Loving nepal news

Friday, November 5, 2010

तीस प्रतिशत नेपाली मोबाइलधारी

काठमाडौ, कार्तिक १९ - २०५८ सालमा ल्याएको स्वयं कर घोषणा कार्यक्रममा सरकारले नागरिकलाई करको दायरामा ल्याउन मोबाइल प्रयोग गर्ने व्यक्ति लक्षित गरेर पत्र पठाएको थियो । त्यस बेला मोबाइल बोक्ने नेपाली धेरै धनी ठहरिन्थे ।
अहिले अवस्था परिवर्तन भएको छ । हाल प्रत्येक सय नेपालीमा ३० जनाको हातमा मोबाइल पुगेको छ । दूरसञ्चार प्राधिकरणले हालै प्रकाशित गरेको एक प्रतिवेदनमा यो तथ्यांक उल्लेख छ । गत बर्षभन्दा एक सयमा १० जना बढीले माबवाइल बोक्न थालेको प्राधिकरणले जनाएको छ ।
नेपालको दूरसञ्चार क्षेत्रमा नीजि कम्पनी आगमनसँगै बढेको प्रतिस्पर्धाले सस्तिएको मोबाइल शुल्क यसको प्रमुख कारण हो । साथमा मोबाइल सेटको मूल्यमा आएको उच्च गिरावट अर्को कारण हो । नेपाल टेलिकमले करिब ११ वर्षअघि मोबाइल सेवा सुरु गर्दा ५० हजार रुपैयाँमा माबवाइल सेवा लिन पाइन्थ्यो । अहिले १ हजार रुपैयामा मोबाइलको सिम र सेट पाउन सकिन्छ । अझै नेपालमा लाग्ने मोबाइल शुल्क छिमेकी मुलुक भारतलगायत देशमा भन्दा बढी छ ।
मुलुकको दूरसञ्चार क्षेत्रमा भएको प्रगति विवरणअनुसार भदौसम्ममा नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या ८३ लाख ४ हजार ४ सय ४८ पुगेको छ । गत भदौमा भने ५६ लाख ५२ हजार ८ सय ८१ जना नेपालीले मोबाइल बोक्थे । त्यस बेलामा प्रति एक सय नेपालीमा २० जनाले मोबाइल प्रयोग गर्थे ।
यो संख्या विकासशील मुलुकको तुलनामा भने धेरै कम हो । अर्को एक अध्ययन प्रतिवेदनअनुसार विकसित मुलुकमा एक सय मानिसले १ सय १६ मोबाइल बोक्छन् । 'भदौसम्ममा नेपालको मोबाइल २९ दशमलव ६१ प्रतिशत जनतामा पुगेको छ,' प्राधिकरणको प्रतिवेदनमा छ ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी उपभोक्ता जिएसएम मोबाइलका छन् । जिएसएम मोबाइल प्रयोगकर्ता ७४ लाख ६१ हजार ८ सय ४६ छन् ।
यसमा सबैभन्दा पहिलो मोबाइल सेवा सुरु गर्ने नेपाल टेलिकमको हिस्सा बढी छ । टेलिकमका जिएसमए मोबाइल प्रयोगकर्ता ४० लाख ३३ हजार ३ सय ५७ छन् । अर्को मोबाइल सेवा प्रदायक कम्पनी स्पाइस नेपाल -एनसेल) का उपभोक्ता ३४ लाख २८ हजार ४ सय ९१ पुगेका
छन् । नेपाल टेलिकमले प्रदान गरिरहेको सिडिएमए मोबाइल प्रयोगकर्ताको संख्या भदौसम्ममा
८ लाख ४२ हजार ६ सय पुगेको छ ।
प्रतिवेदनले नेपालको टेलिफोन सेवा प्रयोगकर्ताको संख्यालाई मोबाइल सेवाले धेरै बढाइदिएको जनाएको छ । आधारभूत टेलिफोन, मोबाइल र अन्य सेवा प्रयोगकर्ताको संख्या जम्मा ९६ लाख २८ हजार ६ सय ३९ पुगेको छ । योसँगै टेलिघनत्व ३४ दशमलव ३३ प्रतिशत पुगेको हो । नेपालको जनसंख्या यस वर्ष २ करोड ८० लाख पुग्ने अनुमानको आधारमा यो तयार गरिएको हो ।
विवरणअनुसार आधारभूत फोन लाइन प्रयोगकर्ता नेपाली ८ लाख ४० हजार छन् ।
आधारभूत फोन सेवा नेपाल टेलिकम, युनाइटेड टेलिकम, स्मार्ट टेलिकम, एसटिएम टेलिकम, नेपाल स्याटलाइट टेलिकमले दिइरहेका छन् ।
टेलिकमले केही महिना अघिबाट तीव्र विस्तारको तयारी गरेको थि्रजी सेवा प्रयोगकर्ता ४ हजार ९९ पुगेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks