सरोजराज अधिकारी
पालुङटार (गोरखा), मंसिर ११ - पालुङटारमा चर्को बहस गरेर फर्केपछि माओवादीहरू के गर्छन् ? के अब पनि उनीहरू मिलेर बस्न सक्छन् ? यति व्यक्तिगत गालीगलौजमा उत्रिसकेको पार्टी नफुटिकन अगाडि बढ्न सक्छ ? यसबारे त विस्तारै छलफल हुँदै जाला, तर पालुङटारमा कुरा नमिले पनि शीर्षनेताहरू संविधानसभाको बाँकी रहेको छ महिनाका लागि संक्रमणकालीन कार्यनीति बनाउनचाहिँ सहमत भएका छन् ।
प्रधान अन्तरविरोधको टुंगो लगाउने र नेतृत्व परीक्षणसमेत हुने गरी उपाध्यक्ष भट्टराईले उठाएको महाधिवेशनको मुद्दा तत्कालका लागि थाती रहने निश्चितप्रायः भएको छ । अब माओवादीसामु संविधानसभाको बाँकी रहेको समयावधि अर्थात् आगामी छ महिनासम्म
के गर्ने भन्ने तत्कालीन कार्यनीतिको प्रश्नमात्र बाँकी छ ।
उपाध्यक्ष वैद्यले भनेजस्तो अलमल नगरी जनविद्रोहको तयारी गर्ने कि शान्ति प्रक्रियामै रहेर घनिभूत छलफल गरी बाँकी रहेको समयसीमाभित्रै जनपक्षीय संविधान बनाउने ? अध्यक्ष दाहालका निम्ति यो प्रमुख चुनौतीका रूपमा देखापरेको छ । किनभने, प्रमुख नेतृत्वमा रहेकाले दुई उपाध्यक्षका फरक-फरक विचार र बैठकमा आएका सुझाव समेटेर तत्कालीन कार्यनीति बनाउने जिम्मेवारी उनकै हो ।
केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि हालको छैटौं विस्तारित बैठकसम्म आइपुग्दा
दाहालले आफूलाई उपाध्यक्ष भट्टराईप्रति बढी आक्रामक र अर्का उपाध्यक्ष वैद्यप्रति उदार देखाउँदै आएका छन् । त्यसो भए के माओवादी अब वैद्यको जनविद्रोहको नीतिमा अगाडि बढ्छ त ? त्यस्तो हुने छैन, किनभने अहिलेको राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशका कारण पनि माओवादीलाई शान्ति प्रक्रिया छाड्न सहज छैन । तर कार्यकर्ताको खपतका लागि दबाबमूलक आन्दोलन जारी राख्नचाहिँ बाध्य हुनेछ ।
मंगलबार कान्तिपुरलाई दिएको करिब एक घन्टा लामो अन्तर्वार्तामा भट्टराईमाथि निकै खनिएका दाहाललाई उठ्ने बेलामा सोधियो, 'अब दस्तावेजमा वैद्य र व्यवहारमा बाबुरामलाई समेटेर अघि बढ्ने नीति लिने त होला नि, होइन अध्यक्षज्यू ?' त्यसपछि भने उनले हाँसो रोक्न सकेनन्, आफ्नो पुरानै शैलीमा कुम हल्लाउँदै खित्खिताएर हाँसे । हो, अब दाहालको नयाँ नीति यस्तै हुनेछ ।
'शान्ति र संविधानका निम्ति अझ बढी लचकता, इमान्दारी र गम्भीरतासाथ लाग्नेछौं । तर शान्ति प्रक्रिया र संविधान निर्माणविरुद्ध षड्यन्त्र भइरहेकाले सँगसँगै पार्टी र जनतालाई सतर्क राख्न प्रचारात्मक र दबाबमूलक कार्यक्रम पनि अघि बढाइनेछ,' अध्यक्ष दाहालले भने । स्रोतका अनुसार दस्तावेजमा यस्ता संघर्ष र आन्दोलनका कार्यक्रममा अघि 'जन' थपेर वैद्यलाई खुसी पार्ने कोसिस गरिनेछ ।
अध्यक्ष दाहालले कान्तिपुरसितकै अन्तर्वार्तामा जसरी पनि शान्ति प्रक्रियामा रहेर जसोतसो संविधान बनाउनुपर्छ भन्ने भट्टराईको विचारले पार्टीलाई दायाँ -दक्षिणपन्थ) दिशामा लैजाने बताएका थिए । त्यसैगरी 'हामीले चाहेर पनि शान्ति र संविधान आउँदैन, त्यसैले यतापट्ट िअल्मलिनुभन्दा जनविद्रोहमा जानुपर्छ' भन्ने वैद्यको प्रस्तावले पार्टीलाई बायाँ -उग्रवामपन्थ) तिर लैजाने र यसबाट अहिलेसम्म प्राप्त क्रान्तिको उपलब्धि धरापमा पर्ने धारणा उनले राखेका थिए । 'माक्र्सवादमा यी दुवै कुरा
हँुदैनन् । माक्र्सवाद दायाँ र बायाँको बीचबाटै जान्छ,' दाहालको कथन थियो । राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशका कारण विद्रोहमा गइहाल्ने अवस्था नभएकाले शान्ति प्रक्रियामै रहनुपर्ने र २५ हजारभन्दा बढी पूर्णकालीनसहित हजारौं कार्यकर्तालाई काम दिइरहन संघर्षका कार्यक्रमसमेत गरिरहनुपर्ने बाध्यता माओवादी नेतृत्वसामु छ । साथै एक नम्बरको पदमा रहेकाले गुटबन्दी रोक्न वैद्य र भट्टराईको दुई धारबीच सन्तुलन मिलाउनुपर्ने जिम्मेवारी पनि आफ्नै भएको दाहालको भनाइ छ ।
अनुदार भन्ने गरिएका उपाध्यक्ष वैद्यले पनि जनविद्रोह आफ्नो कार्यदिशाको एउटा पक्षमात्र भएकाले तत्कालै त्यस दिशामा जानुपर्छ नभनेको बताए । 'जनविद्रोह कार्यदिशाको एउटा पक्षमात्र हो । हामी इमान्दारीपूर्वक शान्तिमा आएका हौं र शान्तिकै प्रक्रियामा अगाडि बढिरहेका छौं । हामी नयाँ संविधान लेख्न चाहन्छांै,' उनले भने, 'देशभित्रका दलाल, नोकरशाह, सामन्त वर्ग र भारतीय विस्तारवाद मिलेर षड्यन्त्र गरेकाले शान्ति प्रक्रिया अगाडि बढ्ने र संविधान बन्ने स्थिति देखिँदैन । त्यसैले त्यसविरुद्ध आन्दोलन पनि आवश्यक छ भन्ने हो । हामी शान्तिपूर्ण आन्दोलनमै जान्छौं ।'
गणतन्त्रको प्रश्नमा मात्रै आफू वैचारिक रूपमा स्पष्ट हुन खोजेको उनको कथन थियो । लोकतान्त्रिक गणतन्त्रमा सीमित रहने कि जनताको संघीय गणतन्त्रमा जाने भन्ने विषय नै मुख्य प्रश्न रहेको जनाउँदै वैद्यले भने, 'यो लोकतान्त्रिक गणतन्त्रले अहिलेको समस्या समाधान गर्न सक्दैन, जनताको संघीय गणतन्त्र हुनुपर्छ भन्ने हो ।' अर्का उपाध्यक्ष भट्टराईले भने लोकतान्त्रिक गणतन्त्र भनेको सामान्य शब्दावलीमात्र भएको बताए ।
भारतलाई हेर्ने बहुदृष्टि
माओवादीभित्रको प्रधान अन्तरविरोध भनेकै भारतलाई कसरी हेर्ने र उसको हस्तक्षेपविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा हो । यस मामिलामा भट्टराईको दस्तावेज र विचार अरूको भन्दा भिन्न छ । दाहाल र वैद्य यसका दस्तावेज यस विषयमा निकै नजिक देखिन्छन् ।
'प्रधान अन्तरविरोधबारे मेरो र बाबुरामजीको बुझाइमा ठूलो भिन्नता छ । अहिले घरेलु प्रतिक्रियावादी र भारतीय विस्तारवाद नै प्रधान अन्तरविरोध हो भन्ने मेरो धारणा हो । अध्यक्षको र मेरो धेरै कुरा मिल्छन्,' वैद्यले भने । दाहाल र वैद्यले सामन्त, नोकरशाह र दलाल पुँजीपति वर्ग मिलेर बनेको घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवाद घुलमिल भएर आएकाले दुवैसँग एकसाथ लड्नुपर्छ भनेका छन् । भट्टराईले भने साम्राज्यवादको आडमा भारतीय विस्तारवाद र त्यसको पनि आडमा घरेलु प्रतिक्रियावादीले प्रतिक्रान्तिको तानाबाना बुनिरहेकाले पहिला 'भित्रैका तत्त्वसँग लड्नुपर्ने' बताएका छन् ।
'एउटा राइफलले एकसाथ दुइटा निसाना लगाउन सकिँदैन । त्यसमा पनि साथीहरू यहाँका सामन्तसँग मिलेर भए पनि पहिले भारतसँग लड्नुपर्छ भन्नुहुन्छ,' भट्टराईले भने, 'पहिले भारतबाट पालितपोषित देशभित्रका तत्त्वसँग लड्नुपर्छ । त्यसपछि मुलुकभित्रका शक्तिलाई एकढिक्का बनाएर मात्रै भारतसँग लड्नुपर्छ भन्ने मेरो मान्यता हो ।' विषयवस्तुमा समानता देखिए पनि दाहाल र वैद्यबीच त्यसको व्याख्या तथा भारतसँगको भावी सम्बन्धबारेको दृष्टिकोणमा अन्तर छ । 'भारतसँग घुँडा टेक्ने वा सम्झौता गर्ने भन्ने हुनै सक्दैन । यसको मतलब उससँग लड्न गइहाल्ने वा लडीमात्रै रहने भन्ने होइन,' अध्यक्ष दाहालले भने, 'सारमा बुझ्दा राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राख्ने, भारतसँग वार्ता पनि गरिराख्ने हो ।
व्यक्तित्वको टकराव
शीर्षनेतामाझ बेलाबखत व्यक्तित्वको टकराव नदेखिएको होइन तर यसपटक खुलेरै प्रकट भयो । खासगरी अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराईबीच । त्यसैले भट्टराईले नेतृत्व परीक्षण गर्न महाधिवेशन माग गरे । स्रोतका अनुसार यसपटक सफल नभए पनि भावी दिनमा एक नम्बर नेतृत्वको प्रतिस्पर्धामा सबैभन्दा अगाडि आफूलाई उभ्याउने भट्टराईको प्रयास जारी रहनेछ ।
सीधै नेतृत्वको दाबी नगरे पनि चुनबाङ बैठकको कार्यदिशा आफ्नो भएको र कम्युनिस्ट पार्टीमा जसको लाइन पारित हुन्छ, उसैको नेतृत्व हुने भन्दै भट्टराईले घुमाउरो पारामा पार्टी नेतृत्वको दाबी गर्दै आएका छन् । 'जनयुद्धकालमा कतिपय साथीहरू राजासँग मिलेर भारतसँग लड्ने भन्थे र उनीसँग वार्ताको तारतम्य पनि मिलाएका थिए । मैले नै राजतन्त्र र सामन्तवादको अन्त्यपछि मात्रै जनवादको बाटो खुल्छ, त्यसपछि भारतसँग लड्न सकिन्छ भनेको थिएँ । अहिले मैले भनेकै कुरा सफल भएको छ,' उनले भने ।
त्यसैले होला, दाहालले बैठक उद्घाटन मन्तव्यकै क्रममा नेतृत्व रातारात बन्दैन र कसैले चाहेर तुरुन्तै नहट्ने टिप्पणी गरे । 'बुर्जुवा पार्टीमा पनि नेता बन्नलाई लामो प्रक्रियाबाट गुजि्रनुपर्छ । कम्युनिस्ट पार्टीमा त झन् लामो विचारधारात्मक संघर्ष, वर्गसंर्घष, राजनीतिक संघर्षको बीचबाट गुज्रेर थुप्रै उतारचढाव पार नगरी नेतृत्वमा पुगिँदैन,' उनले कान्तिपुरसित भने । अध्यक्षको भनाइको प्रतिवाद गर्दै भट्टराईले पनि अध्यक्ष र आफ्नो राजनीतिक इतिहास बराबर भएको उल्लेख गर्दै भने, 'हामी रातारात नेतृत्वमा गएको पनि होइन ।'
माओवादी नेताहरू पालुङटारमै रहँदा सञ्चारमाध्यममा समाचार र अन्तर्वार्तामार्फत आएका एकअर्काका अभिव्यक्तिविरुद्ध धारणा थिए यी । बैठकमा आफ्नो दस्तावेजमाथि प्रकाश पार्ने क्रममा सोमबार भट्टराईले घरेलु प्रतिक्रियावाद नै प्रधान अन्तरविरोध हो भन्दा आफूलाई ०४८ सालमा फर्कियो भन्नेहरू मोहनविक्रम सिंहजस्ता हुन् भनेर अध्यक्ष र अर्का उपाध्यक्ष वैद्यप्रति कडा टिप्पणी गरे ।
अध्यक्ष दाहाल पनि के कम ? मंगलबारको प्रस्तुतिमा उनले भनिदिए, 'मोहनविक्रम सिंह हुँदा ०४१ सालतिर म र बाबुरामजी ३० वर्ष हाराहारीका सक्रिय युवाका रूपमा पार्टीमा आएका थियौं । त्यतिबेला बाबुरामजी मोहनविक्रमतिर जानुभयो, मचाहिँ किरण -मोहन वैद्य) तिर आएँ ।' अध्यक्ष दाहालले त्यतिबेला वैद्य नै सर्वहारावादी र वैचारिक रूपले तिखो भएकाले आफूले उनको पक्ष लिएको भनेर फुक्र्याउने कोसिससमेत गरे । '०४६ पछि नयाँ परिस्थिति बन्यो र बाबुरामजी पनि हामीपट्ट िआउनुभयो ।'
उपाध्यक्ष वैद्यले पनि यसपटक नेतृत्वप्रति निकै असन्तुष्टि पोखे, कार्यशैलीप्रति । उनको असन्तुष्टिको प्रमुख पक्षचाहिँ आफू भारतको जेलमा भएका बेला गरिएको चुनबाङ बैठकको कार्यदिशा -जुन आफूले बनाएको भन्ने भट्टराईको दाबी छ) मै पार्टी अल्भिmएकामा हो । त्यसपछि भक्तपुरको खरिपाटीमा बसेको विस्तारित बैठकले तय गरेको 'जनताको संघीय गणतन्त्र' को कार्यदिशा -जसलाई वैद्यले आफ्नो लाइन भनेका छन्) नेतृत्वले दुई वर्ष बित्दासमेत कार्यान्वयन गर्न नसकेकामा उनी रुष्ट छन् ।
राज्य तथा विभिन्न तीस समितिका करिब ५५ सय नेता-कार्यकर्तालाई तीन गुटमा बाँडेर बहस चलाएबाटै माओवादी नेतृत्वले पार्टीभित्रका यी तीन धार वा गुटलाई आधिकारिकता प्रदान गरेका छन् । प्रतिनिधिहरूमध्ये को कुन गुटको प्रस्ट भएको छ, कतिसम्म भने एउटा अनुशासनमा बस्नुपर्ने आफ्ना सेनालाई समेत विभाजित बनाएका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks