Loving nepal news

Wednesday, December 8, 2010

राष्ट्रपति धमाधम उदघाटनमा


बलराम बानियाँ

काठमाडौ, मंसिर २३ - राष्ट्रपति रामवरण यादव पदीय गरिमा र मर्यादा बिर्सेर विद्यालयको वाषिर्कोत्सव, शिलान्यास, उद्घाटनजस्ता सामान्य कार्यक्रममा जान थालेकामा सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति कुनै कार्यक्रममा जाँदा कति खर्च भयो भनेर प्रश्न उठाउनु जायज नहुने उल्लेख गर्दै ती अधिकारीले राष्ट्रपति र उनका सल्लाहकारले यसमा विचार गर्नुपर्ने बताए ।

राष्ट्रपति सुर्खेतमा औद्योगिक मेला र बाजुरामा क्याम्पस भवन उद्घाटन गरेको एक सातापछि नै दोलखाको जिरीस्थित एउटा विद्यालयको स्वर्ण जन्मोत्सव कार्यक्रममा जाँदैछन् । नेपाली सेनाको सुपर पुमा हेलिकप्टर चढेर मेला र क्याम्पस उद्घाटन कार्यक्रममा मध्यपश्चिम र सुदूरपश्चिम गएको मौका पारी राष्ट्रपतिले छोरी अनिता र सहयोगीसहित मुगुको रारा ताल, दीपायल, बझाङको खप्तड क्षेत्रसमेत भ्रमण गरेका थिए ।

सेनाकै हेलिकप्टर चढेर राष्ट्रपति जिरी माध्यमिक विद्यालयको शनिबार आयोजना हुने स्वर्ण जन्मोत्सवमा जाने कार्यक्रम छ । उनीसँगै राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने र स्वकीय सचिव ललित बस्नेतसमेत जाँदैछन् । कांग्रेस नेता भीमबहादुर तामाङलगायत दोलखाका कांग्रेस नेता-कार्यकर्ताको आग्रहमा राष्ट्रपति दुई महिनाको अन्तरालमा दोस्रोपटक दोलखा जान लागेका हुन् । दुई महिनाअघि उनी चरिकोटस्थित गौरीशंकर कलेजमा स्नातकोत्तर तह थाल्न आर्थिक स्रोत जुटाउने महायज्ञ उद्घाटनको प्रमुख अतिथि बनेका थिए ।

राष्ट्रपति सामान्य कार्यक्रममा हेलिकप्टरबाट जाँदा सरकारको प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो धनराशी खर्च हुन्छ । जिरीमा राष्ट्रपतिको कार्यक्रम हुँदा जिल्लाका सबैजसो सुरक्षाकर्मी त्यहाँ पुर्‍याउनुपर्छ, जसका लागि थप खर्च लाग्नेछ । 'सुर्खेतमा औद्योगिक मेला, बाजुरामा क्याम्पस भवन, चरिकोटमा महायज्ञ उद्घाटन, त्यस क्रममा रारादेखि खप्तडसम्मको भ्रमण र चरिकोटमा कलेजको महायज्ञमा जाँदा सरकारको प्रत्यक्ष र अप्रत्यक्ष गरी ५० लाखभन्दा बढी खर्च भइसकेको छ । जिरीमा जाँदा थप खर्च

लाग्नेछ । त्यति रकमले एउटा विद्यालय या कलेजै स्थापना गर्न पुग्छ,' एक सरकारी अधिकारीले भने ।

'राष्ट्रपतिको भ्रमणमा कति खर्च भयो भन्ने कुरा राष्ट्रका लागि गौण हो तर कस्ता कार्यक्रममा जाँदा राष्ट्राध्यक्षको गरिमा र मर्यादा रहन्छ, कहाँ जाँदा रहन्न भन्नेबारे राष्ट्रपति र उनका सल्लाहकारले ध्यान दिनुपर्छ । यसबारे एउटा स्पष्ट मापदण्डसमेत बनाइनुपर्छ,' अर्का एक उच्च अधिकारीले भने, 'राष्ट्रपतिले देशभरका विद्यालयको रजत या स्वर्ण जन्मोत्सवमा जान सम्भव हुन्न । त्यसैले एक/दुई विद्यालयको स्वर्ण महोत्सव, भवन उद्घाटन, महायज्ञमा जानु उनको गरिमा र पदीय मर्यादाले मिल्दैन ।'

राष्ट्रपतिको सचिवालयले भने विद्यालय र क्याम्पसको स्वर्ण जन्मोत्सव कार्यक्रमसम्ममा जाने नीति रहेकाले यादव जिरी जान लागेको जनाएको छ । 'स्वर्ण महोत्सव कार्यक्रममा राष्ट्रपति जाने नीति बनाएका छौं, यसअघि पनि राष्ट्रपति विद्यालयको स्वर्ण महोत्सवमा जानुभएको छ, जान नभ्याएका बेला शुभकामना सन्देश पठाउने गर्नुहुन्छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले कान्तिपुरसित भने, 'जिरी माध्यमिक विद्यालय जिरेल जातिको बाहुल्य भएको क्षेत्रमा छ, त्यसले पिछडिएको जाति जिरेलको उत्थानमा ठूलो योगदान पुर्‍याएको छ । नेपाललाई माया गर्ने चर्चित विकासविद् टोनी हागनको सहयोगमा बनेको ऐतिहासिक स्कुललाई उत्थान गर्न उहाँ जान लाग्नुभएको हो ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks