Loving nepal news

Tuesday, November 16, 2010

आन्तरिक उडान ६ घन्टा अवरुद्ध


शिला पाण्डे

काठमाडौ, मंसिर १ - व्यवस्थापनले सूचना नदिई मंगलबार आन्तरिक विमान कम्पनीका उडान झन्डै ६ घन्टा रोकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बाहिर हजारौं यात्रु अलपत्र परे । बिहान कुहिरोका कारण विमानस्थल ढिलो मात्र खुलेको अवस्थामा साउदी अरबका राजकुमार अल वालिद विन तलालको र्फकने समयसमेत परेकाले मंगलबार कम्तीमा ७० वटा आन्तरिक उडान रद्द भएको सम्बद्ध स्रोतले जानकारी दियो ।

बिनासूचना विमानस्थल बन्द गरिँदा यतीका ७, बुद्धको १५ र तारा एयरका ३५ उडान रद्द भए भने अन्य कम्पनीले पनि सेवा दिन पाएनन् । 'विश्वकै शक्तिशाली व्यक्तित्व ओबामा आउँदा पनि भारतले २२ मिनेट मात्र विमानस्थल बन्द गरेको थियो,' एक विमान कम्पनीका अधिकारीले भने 'बन्द गर्नुथियो भने पनि एक दिन अगाडि सूचना दिनुपथ्र्यो ।'

खराब मौसमका कारण अन्य दिनको तुलनामा ढिलो गरी (बिहान १०ः१५ बजे) मात्र विमानस्थल खुलेकाले उडान रद्द भएको विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठले बताए । 'मौसम बिगि्रएर भएको ढिलाइमा व्यवस्थापनको दोष हुँदैन,' उनले भने । श्रेष्ठ आजै बैंककबाट राजधानी फर्किएका हुन् । उनी आएको जहाजसमेत आकाशमा एक घन्टा र ट्याक्सीवेमा ४५ मिनेट होल्ड भएको थियो ।

व्यवस्थापनले १०ः३० पछि एकैचोटि साँझ साढे ४ बजे आन्तरिक उडानका लागि विमानस्थल खुला गरेको बुद्ध एयरका बजार प्रबन्धक रुपेश श्रेष्ठले बताए । बुद्धका मात्र १५ उडान रद्द भएका छन् । 'आज पाँच दिनपछि लुक्ला विमानस्थल खुलेको थियो,' उनले भने, 'तर उडान गर्न नसक्दा त्यहाँबाट फर्किने पर्यटक तथा यात्रुलाई बढी समस्या भयो ।' मंगलबार लुक्लाका लागि १ मात्र उडान भयो । त्यस्तै बुद्धको पोखराबाट आउने जहाज आकाशमै एक घन्टा होल्डमा बस्दा इन्धन सकिने अवस्थामा पुगेपछि पुनः पोखरा नै फर्किएको थियो । 'तेल भरेर फेरि काठमाडौं ल्याइएको थियो,' जोशीले थपे, 'यस्तो हुँदा कम्पनीको सञ्चालन खर्च बढ्न जान्छ ।' पाइलटले तेल सकिएको जानकारी गराउँदा समेत टावरले 'जताबाट आएको उतै र्फकन' भनेका थिए ।

विमानस्थलमा पर्यटकदेखि केटाकेटी र वृद्धसमेत घन्टौं अलपत्र देखिएको एक प्रत्यक्षदर्शीले बताए ।

विमानस्थल व्यवस्थापनले आन्तरिक उडान रोकेर अन्तर्राष्ट्रिय उडानलाई मात्र प्राथमिकता दिएको यती एयरलाइन्सका प्रदीप शाहले बताए । 'एयर ट्राफिकको कारण देखाएर उडान रोकियो,' उनले भने, 'तर पूरा सच्चाइ यो होइन ।' उनले आन्तरिक उडान गर्ने कम्पनीलाई हेप्ने प्रवृत्ति बढेको गुनासो गरे । 'सबै जहाज २ घन्टा होल्ड भएका छन्,' उनले थपे ।

मौसम खराबी मात्र कारण भए उडान रद्दको संख्या निकै कम हुने विमान कम्पनीहरू बताउँछन् । 'विमानस्थल मौसमका कारण ढिलो खुल्यो, हामी पनि बुझ्छौं,' ती अधिकारीले प्रश्न गरे, 'तर करिब साढे दुई घन्टासम्म एउटा पनि उडान गर्न नदिनुको कारण के हो ?' आन्तरिक उडान रद्द भए पनि अन्तर्राष्ट्रिय सम्पूर्ण उडान भने भएका छन् । महाप्रबन्धक श्रेष्ठका अनुसार आन्तरिक विमान कम्पनीले आइएफआरमा उडान गर्न नसक्ने भएकाले बढी उडान रद्द भएको हो । 'मौसम राम्ररी नखुलेका कारण भिएफआर उडान गर्न सक्ने अवस्था थिएन,' उनले भने ।

विमानस्थल व्यवस्थापनको लापरबाहीप्रति वायु सेवा सञ्चालक संघले समेत दुःख व्यक्त गरेको छ । संघले मंगलबार जारी गरेको विज्ञप्तिमा बिहान १० बजे विमानस्थल खुला गरिएकामा ११ः३० देखि नै आन्तरिक उडान तथा अवतरण अवरुद्ध भएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख छ । आन्तरिक वायु सेवा कम्पनीले नियमित हजारौं यात्रु ल्याइरहेको तथा उद्धारका लागि समेत उडान गर्दै आएकामा एक्कासि उडान रोक्दा अािर्थक भार पनि थपिएको विज्ञप्तिमा छ । संघले सेवाग्राहीलाईर् पूर्वसूचना नदिई सेवा अवरुद्ध हुनु गम्भीर विषय भएकाले यसतर्फ सम्बन्धित सबै निकायलाई ध्यान दिन आग्रह गरेको छ । 'यसरी हुने लापरबाहीका कारण पर्ने

आर्थिक नोक्सानीको दायित्व पनि व्यवस्थानले लिनुपर्नेछ,' संघद्वारा जारी विज्ञप्तिमा छ ।

उडान/अवतरणमा भएको ढिलाइका कारण अन्तर्राष्ट्रिय उडान गर्ने सिल्क एयर पनि 'डाइभर्ट' गरी केही समयपछि अवतरण गरेको विमानस्थलले जनाएको छ । अवतरण गरे पनि फर्किन भने सकेन,' महाप्रबन्धक श्रेष्ठले भने 'अन्तर्राष्ट्रिय उडानलाई मात्र प्राथमिकता दिएको भन्नु गलत हो ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks