अछाम, कार्तिक २८ - मालिका विकास बैंकको मंगलसैनस्थित शाखाका कर्मचारीले निक्षेपकर्ताको खाताबाट ३० लाख रुपैयाँभन्दा बढी अवैध तरिकाले झिकेको पाइएको छ ।
मंगलसैन ७ भाटबाडाका 'जोगी' भनिने देवराज भाटले काटेको चेक बाउन्स भएपछि नक्कली दस्तखत गरेर रकम झिकिएको रहस्य खुलेको हो । २० महिना मुम्बईमा काम गरेर हालै फर्केका उनले चेकबुक पनि भारत जाँदा साथै लिएर गएका थिए । भारत जाँदा खातामा ३० हजार ५ सय रुपैयाँ जम्मा गरेर गएका जोगीको खातामा फर्किंदा एक हजार रुपैयाँ मात्र थियो । '२९ हजार रुपैयाँको चेक काटेर भुक्तानीका लागी बैंकमा गए,' उनले भने, 'तर खाताबाट २९ हजार ५ सय रुपैयाँ बैंककै कर्मचारीले लगिसकेका रहेछन् ।'
यसैगरी मंगलसैन ७ का तेजप्रसाद ढुंगानाले मालिका सुपरसेभिङ योजनाअन्तर्गत खोलेको खाताबाट एक लाख रुपैया गायव भएको थाहा पाएपछि बैंकका प्रबन्धकले रकम फिर्ता दिएका थिए । 'रकम झिकेको थाहा पाएर कुरा गर्दा म्यानेजरले एक लाख फिर्ता दिए,' उनले भने ।
शेरा गाविस जामाका देवानन्द खतिवडाको चेकबुक बैंकबाटै हराउनुका साथै खाताबाट ९ हजार ६ सय झिकिएको पाइयो । खतिवडाले भनेपछि केरकार गर्दा बैंकका कर्मचारीले 'रकम फिर्ता गर्छु' भनेका छन् । भाट, ढुंगाना र खतिवडा मात्र नभएर शाखामा अधिकांश निक्षेपकर्ताको खाताबाट ३० लाख रुपैयाँभन्दा बढी झिकिएको रहस्य खुलेको छ । बैंक स्रोतका अनुसार करिब ४ हजार निक्षेपकर्तामध्ये २ हजार बढीको खाताबाट अवैध तरिकाले रकम झिकिएको छ ।
रकम झिकिएको विषयलाई लिएर बैंकका कर्मचारीहरू एक अर्कालाई दोष दिइरहेका छन् । यसरी निक्षेपकर्ताको रकम अवैध तरिकाले झिक्ने कार्यमा बैंकका प्रबन्धकदेखि सुरक्षा गार्डसम्मको संलग्नता देखिएको छ । निक्षेपकर्ताका अनुुसार बैंकका कर्मचारीले नक्कली चेकको प्रयोग, चेकबुक नै गायब गरेर, निक्षेपकर्तालाई चेक दिँदा चेकका बीचबाट एक या दुई पाना तानेर नक्कली दस्तखत गरेर रकम झिक्ने गरेको पाइएको छ ।
बैंकमा रकम जम्मा गर्न जाँदा नक्कली भौचर दिएर निक्षेपकर्ताको खातामा जम्मा नगरेर आफूसँगै राख्ने गरेका छन् । पीडित जनाली बण्डालीका पूर्णबहादुर खड्काले भने, 'मलाई नक्कली भौचर दिए खातामा रकम जम्मा गरिदिएनन् ।'
शाखाका प्रबन्धक विर्षबहादुर बोहराले कर्मचारीले नक्कली दस्तखत गरेर रकम झिकेको स्विकारे । 'गल्ती भयो केही कर्मचारीबाट बदमासी भएको पक्कै हो,' हाल धनगढीमा रहेका बोहराले भने, 'केही निक्षेपकर्ता ठगिएका छन् । उनीहरूको रकम फिर्ता गर्ने तयारी गरिरहेका छौं ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks