Loving nepal news

Wednesday, November 10, 2010

खेतान समूहद्वारा गोर्खा बु्रअरीको ३ अर्बको सेयर बिक्री


कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक २५ - व्यवसाय विविधीकरण गर्ने लक्ष्यसाथ मुलुकको अग्रणी उद्यमी घराना खेतान समूहले गोर्खा ब्रुअरी लिमिटेडमा रहेको आफ्नो बहुमत सेयर सिंगापुरस्थित काल्र्सबर्ग कम्पनीलाई करिब ३ अर्ब रुपैयाँमा बिक्री गरेको छ ।

नेपाली उद्यमीले आफ्नो सेयर बेचेको ठूलो कारोबारमध्ये यो पनि हो । यसअघिका ठूला कारोबारमा स्पाइस नेपालले टेलियासोनेरालाई बिक्री गरेको पनि हो । यो बिक्रीसँगै खेतान अहिले सबभन्दा ठूलो रकम हातमै भएको समूहमा समेत परेको छ । यो रकम तिहारअघि नै नेपाल भित्रिइसकेको छ ।

पाँच महिनादेखि चलेको वार्तापछि करिब ३ अर्ब रुपैयाँ -४ करोड अमेरिकी डलर) मा सेयर बिक्री गरेको समूहका अध्यक्ष राजेन्द्र खेतानले बताए । यससँगै गोर्खा बु्रअरीमा काल्र्सबर्गको बहुमत सेयर भएको छ ।

बियर र अन्य पेय पदार्थमा गोर्खा बु्रअरीले करिब एकछत्र आधिपत्य जमाउँदै आएको छ । यसको बजार हिस्सा झन्डै ८० प्रतिशत छ । काल्र्सबर्ग समूहले गोर्खा बु्रअरीलाई सन् २०१० को उत्कृष्ठ कम्पनीका रूपमा पुरस्कृत समेत गरेको थियो । यसैगरी यो कम्पनी गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्ने उत्कृष्ठ १० करदाताको सूचीमा तेस्रो नम्बरमा छ । कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो ।

अग्रणी ब्रान्डका रूपमा स्थापित उद्योगको सेयर बिक्रीको घटनालाई कर्पोरेट क्षेत्रमा आश्चर्यजनक रूपमा हेरिए पनि समूहका अध्यक्ष खेतान यसलाई ठीक समयको ठीक निर्णय भन्छन् । लगानीको अनुपातमा पर्याप्त प्रतिफल पाएको बताउँदै उनले व्यवसाय विस्तार गर्ने उद्देश्यले यो 'डिल' भएको उनले बताए । 'यसपछि भएका व्यवसाय विस्तार र नयाँ क्षेत्रमा लगानी गर्ने काम सुरु भइसकेको छ,' उनले भने, 'हामी विदेशमा पैसा लैजाँदैनौं, स्वदेशमै लगाएर रोजगारी र राजस्वमा योगदान दिँदै आएका छौं ।'

उनका अनुसार स्वास्थ्य र टेलिकम क्षेत्रको लगानी पहिलो प्राथमिकतामा रहेको छ । 'मध्य राजधानीमा १ सय ७० शय्याको अस्पताल र मेडिकल कलेजमा लगानी गर्दै छौ,' उनले भने, 'अर्को क्षेत्र भनेको टेलिकम हो ।' समूहअन्तर्गतका जीवन र निर्जीवन बिमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने पनि उनले जनाए । खेतान समूहअन्तर्गत गोर्खा बु्रअरीबाहेक हिमायलन र नेपाल बैंकमा लगानी छ भने लक्ष्मी बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्सलगायत यसअन्तर्गतका अन्य कम्पनी हुन् ।

मुलुकमा रकम भित्रिनेभन्दा बढी बाहिरिने प्रवृत्तिका कारण शोधनान्तर घाटा बढिरहेका बेला नीति निर्मातालाई पनि यसले निकै सहयोग पुर्‍याउनेछ । कात्तिकको शोधानान्तर अवस्थामा यही रकमका कारण सकारात्मक प्रभाव पर्नेछ । चालु आर्थिक बर्षको दोस्रो भदौ महिनामा शोधनान्तर घाटा ४ अर्ब नाघेको थियो । रेमिट्यान्सको न्यून वृद्धिदर, आयात बढ्ने, निर्यात खुम्चने आदि कारणले यस्तो अवस्था आएको हो ।

यसैबीच कार्लसबर्गले कम्पनीमा आफ्नो बहुमत सेयर पुगेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks