Loving nepal news

Monday, December 13, 2010

अरेबियाको पाँचौं स्वतन्त्रता रद्द


शिला पाण्डे

काठमाडौ, मंसिर २८ - व्यापक आलोचना र दबाबपछि सरकारले एयर अरेबियालाई पाँचौं स्वतन्त्रता अधिकारअन्तर्गत दिएको उडान अनुमति रद्द गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार दिएको निर्देशनअनुसार पर्यटन मन्त्रालयले अरेबियाको अनुमति रद्द गरेको हो ।

'समितिको निर्णय मान्नैपर्छ,' पर्यटन सचिव किशोर थापाले भने, 'अबदेखि अरेबियाले उक्त सुविधाअन्तर्गत उडान गर्न पाउँदैन ।' उनका अनुसार यो सुविधा रद्द भएपछि इमिरेटसँग भएको हवाई सेवा सम्झौताबारे पनि पुनर्विचार गरिनेछ । समितिले सम्झौता रद्द गर्न दिएको निर्देशनात्मक पत्रलाई मन्त्रालयले कार्यान्वयन गरेको हो ।

सम्झौता रद्दपछि द्विपक्षीय सम्बन्धमा पर्ने परिणामको जिम्मेवारी पूरै राज्यले लिनुपर्ने मन्त्रालयको भनाइ छ । 'यो निर्णय रद्द गरेपछि नेपालले पनि युएईबाट पाइरहेको सुविधा कटौती हुन सक्नेछ,' थापाले भने ।

यता एयर अरेबियाले भने सोमबार पत्रकार भेटघाट गरी दुई देशको हवाई सम्झौताअनुसार अनुमति लिएकाले उडान गर्न पाउनुपर्ने बताएको थियो । निगमले समेत यही अधिकार प्रयोग गरी काठमाडौं-दुबई-दोहा उडान गरिरहेको हुँदा आफूलाई रोक्न नमिल्ने उसको जिकिर थियो ।

सम्झौतामा निगमले युएई हुँदै जुनसुकै देशका लागि उडान भर्न पाउने र युएईको विमान कम्पनीले नेपाल हुँदै भारत र थाइल्यान्डबाहेक अन्य मुलुक जान पाउने एयर अरेबियाले जानकारी दियो । उसले मन्त्रालयको अनुमतिअनुसार उडानका लागि 'ग्राउन्ड ह्यान्डलिङ' को सम्झौताका लागि सोमबार निगममा फोन गरेको थियो । निगमले भने नीतिगत विषयको अनुमतिका लागि कार्यकारी तहले निर्णय गर्नुपर्ने रायसहितको जवाफ पठाएर सम्झौता गर्न मानेन । एयर अरेबियाले निगमसँग ग्राउन्ड ह्यान्डलिङको सम्झौता गर्नुपर्ने हुन्छ ।

थापाका अनुसार निगमले यस्तो सम्झौता नगरेकाले अरेबियाको उडान स्वतः रोकिएको हो । 'मन्त्रालयले द्विदेशीय अनुमति मात्र दिएको हो,' उनले थपे, 'अब यो निर्णय पनि रद्द हुन्छ र सम्झौता पनि पुनरावलोकन गरिनेछ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks