Loving nepal news

Friday, December 17, 2010

एक्लो परे भट्टराई वैद्यको समर्थनमा दाहालको राजनीतिक प्रतिवेदन पारित भएपछि भट्टराईले त्यसविरुद्ध 'नोट अफ डिसेन्ट’ लेखेका छन् ।


गंगा बीसी

काठमाडौ, पुस ३ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीमा औपचारिक रूपमा फरक मत (नोट अफ डिसेन्ट) राखेपछि माओवादीको आन्तरिक समीकरण नयाँ मोडमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य एक ठाउँमा उभिएका छन् भने अर्का उपाध्यक्ष भट्टराई एक्लिन पुगेका छन् । पालुङटार बैठकका बेला वैद्य र भट्टराई एकातिर थिए भने दाहाल अर्कोतिर । शुक्रबार प्रारम्भ केन्द्रीय समिति बैठकमा नयाँ समीकरण देखापरेको हो ।

बैठकले अध्यक्ष दाहालद्वारा पालुङटारमा पेस गरिएको राजनीतिक प्रतिवेदन पारित गरेको छ । बैठकमा वैद्यले दाहालको कार्यदिशाप्रति सहमति जनाएका थिए । चुनबाङ बैठकले लिएको कार्यदिशाको समीक्षाबाहेक सबै विषयमा उनले अध्यक्षलाई समर्थन गरेको एक नेताले बताए ।

'मूलभूत कार्यदिशामा अध्यक्ष र उपाध्यक्ष वैद्य सहमत देखिनुभयो,' स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले कान्तिपुरसँग भने, 'अध्यक्षको दस्तावेजको मूल स्पिरिटमा उपाध्यक्ष बाबुराम असहमत देखिनुभयो । सबै फरक मतलाई विधिवत ढंगले छलफल गर्ने तय भएको छ ।'

अध्यक्ष दाहालको दस्तावेजको पक्षमा बहुमत केन्द्रीय सदस्यले हात उठाएर समर्थन गरेको एक सहभागीले जनाए । 'दुई पक्षले हात उठाएपछि अध्यक्षको दस्तावेजको पक्षमा स्पष्ट बहुमत देखियो,' उनले भने, 'त्यसपछि दस्तावेज पारित भयो ।' स्रोतका अनुसार एक सय ४८ सदस्यीय केन्द्रीय समितिमा भट्टराईको पक्षमा करिब ४० जना छन् ।

भट्टराईले बैठकद्वारा पारित राजनीतिक दस्तावेजप्रति पूर्ण असहमति जनाउँदै केन्द्रीय कार्यालयमा लिखित फरक मत दर्ता गराउने भएका छन् । नेपालमा भारतको भूमिकालाई कसरी हेर्ने र अब अगाडि कसरी बढ्ने भन्ने दुई मुख्य सवालमा माओवादी नेतृत्वमा मतविभाजन भएको हो ।

भारतसँग प्रधान अन्तरविरोध रहेको भन्ने विषयमा दाहाल र वैद्य सहमत देखिएका छन् भने भट्टराईले त्यसप्रति पूर्ण असहमति जनाएका छन् । 'पहिले देशभित्रकै प्रतिगामी शक्तिसँग लड्नुपर्छ,' भट्टराईको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'त्यसपछि बाह्य शक्तिसंग संघर्ष हुन्छ । राष्ट्रियताको संघर्षमा बाह्य कारणमात्र हुँदैन, आन्तरिक कारण प्रमुख हुन्छ । त्यही शक्तिसँग लड्नुपर्छ ।'

बैठकमा भट्टराईले शान्ति र संविधानका लागि माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना अझै भएको बताएका थिए भने दाहाल र वैद्यले 'बाह्य शक्तिको प्रभावमा माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना क्षीण भएको' उल्लेख गरेका थिए ।

दाहाल र वैद्यको मत 'जनविद्रोहको तयारी गर्ने कार्यदिशा' मा पनि मिलेको छ । भट्टराईले 'जनविद्रोह' को आवश्यकताप्रति पनि असहमति जनाउँदै फरक मत राखेका थिए । उनले तत्काल विद्रोहको नीति लिए संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धि गुम्ने खतरा भएको भन्दै शान्ति र संविधानको मूल मुद्दालाई प्रमुखताका साथ अघि लैजानुपर्ने बताए ।

'शान्ति र संविधानको बाटोबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अग्रगामी बाटोमा जान सकिन्छ,' भट्टराईले भने, 'संविधान बनाएरमात्रै जनताका कुरा सम्बोधन गर्न सकिन्छ ।'

करिब दुई वर्षअघि दाहाल र वैद्यबीच चर्को अन्तरविरोध भएको थियो । दुई नेताबीच मूल विवाद थियो- लोकतान्त्रिक गणतन्त्रको बाटो कि जनगणतन्त्र । त्यसबेला वैद्यले फरक दस्तावेज ल्याई जनविद्रोहको बाटोमा अघि जानुपर्ने बताएका थिए । दुई वर्षपछि दाहाल जनविद्रोहको कार्यदिशामा आइपुगेका छन् । भट्टराईले भने शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने अन्तिम समयसम्म प्रयास गर्नुपर्ने र त्यसमा अवरोध भए जनविद्रोहमा जान सकिने विचार अघि सारेका छन् ।

'तत्काल जनविद्रोहको कार्यदिशाले प्रतिक्रान्तिको आधार बनाउँछ,' भट्टराई पक्षको निष्कर्ष छ, 'त्यसैले संविधानसभा र गणतन्त्रको रक्षा गर्नु प्रमुख कुरा हो ।' दाहाल र वैद्य पक्ष मूल कार्यदिशामा सहमत भएपछि भट्टराईले फरक मतलाई छलफलका लागि पार्टीको तल्लो तहसम्म लैजाने मनस्थिति बनाएका छन् ।

दाहालसँग सहमत भएपछि वैद्यले इतिहासको समीक्षा, चुनबाङ बैठकदेखि शान्ति सम्झौतासम्मको कार्यदिशामा असहमति भए पनि मूल कार्यदिशामा सहमति जनाएको बैठकमा बताएका

थिए । 'इतिहासको मूल्यांकनबाहेक अध्यक्षको दस्तावेजमा म सहमत छु,' वैद्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । उनले कान्तिपुरसँग भने त्यसबारेमा टिप्पणी गर्न चाहेनन् । 'यसबारेमा पछि कुरा गरौंला, अहिले नबोलौं,' वैद्यले भने ।

सहमति जुटाउन तीन नेताबीच छुट्टै वार्ता भए पनि सहमति हुन सकेन । बैठकमा बोल्दै दाहालले नमिलेका विषयमा विधिवत छलफल गरिने बताए । 'हामीले मिलाउन सक्ने प्रयत्न गर्‍यौं,' उनको भनाइ थियो, 'नमिलेका विषय छलफलका लागि विधि बनाएर अघि जाने निर्णय गरेका छौं ।'

संक्रमणकालीन कार्यदिशा बनाउने विषयमा भने तीन नेताबीच सहमति छ । सहमतिअनुसार पुस महिनाभित्र आन्तरिक प्रशिक्षण चलाउने र माघमा राष्ट्रियता, शान्ति संविधानका लागि भन्दै संघर्षका कार्यक्रम गर्ने तय भएको छ ।

तीन नेताबीच फरक मतलाई बहस गर्न 'विचारधारा' नामको पत्रिका निकाल्ने निर्णय भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । 'तीन नेताबीच देखिएका असहमतिलाई विचारधारा पत्रिकामार्फत छलफल चलाइने छ,' बैठकपछि उनले भने ।

पत्रिकामा वैद्यले इतिहासको मूल्यांकनबारे आफ्ना विचार लेख्ने र भट्टराईले शान्ति र संविधानको मूल कार्यदिशा भएको फरक मत राख्ने छन् । पत्रिकालाई पार्टीको तल्लो निकायसम्म लगिने माओवादीले जनाएको छ ।

माओवादी नेताहरूको कार्यविभाजनमा पनि कुरा मिल्न सकेको छैन ।

महासचिव रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलमा सहमति हुन नसकेपछि शुक्रबार केन्द्रीय समिति बैठकले कार्यविभाजन गर्न नसकेको हो ।

'अझै गृहकार्य गरी टुंग्याउने कुरा भएको छ,' शर्माले भने, 'अब यसलाई स्थायी समिति बैठकले टुंग्याउने छ ।' तीन पक्षबीच आफ्ना नेतालाई जिम्मेवारी दिने विषयमा विवाद भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks