Loving nepal news

Saturday, November 27, 2010

कांग्रेसमा पदाधिकारी मनोनयन विवाद बढ्यो

कुलचन्द्र न्यौपाने

काठमाडौ, मंसिर १२ - कांग्रेस सभापति सुशील कोइराला पदाधिकारी मनोनयन विवादमा फसेका छन् । विवाद बढेपछि उनले शनिबार टुंगो लगाउनुपर्ने मनोनयनमा कुनै निर्णय लिन सकेनन् । महामन्त्रीमा धेरै आकांक्षी भएकाले बढी विवाद छ ।

महामन्त्री विवादका कारण आइतबारको केन्द्रीय समिति बैठकमा उपसभापतिमा रामचन्द्र पौडेललाई प्रस्ताव गर्ने र सँगै केही केन्द्रीय सदस्य मनोनयन गर्ने सम्भावना रहेको कोइराला निकट स्रोतले बतायो । शेरबहादुर देउवाले भने कोइरालालाई आइतबारको बैठकमा पदाधिकारी मनोनयन नगर्न सुझाव दिएका छन् । देउवा पक्षीय सदस्यरूहको शनिबारको भेलाले सभापति कोइरालालाई पदाधिकारी मनोनयन प्रस्ताव तत्काल रोकेर सहमतिका लागि सबै पक्षसँग छलफल गर्ने निष्कर्ष निकालेको हो । 'देउवा पक्षसँग पनि छलफल गरेर सहमतिका साथ प्रस्ताव गर्न अनुरोध गर्ने र त्यसो नगरिए विरोध जनाउने निष्कर्ष हाम्रो छ,' देउवा निकट एक नेताले भने, 'अहिलेसम्म कोइरालाले देउवा पक्षसँग पदाधिकारी मनोनयनबारे छलफल गर्नुभएको छैन ।' प्रस्तावित पदाधिकारी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्थाका कारण कोइराला संकटमा परेका हुन् । आफ्नो समूहबाट उपसभापतिमा रामचन्द्र पौडेललाई ल्याउनेमा ठूलो विवाद नदेखिए पनि महामन्त्री र सहमहामन्त्रीमा विवाद चुलिएपछि कोइरालाले शनिबार निर्णय गर्न सकेनन् । विधानअनुसार महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका विभाग र समिति निर्माण गरिसक्नुपर्ने व्यवस्थाअनुसार शनिबार घोषणा गरी आइतबारको बैठकमा पेस गर्ने कोइरालाको योजना थियो । शनिबार महाधिवेशन सम्पन्न भएको दुई महिना बितेको छ ।

उपसभापति र महामन्त्रीमध्ये एउटा पद पाउनुपर्ने माग गर्दै आए पनि कोइरालाले त्यसबारे परामर्श नगरी एकल निर्णय लिन लागेको भन्दै देउवा पक्ष्ा असन्तुष्ट बनेको हो । कोइराला सहयोग माग्न शुक्रबार देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । कोइरालाले भागबन्डाको राजनीति त्यागेर आफूलाई सघाउन देउवासँग आग्रह गरेका थिए । पदाधिकारीमा कसलाई ल्याउँदै हुनुहुन्छ भनेर देउवाले प्रश्न गर्दा कोइरालाले केही नबोली सहयोग गर्नमात्र आग्रह गरेको स्रोतले बतायो । दुई दिनअघि उपसभापतिमा पौडेल, महामन्त्री र सहमहामन्त्रीमा केन्द्रीय सदस्य रामशरण महत र कृष्णप्रसाद सिटौलालाई ल्याउने मनस्थिति बनाएका थिए । त्यस्तो निर्णय लिए शेरबहादुर देउवा पक्ष र आफ्नै समूहका प्रभावशाली केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले खुलेरै विरोधमा उत्रने चेतावनीदिएपछि कोइराला अप्ठ्यारोमा परेका हुन् । केसीले महाधिवेशनकै बेला दिइएको बचन र जनमतलाई कदर गरी आफूलाई महामन्त्री बनाउनुपर्ने माग गर्दै आएका छन् । 'मैले मानेको नेता, पार्टीको सभापतिको बोली र प्रतिबद्धताको प्रतीक्षा र परीक्ष्ाामा छु,' केसीले कान्तिपुरसँग भने, 'सभापतिले दिएको बचन र जनमतको पनि कदर हुनुपर्छ भन्ने मेरो जोड हो ।' सुजाता कोइरालाले पनि आफूलाई उपसभापति नबनाउने पक्कापक्की भएपछि सभापति कोइरालासँग असन्तुष्ट छिन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks