
कान्तिपुर संवाददाता
काठमाडौ, पुस १६ - माओवादीले अनमिनको म्याद थप्न राष्ट्रसंघलाई पत्र लेखेको छ । पत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ सम्मका लागि म्याद थप्न राष्ट्रसंघलाई आग्रह गरेका छन् । अनमिनको म्याद पुस मसान्तभित्र सकिँदै छ । दाहालले उक्त पत्र नेपालका लागि राष्ट्रसंघीय मिसन (अनमिन) नेपाल प्रमुख करिन लनग्रेनलाई बुझाएका छन् । दाहाल र करिनबीच बिहीबार भेटवार्ता भएको थियो । करिन शनिबार राति न्युयोर्क जाँदै छिन् । माओवादीले पठाएको पत्रमा 'अनमिन नेपालमा रहँदा शान्ति प्रक्रिया टुंग्याउन सजिलो हुने' बेहोरा छ ।
अनमिनले पनि माओवादीको पत्रको ढाँचा प्राप्त भएको पुष्टि गरेको छ । अनमिनको म्याद थप्नका लागि सरकार र माओवादीको संयुक्त पत्र राष्ट्रसंघलाई पठाउनुपर्ने हुन्छ । तर माओवादीले एकतर्फी रूपमा राष्ट्रसंघलाई पत्र पठाएको हो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रसंघलाई पत्र पठाउने तयारी गरेको बताए । 'राष्ट्रसंघलाई पत्र पठाउने तयारी गरेका छौं,' उनले भने, 'शान्ति प्रक्रिया नटुंगिएकाले अनमिन रहनुपर्ने आवश्यकता ठानेका छौं । राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक जनवरी ५ मा बस्दै छ । त्यसअघि नै माओवादीले राष्ट्रसंघ मुख्यालय, न्युयोर्कमा छलफलका लागि पत्र पठाएको हो । यसअघि ६ महिना पहिले सरकार र माओवादीले अन्तिम पटक म्याद थप्न राष्ट्रसंघलाई संयुक्त पत्र पठाएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks