भइरहेको छ । एक दशकअघि नेपाली पस्मिना ५०/६० युरोभन्दा कममा बेच्नै नपर्ने अनुभवीले सुनाए । अहिले नेपालीले लैजानेमध्ये फेल्टका सामान पनि चिनियाँले बनाउन थालिसकेका छन् । चिनियाँजस्तै अरू स्टलमा धेरै बिकेका सामान सर्वेक्षण र अनुसन्धान गरेर हस्तकला महासंघ व्यापार प्रवर्द्धन केन्द्रले सघाउनुपर्ने गैरअवासीय नेपाली संघ बेल्जियमका अन्तर्राष्ट्रिय समन्वय परिसद सदस्य अर्जुन श्रेष्ठले बताए । मेलाकै लागि आएका उनी भ्रमणपछि नेपाली भएकामा गर्व गर्दै फर्किए ।
हस्तकला र पर्यटन दुवैको व्यापार गर्दै आएका ज्यापु ट्राभल्सका प्रबन्ध निर्देशक ललित महर्जन यति ठूलो मेलामा पर्यटन प्रवर्द्धनको स्टल नदेखेर अचम्मित भए । '३० लाख मान्छे आउने मेलामा नेपालले पर्यटन वर्ष मनाउँदै गरेको जानकारी दिनुपथ्र्यो,' स्टलमा व्यस्त उनले भने । अपि|mकी, युरोपेलीलगायत धेरैले पर्यटन प्रवर्द्धनका स्टल मेलामा राखेका थिए ।
आयोजक जेफीका शाला नेपालीले ८० वटासम्म स्टल राखेर फाइदा लिन सक्ने सुझाव दिन्छन् । 'चिया, कफी, पर्यटन मात्र होइन नेपाली कागजको पनि राम्रो बजार छ,' उनले भने । थापाले पनि यसपाला यस्तै अनुभव
गरे । 'अर्को वर्ष पर्यटन बोर्ड, चिया तथा कफी विकास बोर्डलाई सहभागिताका लागि अनुरोध गर्ने योजना छ ।' नेपाली काजगबारे पनि सोधखोज भएको उनले बताए । गत वर्ष युरोपेली युनियनको सहयोगमा नेपाली कागजको स्टल राखिए पनि यसपाला देखिएन । तर पनि यस वर्ष पहिलोपल्ट आएका ठमेलका व्यवसायी शंकर वाग्ले मेला सकिएको दिन खुसी भेटिए । व्यापार कतिको भयो त ? भन्ने प्रश्नको जवाफमा मुस्काउँदै यति मात्र भने 'अर्को वर्ष फेरि आउँछु ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks