Loving nepal news

Tuesday, December 7, 2010

बम बिष्फोटका घाईतेको उपचारमा आर्थिक संकट

जनक नेपाल

नेपालगन्ज-, मंसिर २१ - रोल्पाको हार्जङमा बम बिष्फोट भई बाँकेको कोहलपुर ल्याइएका ४ बषर्ीय अनराम बिकको उपचारमा आर्थिक संकट उत्पन्न भएको छ ।

टाउको, अनुहार र आँखामा गम्भीर चोट लागेका उनको उपचार गर्न आर्थिक संकट रहेको आमा धनेश्वरी बिकले बताईन् । छाती र हातमा समेत छर्रा लागेका बालकले दुध चुस्न समेत सक्दैनन् । 'एक पैसा छैन'-उनले कान्तिपुरसित भनिन्- ऋण काढेर अस्पताल ल्याएकी छु ।

गाउँको पाखोमा आइतवार बिहान भएको बम बिष्फोटमा अनाराम र ८ बषर्ीय राम बिक घाइते भएका हुन् । फलामको डल्लो भेटेपछि ढुंगामा राखेबिहानै उठेर आफू छिमेकी गाउँमा मोबाइल चार्ज गर्न जान लागेको बेला पच्छाउँदै आएको छोरा बम बिष्फोटमा परेको उनले बताईन् । धनेश्वरीले घाईते छोरालाई सोमबार उपचारार्थ कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएकी छन् ।

'६ घण्टा डोकोमा बोकेर सुलिचौरसम्म ल्याए । राती १२ बजे भालुवाङ र बिहान ४ बजे कोहलपुर आईपुग्यौ'-उनले भनिन्-गुम्चाल हेल्थपोष्ट ल्याउँदासम्म बेहोस थियो । चिनेजानेका र नातेदारसंग मागेर ल्याएको पैसा सकिन लागेकाले औषधि उपचार गर्न कठिनाई भएको धनेश्वरीले बताईन् ।

अनरामको शिक्षण अस्पतालको अपतकालिन कक्षमा उपचार भईरहेको छ । विपन्न परिवारकी उनी दुई छोरा र एक छोरीलाई घरमै छाडेर आएकी छन् । उनका पति खेमबहादुर रोजगारीका लागि ३ बर्षदेखि कतारमा छन् । 'उहाँलाई फोन गर्नकै लागि मोबाइल चार्ज गर्न छरेखुम गाउँमा जान लागेको थिए'-उनले भनिन् ।

काफलधारा गाउँको उक्त पाखोमा केही बर्षअघि माओवादी र सुरक्षाकर्मीबीचको दोहोरो भिडन्त भएको थियो । त्यहीबेला छुटेको बम बिष्फोट भएको हुनसक्ने धनेश्वरीले बताईन् ।

कोहलपुर शिक्षण अस्पतालले सिटीस्क्यान मेसिन बिग्रेकाले नेपालगन्ज रेफर गर्न लागेको छ । 'आँखा र नाकको जाँच हुँदैछ'-उपचारमा संलग्न डा रोशन निरालाले भने,-'बालकको स्थिती गम्भीर छ ।'

विस्तृत शान्ति सम्झौतामा सरकार र तत्कालिन विद्रोही माओवादीले बारुदी सुरुङ्ग तथा विस्फोटन पदार्थको ३० दिनभित्र रेखांकन तथा भण्डारण गर्नुपर्ने र ६० दिनभित्र निष्कृय पार्ने उल्लेख छ । तर, शान्ति सम्झौतापछि मध्यपश्चिम चार बालबालिकासहित १० जनाको बम बिष्फोटबाट मृत्यु भईसकेको इन्सेकले जनाएको छ । २४ बालबालिकासहित ४५ जना घाइते भएका छन् ।

राज्य र विद्रोहीसंग युद्धमा प्रयोग भएका बारुदी सुरुङ्ग र बिस्फोटक पदार्थहरुको निश्चित तथ्याङ छैन । नेपाली सेनाले युद्वकालमा ५३ स्थानमा बिच्छाएका बारुदी सुरुङहरु र २ सय ७५ स्थानका राखिएका बिष्फोटक बस्तुको रेखांकन गरेको भए पनि प्राविधिक जनशक्तिको कमिले हटाउन ढिलाई भइरहेको जनाएको छ । रेखांकन गरिएका स्थानहरुमध्ये सेनाले ३३ स्थानका ५ हजार ९ सय ५० मानव लक्षित बारुदी सुरुङ्गको नष्ट गरिसकेको बताएको छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks