Loving nepal news

Friday, November 19, 2010

सीताराम मिल्कले उत्पादन विविधीकरण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर ३ - दूध र घिउ उत्पादनमा सीमित सीताराम गोकुल मिल्कले चाँडै उत्पादनमा विविधीकरण गर्ने भएको छ । दूधजन्य उत्पादनको बढ्दो बजारमा उद्योगले चाँडै दही, पनिर र मिठाईको उत्पादन ल्याउन लागेको कार्यकारी निर्देशक सुमित केडियाले बताए ।

'एक महिनाभित्रै दही र पनिरको उत्पादन थाल्दै छौं,' केडियाले भने, 'त्यसपछि विविध प्रकारका मिठाईका परिकार उपभोक्तासमक्ष आउनेछ ।' औद्योगिक घराना केडिया अर्गनाइजेसनले राजधानीमा ठूलो लगानीमा डेरी उद्योग स्थापना गरेको १३ वर्ष भएको छ । तर अहिलेसम्म डेरीले पाउचमा प्रशोधित दूध र घिउ मात्र उत्पादन गरिरहेको छ । सीमित बजारका साथै कम्पनीको साखअनुसारको उत्पादन उपभोक्तासमक्ष पुर्‍याउन नसकिएला भनेर उत्पादन विविधीकरणमा समय लागेको केडिया बताउँछन् ।

पछिल्लो समयमा घरेलु बजारमा दूधजन्य उत्पादनको बजार वृद्धि भएकाले थप उत्पादन ल्याउन लागेको उनी बताउँछन् । 'दूधजन्य उत्पादनको बजार छक्क पर्ने गरी बढेको छ,' उनी भन्छन् । स्वास्थ्य चेतनाको कारण मासुजन्य उत्पादनको साटो दूधजन्य उत्पादन खाने चलन बढ्दै गएको उनको अनुमान छ ।

सीताराम गोकुलका साथै सुजल डेरी, चितवन डेरी, नेपाली डेरीलगायत उद्योगमार्फत निजी क्षेत्रले डेरी उद्योगमा ठूलो लगानी गरेका छन् । तर कच्चा दूध अभावले उद्योगहरू क्षमताअनुरूप चलेका छैनन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले अहिले दैनिक २० हजार लिटर दूध भारतबाट आयात गरिरहेको छ ।

दैनिक १ लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको आफ्नो उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा चलाउनुपरेको केडिया बताउँछन् । सीताराम दूधले उपभोक्ताको मन जिते पनि माग पूरा गर्न नसकेको उनको गुनासो छ । मुलुकमा यतिबेला दैनिक ३ लाख ७५ हजार लिटर दूध अपुग रहेको सरकारी आँकडा छ । संगठित क्षेत्र (डेरी उद्योग) मै दैनिक ३ लाख लिटर दूध पुगेको छैन ।

तर सरकारले जाँगर चलाउने हो भने दूधको अभाव चाँडै पूरा गर्न सकिने उनको भनाइ छ । गत वर्ष संस्थानसँग दूध खरिद गर्ने भारतको पटना डेरी अहिले संस्थानलाई दूध बिक्री गर्ने अवस्थामा पुगेको छ । बिहार सरकारले बाढी पीडितहरूलाई राहतस्वरूप उन्नत नश्लका गाईभैंसी वितरण गरेको परिणाम अहिले त्यहाँ उत्पादन बढेको हो ।

'यहाँ पनि उन्नत नश्लका पशु आयात गरी कृषकलाई नरम ब्याजदरमा उपलब्ध गराउने हो भने एक वर्षभित्र हामी दूधको अभावबाट मुक्त हुन सक्छौं,' उनले भने ।

हाम्रा किसानले पालेका गाईभैंसीले दैनिक १० लिटरको औसतमा दूध दिन्छन् । तर भारतको पञ्जाब, हरियाणामा किसानले दैनिक २० लिटर दूध उत्पादन गरिरहेका छन् । 'हामीले त्यहाँका चौपाया भित्र्याउने हो भने दूधको उत्पादन बढाउन सकिन्छ,' उनले थपे ।

भारत सरकारले पशु चौपायाको निर्यातमा रोक लगाएको छ । रोककै कारण भारतका योगगुरु रामदेवले नेपालमा सित्तैमा उपलब्ध गराउन लागेको ५० हजार गाई भित्र्याउन नसकेको उनले सुनेका छन् । लुकाई छिपाई ल्याइएका पशु चौपायालाई यहाँको पशु क्वारेन्टाइनले भित्र्याउने अनुमति दिँदैन । सरकारले पहल गरी केही हजार दुधालु गाईभैंसी भित्र्याउन सके दूधमा आत्मनिर्भर हुन सकिने उनी बताउँछन् ।

बेरोजगारी समस्या समाधानमा महत्त्वपूर्ण योगदान गर्न सक्ने उद्योग भएकाले सरकारले दूध उद्योगको समस्या तत्काल सम्बोधन गर्नुपर्ने बताउँछन् । सीताराम गोकुल मिल्कको कारण ८० हजार किसानले पशुपालन गरी आयआर्जन गरेका छन् । 'हामीले दूध अभावको समस्या समाधान गर्दा थप लाखौं रोजगारी सिर्जना हुन्छ,' उनले भने । डेरी उद्योगले दक्ष जनशक्तिको अभाव झेलिरहेको सुनाउँदै सरकारले डेरी इन्स्िटच्युट स्थापना गर्न उनको सुझाव छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks