Loving nepal news

Friday, December 24, 2010

माओवादीका दुई कार्ड खनाल र देउवा


गंगा बीसी/दुर्गा खनाल

काठमाडौ, पुस १० - संसद्को आगामी अधिवेशनमा कांग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिए एमालेले विपक्षमा उभिने निर्णय गरिसकेको छ । उनले उम्मेदवारी फिर्ता लिए वा नलिए पनि प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया आरम्भ हुनेछ ।

त्यसपछि माओवादी भूमिका कस्तो होला त ? 'त्यस्तो अवस्थामा खनाल वा देउवा जो सहज हुन्छन्, उनैलाई समर्थन गर्ने हाम्रो बुझाइ हो,' माओवादी उच्च स्रोतले भन्यो ।

'हाम्रो नेतृत्वमा सरकार नबन्ने अवस्था भएमा हामीले विकल्प खुला गरेका छौं,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कान्तिपुरसँग भने, 'दोस्रो विकल्पका रूपमा राष्ट्रिय स्वाधीनता, शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने व्यक्ति हुन सक्छन् ।' माओवादीले 'राष्ट्रिय स्वाधीनताको मुद्दा' उठाउने व्यक्तिलाई प्रधानमन्त्रीमा समर्थन गर्ने भन्नु आफैंमा अर्थपूर्ण छ । उनीहरूले खनाल र देउवा दुवैलाई भारतले नचाहेका व्यक्तिका रूपमा हेरेका छन् ।

उपाध्यक्ष श्रेष्ठले एमाले अध्यक्ष खनालसँग सरकार गठनबारे खुला छलफल थालेको जानकारी दिए । 'झलनाथजीसँग खुलै छलफल भइरहेको छ,' उनले भने । माओवादीले आफ्नो नेतृत्वमा सरकार नबन्दा 'धेरै कुरा मिल्ने' खनाललाई प्रधानमन्त्री बनाउन खोज्नु अनौठो होइन । तर यो खनालकै पार्टी निर्णयमा निर्भर हुनेछ । एमालेभित्र नेपाल/ओली पक्षले खनाल-माओवादी गठबन्धन रुचाएको छैन । 'पार्टीभित्रै अध्यक्षलाई सजिलै स्वीकार्ने अवस्था बनिसकेको छैन,' बल्खु स्रोतले भन्यो ।

सायद त्यसैले माओवादीको अर्को चाहना देउवा बन्न पुगेका हुन् । कांग्रेस संसदीय दलका नेता पौडेल प्रधानमन्त्रीको उम्मेदवार भएदेखि माओवादी नेताहरू र देउवाबीच धेरै चरणमा कुराकानी भइसकेको छ । पौडेललाई उम्मेदवार बनाएलगत्तै आफ्नो बूढानीलकण्ठ निवास आएका माओवादी वरिष्ठ नेतासँंग देउवाले भनेका थिए, 'पौडेल प्रधानमन्त्री नहुने भएकैले मैले समर्थन गरेको हुँ ।'

अन्ततः देउवाको भनाइ सत्य सावित भयो । अब नयाँ चरणमा उनी स्वयं प्रधानमन्त्रीको प्रतिस्पर्धी बन्न खोज्दै छन् । तर त्यसनिम्ति पहिले उनी आफ्नै पार्टीबाट अनुमोदित हुनुपर्ने छ । पौडेलले नै पुनः उम्मेदवारी दाबी गरेको खण्डमा पार्टीमा विवाद पनि हुन सक्छ ।

देउवाले कांग्रेस केन्द्रीय समितिमा पदाधिकारी चयन प्रक्रियामा उब्जिएको समस्या सुल्झाउन सभापति सुशील कोइरालासँग सरकारको विषयमा लेनदेन गर्न चाहेको स्रोतहरूले उल्लेख गरेका छन् । 'पौडेललाई उपसभापति बनाउने भए सरकार चलाउने जिम्मेवारी आफूलाई दिनुपर्ने उहाँको प्रस्ताव हुनेछ,' बूढानीलकण्ठ स्रोतले भन्यो, 'माओवादीले पनि समर्थन जनाउने स्थितिमा त्यो सहज पनि हुनेछ ।'

बल्खु स्रोतले भने माओवादीको एउटा पक्षले खनाललाई प्रधानमन्त्रीमा सघाउने आश्वासन दिइसकेको दाबी गर्‍यो । पछिल्लो एक सातामा दाहाल र खनालबीच पटक-पटक वार्ता र भेटघाट भएका छन् । भेटमा माओवादी अध्यक्षले आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भावना क्षीण भएको भन्दै खनाललाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्ने बताएको स्रोतको भनाइ छ ।

एमालेले सहमति जुट्ने अवस्थामा विकल्प खुला राख्ने औपचारिक निर्णय गरेको छ । यसको अर्थ माओवादीले कांग्रेसका अर्को उम्मेदवारलाई समर्थन गरे, त्यस्तो सरकारमा आफू पनि सहभागी हुने या आफ्नो पार्टीलाई समर्थन गरे बहुमतीयबाट सहमति सरकारतर्फ जाने भन्ने हो ।

शान्ति र संंविधानलाई निष्कर्षमा पुर्‍याउने सन्दर्भमा कांग्रेस र माओवादी दुवैका लागि एमाले 'सहमतिको साझा विन्दु' हुने अध्यक्ष खनालको बुझाइ छ । 'माओवादी एमालेको नेतृत्वका लागि नकारात्मकचाहिँ छैन,' खनालनिकट एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले भने, 'तर आफ्नो नेतृत्व हुन नसक्ने अवस्थामा अन्य कुन विकल्पमा बढी फाइदा हुन्छ, त्यसतर्फ माओवादी सोझिन सक्छ ।'

कांग्रेसभित्र पनि पौडेलको विकल्पबारे अनौपचारिक छलफलमात्र भएका छन् । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पौडेलको उम्मेदवारीको टुंगो नलागेसम्म विकल्पबारे सोच्नु निरर्थक हुने बताए । 'रामचन्द्रजीको प्रस्तावलाई कि त सहमतिमा, नभए विधिसंगत ढंगबाट एउटा टुंगोमा पुर्‍याउनुपर्‍यो,' केसीले कान्तिपुरसँग भने, 'प्रधानमन्त्रीको उम्मेदवारलाई बहुमतबाट हराएको खण्डमा राजनीतिक नैतिकताका कारण उम्मेदवारी समाप्त हुन्छ । त्यस्तो स्थितिमा विकल्प सोच्न सकिन्छ तर अहिल्यै पार्टीमा औपचारिक छलफल भएको छैन ।' माओवादीभित्र पनि कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे एकमत छैन । माओवादी सचिव सीपी गजुरेलले आफ्नो नेतृत्वमा सरकार नबने पार्टी प्रतिपक्षमा बस्ने बताए । 'हाम्रो नेतृत्वमा सरकार बनेन भने हामी प्रतिपक्षमा बस्छौं,' उनले कान्तिपुरसँग भने, 'अरू जसले बहुमत पुर्‍याएर सरकार बनाए पनि हुन्छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks