Loving nepal news

Sunday, November 28, 2010

प्रधानमन्त्रीसहित एमाले शीर्ष नेता विदेशतिर


दुर्गा खनाल

काठमाडौं, मंसिर १३ - राजनीतिक संकट चुलिइरहेका बेला प्रधानमन्त्रीसहित एमालेका शीर्ष नेताहरू मंगलबारदेखि झन्डै एक साता लामो विदेश यात्रामा निस्कँदै छन् ।

प्रमुख सत्तारूढ दलका नेताहरू एकैचोटि विदेश भ्रमणमा जाने भएपछि संसद्को अधिवेशन बोलाउने, प्रधानमन्त्री निर्वाचनलगायत विषयको अन्योल अझै केही समय जारी रहने भएको छ ।

अध्यक्ष झलनाथ खनाल श्रमिक पार्टीहरूको सम्मेलनमा भाग लिन बुधबार दक्षिण अफ्रिका जाँदैछन् भने प्रधानमन्त्री माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी ओली मंगलबार कम्बोडिया जाने कार्यक्रम छ । प्रधानमन्त्री नेपाल र नेता ओली एसियाली राजनीतिक दलहरूको संगठन (आईक्याप) को १४ औं सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।

मंसिर १५ देखि १८ सम्म हुने सम्मेलनमा प्रधानमन्त्री नेपाल आईक्यापको स्थायी समिति सदस्य र एमाले नेताका हैसियतमा भाग लिन जान लागेका हुन् । झन्डै ४० भन्दा बढी राष्ट्रका राजनीतिक दलका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुँदैछन् ।

सम्मेलन सकिएलगत्तै अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा भाग लिन प्रधानमन्त्री नेपाल बेल्जियम जाने कार्यक्रम छ । बेल्जियमबाट प्रधानमन्त्री २४ गते फर्किने छन् । अतिकम विकसित राष्ट्रहरूको अध्यक्ष नेपाल भएकाले त्यसको प्रतिनिधित्व प्रधानमन्त्रीले नै गर्नुपर्ने भएको हो । एमाले स्रोतका अनुसार प्रधानमन्त्री नेपालले नभ्याएको खण्डमा नेता ओलीले नै प्रतिनिधित्व गर्ने गरी यसअघि तय भएको थियो । तरपछि प्रधानमन्त्रीले समय निकालेका थिए ।

अध्यक्ष खनाल कम्युनिस्ट पार्टीको नेताका हैसियतमा दक्षिण अफ्रिकामा हुने सम्मेलनमा भाग लिन जान लागेका हुन् । उनी पाँच दिनपछि स्वदेश फर्किने छन् । दक्षिण अफ्रिका र कम्बोडियामा सहभागी हुने दुवै कार्यक्रम यसअघि नै तय भएका थिए । एमालेले नेताहरूका यी कार्यक्रमका कारण मंगलबारदेखि हुने गरी तय भएको केन्द्रीय समिति बैठक पर सारेको थियो ।

संसद् घटनालगत्तै माओवादी विस्तारित बैठकमा केन्दि्रत भएपछि दलहरूबीच वार्ता हुन सकेको छैन । माओवादी बैठक शनिबार सकिएपछि लगत्तै तीन प्रमुखमध्येको एक दलका सबै शीर्ष नेताहरू विदेश जाने कार्यक्रमले अझै १० दिन छलफल अघि बढ्ने सम्भावना छैन ।

बजेट पेस गर्नेक्रममा भएको माओवादी हूलदंगाले राजनीतिक गतिरोध झन् बढेको छ । संसद्को अधिवेशन बोलाउन माओवादी, कांग्रेसलगायत दलले सरकारसँग माग गरिरहेका छन् । प्रधानमन्त्रीको सिफारिसमा मात्र संसद् अधिवेशन आह्वान हुन सक्ने भएकाले उनी नफर्किउन्जेल अधिवेशन बोलाउनेसम्बन्धी छलफलसमेत अघि बढ्न सक्दैन ।

अन्य दलले तत्काल छलफल गरी सहमति खोज्नपुर्ने भन्दै बजेट अधिवेशन बोलाउनेलगायत विषयमा सरकारलाई दबाबको पहल गर्न आइतबार सभामुख सुवास नेम्वाङलाई पनि आग्रह गरेका छन् । सभामुखले नेताहरूको विदेश भ्रमणलाई लक्षित गर्दै मुलुकभित्रै बसेर छिटो समस्या समाधान गर्न आग्रह गरेका छन् । 'संसद् तत्काल बोलाइहाल्नुपर्ने अवस्था छ,' उनले भने, 'त्यसका लागि नेताहरूका विदेश जाने कार्यक्रम छन् भने छाडेर भए पनि संवाद र छलफल जारी राख्नुपर्‍यो ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks