शिला पाण्डे
काठमाडौ, मंसिर २० - आन्तरिक उडान गर्ने चार मुख्य विमान कम्पनीले एउटै भाडादर कायम गरेका छन् । समान दर कायम भएकाले अब यी कम्पनीबीच भाडामा नभई अन्य सेवा सुविधाका आधारमा प्रतिस्पर्धा हुनेछ । बुद्ध, यती, अग्नि र गुण एयरलाइन्सले डिसेम्बर १ (मंसिर १५ गते) देखि मुख्य 'ट्रंक रुट' (पोखरा, विराटनगर, भैरहवा, भद्रपुर र नेपालगन्ज) को भाडादर समायोजन गरी बराबर बनाएका हुन् ।
भाडादर समान भएकाले बजार प्रवर्द्धनका लागि 'सुरक्षा, नियमिततालगायत यात्रुमैत्री वातावरण बनाई कम्पनीले आफ्नो बजार विस्तार गर्ने' यती एयरलाइन्सका म्यानेजर विनय शाक्यले बताए । 'सबै कम्पनीको भाडादर एउटै भएपछि जसको सेवा उत्कृष्ट हुन्छ, त्यो कम्पनी यात्रुको रोजाइमा पर्छ,' उनले भने ।
समान भाडादर सामान्य श्रेणीको टिकटमा मात्रै लागू हुनेछ । यसबाहेक कम्पनीहरूले विभिन्न स्किम ल्याएर सस्तो दरका टिकट पनि बेच्ने गरेका छन् । विदेशी नागरिकले तिर्ने भाडादर भने यसअघि नै बराबर थियो । यी गन्तव्यमा बुद्धको भाडादर सबैभन्दा बढी भएकाले अन्य कम्पनीले आफ्नो भाडादर (नेपाली मुद्रा) बढाएर बराबर बनाएका हुन् । 'बढी मूल्यलाई परिवर्तन गर्न सरकारको भाडादर समायोजन कमिटीले निर्णय गर्नुपर्छ । 'भाडा बढेको होइन, कम भाडादर राख्ने कम्पनीले बराबर बनाएका मात्रै हुन्,' बुद्धका बजार प्रबन्धक रूपेश जोशीले भने । समायोजन गर्दा यती, अग्नि र गुणले पुरानो भाडादरमा ५० देखि २ सय रुपैयाँसम्म वृद्धि गरेका छन् ।
कम्पनीहरूले भाडादर समायोजन गर्न नेपाली रुपैयाँमा ट्राभल एजेन्सीलाई दिने कमिसन दरलाई पनि परिवर्तन गरेका छन् । यसअनुसार बुद्धको ७, यतीको ११ र गुण तथा अग्नि एयरलाइन्सको १२ प्रतिशत कमिसन दर कायम गरिएको छ । यो दर अमेरिकी डलरमा भने एउटै (९ प्रतिशत) रहेको छ । कमिसन दरमा सबैले २ प्रतिशत वृद्धि गरेका हुन् । 'यसका लागि कम्पनीको उडान संख्या र गन्तव्यलाई आधार बनाइएको छ,' गुणका बजार निर्देशक प्रज्वल थापाले भने, 'बुद्ध र यतीको उडान बढी भएकाले ती कम्पनीको कमिसन दर कम तोकिएको हो ।' एउटै भाडा दरले प्रतिस्पर्धालाई घटाए पनि कम्पनीहरूलाई सेवा सुधारतर्फ बढ्न बाध्य बनाउने उनी बताउँछन् ।
आन्तरिक उडान गर्ने विमान कम्पनीलाई दिगो सञ्चालनका लागि पनि यो समायोजन गरिएको वायु सेवा सञ्चालक संघका सदस्य योगराज कँडेलले बताए । 'संख्या थपिँदै जाँदा विमान कम्पनीबीच भाडादरमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको थियो,' उनले भने ।
त्यस्तै ट्राभल एजेन्ट्सहरूले हवाई सिटको अभावमा एउटा टिकटमा ५५ प्रतिशत कमिसन लिने गर्दा पनि समस्या हुने गरेको उनको भनाइ छ । 'सबैको भाडामा एक रूपता आउने र थोरै उडान गर्ने कम्पनीका लागि कमिसन दर परिवर्तनले उनीहरूले अनावश्यक फाइदा उठाउन पाउने छैनन्,' कँडेलले भने ।
समायोजनपछि यी चारै कम्पनीको काठमाडौंबाट पोखरा एकतर्फी भाडादर २ हजार ७ सय ८० रुपैयाँ, विराटनगरको ४ हजार १ सय ६०, भैरहवाको ३ हजार ५ सय ८५, भद्रपुरको ४ हजार ८ सय र नेपालगन्जको ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।
सिमराको भाडादर १ हजार ६ सय १० छ भने जनकपुर, धनगढी र भरतपुरको भाडादरमा समायोजन गरिएको छैन । साधारण भाडादरमा अन्य कम्पनीको समायोजनसँगै बुद्धले 'बी क्लास' को भाडादरमा मात्र केही घटबढ गरेको छ । नयाँ दरअनुसार पोखराको भाडादर १ हजार ८ सय ८० बाट बढेर १ हजार ९ सय ५० पुगेको छ । त्यस्तै भैरहवाको भाडादर भने घटेर २ हजार ८ सयमा झरेको छ । विराटनगरका लागि 'बी क्लास' मा यात्रा गर्नेले ४ सय ९५ रुपैयाँ बढी -३ हजार १ सय) तिर्नुपर्नेछ । भद्रपुरको ३ हजार ६ सय ५०, नेपालगन्जको ४ हजार र धनगढीको ५ हजार ६ सय ५० रुपैयाँ भाडा तोकिएको बुद्धका बजार प्रबन्धक जोशीले बताए । 'यी गन्तव्यको भाडा साढे ४ सयदेखि ५ सय २५ रुपैयाँसम्म बढेको हो,' उनले भने ।
मूल्य समायोजनपछि पनि यात्रुहरूले चार कम्पनीका तीन/तीन १२ किसिमका भाडादरमा टिकट प्राप्त गर्नेछन् । 'यस्तोमा यात्रुले आफ्नो समयअनुकूल र सस्तो खालको टिकट छनोटको विकल्प अपनाउनुपर्छ,' गुणका बजार निर्देशक थापाले भने, 'यसले मूल्य समायोजनपछि पनि विमान कम्पनीबीचको प्रतिस्पर्धालाई जीवित राख्छ ।'
विमान कम्पनीले सरकारद्वारा तोकिएको सीमाभन्दा माथि मूल्य बढाउन नपाए पनि त्यसभित्र रहेर भाडादरमा परिवर्तन गर्न पाउने व्यवस्था छ । 'सीमाभन्दा बढी मूल्य बढाउन सरकारको कमिटीले निर्णय गर्नुपर्छ,' कँडेलले भने ।
समायोजनपछिको हवाई भाडादर
नयाँ भाडा यती अग्नि गुण
पोखरा २७८० २७०० २६६० २६६०
विराटनगर ४१६० ४१०० ४०० ४००
भैरहवा ३५८५ ३४८५ ३३८५ ३२८५
नेपालगन्ज ५३३५ ५०३५ - -
भद्रपुर ४८०० ४७५० ४६५० -
प्रकाशित मिति: २०६७ मंसिर २० ०९:१४
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks