दुर्गा खनाल
काठमाडौ, मंसिर २ - प्रमुख तीन दलको सत्ता साझेदारी वार्ता 'पालोपालो प्रणाली' तर्फ मोडिएको छ । प्रमुख तीन दलको बिहीबार हुने शीर्ष वार्तामा पनि विकल्पमा आएका चक्रीय र अध्यक्षात्मक प्रणालीमा बहस केन्दि्रत हुने नेताहरूले बताएका छन् ।
कांग्रेसले पहिले आफ्नो नेतृत्व भए चक्रीयमा जान सकिने संकेत दिएपछि सहमतिको सम्भावनासमेत नजिकिएको छ । कांग्रेसलाई पहिलो नेतृत्व दिने विषयमा एमाले नेताहरूसमेत सकारात्मक देखिएका छन् । माओवादीले नेतृत्वको दाबी छाडिनहाले पनि विकल्पहरूमा खुला छलफल गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।
चक्रीय प्रणाली एमालेले अनौपचारिक छलफलमा प्रस्तावकै रूपमा ल्याएको थियो । हात्तीवन वार्तामा माओवादीले चार औपचारिक विकल्पमा यसलाई पनि राखेको
थियो । कांग्रेस र एमालेको एउटा पक्ष अध्यक्षात्मक प्रणालीविरुद्ध देखिएकाले 'चक्रीय' पल्ला भारी भएको हो । नेतृत्वको आकांक्षी एमालेको संस्थापन पक्ष पनि शान्ति र संविधान बन्ने स्पष्ट आधार तयार भए सहमतिका लागि जोसुकैको नेतृत्व स्वीकार्ने पक्षमा देखिएको छ ।
'शान्ति प्रक्रिया टुंगिने र संविधान लेखिने विश्वासिलो आधार तयार भए हामी जुनसुकै विषयमा पनि खुला छौं,' तीन दलको वार्तामा सहभागीमध्ये एमाले उपाध्यक्ष अशोक राईले कान्तिपुरसँग भने, 'सत्ताका लागि झगडा नगरौं भन्नेमा हामी छांै ।'
उनले विश्वासको वातावरण बनेको अवस्थामा कसले पहिले नेतृत्व गर्ने भन्नेमा एमाले नअल्भिmने बताए । एमालेको गत शनिबार बसेको स्थायी समिति बैठकले पनि पार्टीले छुट्टै अडान राखेर सहमति प्रक्रिया नअल्झाउने निर्णय गरेको थियो ।
माओवादीसमेत सबै विकल्पहरूमा लचिलो रूपमा छलफल गर्न तयार देखिएको छ । उसले नेतृत्वको दाबी नछाडे पनि विकल्प खुलाका लागि बहस गर्न तयार रहेको बताएको छ । 'नेतृत्वको दाबी छाडिसकेको स्थिति नभए पनि हामी सबै विकल्पमा छलफल गरी सहमतिमा जान तयार छौं,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।
कांग्रेस नेता रामशरण महतले चक्रीय प्रणालीबारे गम्भीर छलफल नभए पनि अनौपचारिक कुराकानी भएको जानकारी दिए । स्रोतका अनुसार कांग्रेस नेताहरूले मंगलबार प्रधानमन्त्री माधवकुमार नेपाल र एमालेका केही नेतासँग पहिलो नेतृत्व पाएको अवस्थामा त्यो प्रणालीमा जान सकिने बताएका थिए ।
चक्रीय प्रणालीमा हुँदा कसरी कुन-कुन अवधिमा कसले नेतृत्व गर्ने भन्ने विवाद मिलाउनुपर्ने हुन्छ । एमालेभित्र समग्र संक्रमणकाललाई तीन भागमा बाँडी नेतृत्व पालैपालो गर्नुपर्ने धारणा छ । यसअघिका पार्टीका आन्तरिक छलफलमा शान्ति प्रक्रिया र संविधान निर्माण नसकिउन्जेलको एक अवधि, त्यसपछि निर्वाचनको तयारी गर्ने समयलाई अर्को अवधि र नयाँ निर्वाचनका लागि अर्को अवधि गरी तीन भागमा बाँड्नुपर्ने कुरा उठेको थियो ।
यी चरणमध्ये कांग्रेसले पहिलो चरणको नेतृत्व आफूले गर्ने, बीचको समय माओवादीलाई दिनुपर्ने र अन्त्यमा चुनाव गराउने सरकारको नेतृत्व एमालेले लिनुपर्ने धारणा एमाले नेताहरूसँग अनौपचारिक छलफलमा राखेको स्रोतले बतायो ।
'माओवादीलाई पहिलो र अन्तिम नेतृत्व दिनु हुँदैन भन्ने उहाँहरूको प्रस्ताव आएको छ । लडाकुको मुद्दा टुंगो नभएसम्म माओवादीलाई दिन सकिँदैन भन्ने हाम्रो पनि धारणा हो,' एक एमाले नेताले भने, 'राष्ट्रिय सहमति हुने अर्थमा हामी पहिलो चरणमा कांग्रेस नेतृत्व मानेर अघि बढ्न तयार छौं ।'
बिहीबार हुने शीर्ष बैठकबाट निकास निस्कन सक्नेमा नेताहरू आशावादी छन् । माओवादी विस्तारित बैठकमा केन्दि्रत हुनुअघि नै सहमति जुटाउन कांग्रेस र एमालेका नेताहरू पहल गरिरहेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks