काठमाडौं, कार्तिक २० - भारतले नेपालका माओवादी र भारतका माओवादीबीच सैन्य तथा वैचारिक प्रशिक्षण आदानप्रदान गर्ने समझदारी भएको जनाएको छ ।
नेपालस्थित भारतीय दूतावासले गत कात्तिक ८ गते नेपाल सरकारलाई गोप्य पत्रचार गरी (माओवादी) र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) बीच त्यस्तो सहमति भएको जनाएको हो ।
उपप्रधानमन्त्री सुजाता कोइराला, गृहमन्त्री भीम रावल, परराष्ट्र सचिव मदन भट्टराई र गृहसचिव गोविन्द कुसुमलाई पठाइएको पत्रमा पोलिटब्युरो सदस्य हरिबोल गजुरेल, स्थायी समिति सदस्यसमेत रहेका माओवादी सेनाका कमान्डर वर्षमान पुनलगायतका माओवादी नेता र बिहारको सितामरीबाट 'पंकज' को नेतृत्वमा आएका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का तीन नेताबीच नेपालको सर्लाहीमा त्यस्तो समझदारी भएको उल्लेख छ ।
'एनेकपा (माओवादी) ले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का तीन सयसम्म कार्यकर्तालाई नेपालमा प्रशिक्षण दिने समझदारी पोलिटब्युरो सदस्य हरिबोल गजुरेल, पोलिटब्युरो सदस्यसमेत रहेका माओवादी सेनाका कमान्डर वर्षमान पुनलगायतका नेपालका माओवादी नेता र बिहारको सितामरीबाट 'पंकज' को नेतृत्वमा आएका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का तीन नेताबीच भएको छ,' पत्रमा उल्लेख छ, 'नेपालका माओवादीले भारतका माओवादी कार्यकर्तालाई जनमुक्ति सेना पठाएर मोतिहारी र सितामरी जिल्लामा प्रशिक्षण प्रदान गर्ने समझदारी भएको छ ।'
पत्रमा गत जुनमा नेपालका माओवादीले दुई सय भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का कार्यकर्तालाई प्रशिक्षण दिएको दाबी गरेको छ । 'भारतको बिहार, छत्तीसगढ, झारखण्ड र उडिसाबाट आएका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का कार्यकर्तालाई एनेकपा (माओवादी) ले बुटवलदेखि करिब दुई किलोमिटर टाढा रहेको क्षेत्रमा प्रशिक्षण दिएको हो,' पत्रमा उल्लेख छ, 'उनीहरूलाई प्रशिक्षण दिनेमा एनेकपा (माओवादी) का विनोद गुरुङ, नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न नेपालगन्जका रजक अन्सारीलगायतका माओवादी नेता संलग्न छन् ।'
पत्रमा भारतीय कम्युनिस्ट पार्टी -माओवादी) का ती कार्यकर्तालाई लस्कर-ए-तोइबाका सदस्य लतिफ खानले विस्फोटक पदार्थ बनाउनेसम्बन्धी प्रशिक्षण दिएको उल्लेख छ । 'पाकिस्तानबाट आएका लस्कर-ए-तोइबाका सदस्य लतिफ खानले भारतीय कम्युनिस्ट पार्टी माओवादीका कार्यकर्तालाई विस्फोटक पदार्थ निर्माणसम्बन्धी प्रशिक्षण दिए ।'
पत्रको बुँदा 'सी' मा हेटौंडादेखि १० करिब किलोमिटर टाढा रहेको हरिखोला जंगलमा वाईसीएलले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का कार्यकर्ताका लागि प्रशिक्षण शिविर चलाएको दाबी छ । उक्त प्रशिक्षणमा गजुरेल र पुनभन्दा माथिल्ला तहका 'वरिष्ठ माओवादी नेता' ले सहयोग पुर्याएको उल्लेख छ ।
माओवादीले भारतको उक्त आरोपलाई ठाडै खारेज गरेको छ ।
त्यसैगरी गत अगस्टमा सैनामैनास्थित माओवादी लडाकुका चौथो डिभिजनमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का करिब ५० कार्यकर्तालाई प्रशिक्षण दिइएको उल्लेख छ । 'गत अगस्टमा नेपाल छिरेका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का करिब ५० कार्यकर्ताले सैनामैना शिविरमा प्रशिक्षण लिए,' पत्रमा उल्लेख छ, 'सैनामैना शिविर जनमुक्ति सेनाको चौथो डिभिजन हो ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks