Loving nepal news

Thursday, November 25, 2010

"नायिकालाई राम्रो नजरले हेर्दैनन्"


सुशील पौडेल

काठमाडौ, मंसिर १० - दसौं फिल्म खेलेर पनि आफूलाई चिनाउन नपाएका कलाकारका लागि दुई फिल्मबाटै चर्चा बटुल्न सफल नायिका रञ्जिता गुरुङ भाग्यमानी हुन सक्छिन् ।

रञ्जिताले खेलेका दुई फिल्ममध्ये 'गोर्खा पल्टन' चलिरहेको छ भने प्रदर्शन भई नसकेको 'दसगजा' च्यारिटी शोमै रमाइरहेको छ । तर पनि पुसमा भर्खर २२ टेक्दै गरेकी बाटुले गोह्रो अनुहारकी उनी आफूलाई नायिका भनिहाल्न भने रुचाउँदिनन्, भलै उनले 'गोर्खा पल्टन'मा गायकबाट नायक बनेका प्रशान्त तामाङको जोडीका रूपमा देखिएकी थिइन् भने 'दसगजा'मा नायक नवल खड्काकी ।

'नायिका हुन त लामो समय टिकिरहनुपर्‍यो नि,' उनको मान्यता छ, 'एउटा निर्माता/निर्देशकसँग सम्बन्ध बढाउँदैमा नायिका बनिहालिन्छ भन्ने मलाई लाग्दैन ।' त्यस्तो सोचाइले नायिका बन्न पनि सायदै कोही आउने उनको ठम्याइ छ । उनी यसमा समाजको हेराइलाई दोष दिन्छिन् । 'महिला कलाकारप्रति हेर्ने समाजको नजर नै घिनलाग्दो छ, त्यस्तो नहोस्,' अभिनय सिकेरै आजन्म कला क्षेत्रमा लाग्ने सोच पालेकी रञ्जिता फिल्ममा पनि नायिकालाई सौन्दर्य वस्तुका रूपमा चित्रित गरिने प्रवृत्तिसँग विमत रिाख्छिन् ।

उनको विमति यतिमै सीमित भने छैन । हरेक क्षेत्रमा समावेशीका कुरा गरिरहेका बेला फिल्म क्षेत्रमा भने नहुनुमा निर्माता/निर्देशकलाई दोष दिन्छिन् । 'मंगोलियन फेसका कलाकारलाई लिनै नमान्ने' कारणबारे उनी भन्छिन्, 'मान्छे हेर्नु पहिले नै आँखा चेम्सो होला, नाक थेप्चो होला भनेर कुरै गर्न मान्दैनन् ।' आफूले खेलेका दुवै फिल्ममा मंगोलियन अनुहारकै युवती चाहिएकाले मात्रै खेल्न पाएको सुनाइन् । 'तर म त्यति मंगोलियन देखिइन् रे, उहाँहरूले भन्नुभएअनुसार राम्रो मेकअप गर्‍यो भने बाहुनी नै देखिन्छु रे,' गोरखा थालाजुङकी गुरुङसेनी त्यसपछि लामो समय हाँसिन् ।

गुरुङ गाउँमा जन्मेहुर्केकी रञ्जिता सानैदेखि नाच्नमा रुचि राख्दिरहिछन् । उनको आदर्श भनेकै नृत्यांगनाबाट फिल्म क्षेत्रमा छिरेकी अभिनेत्री मिथिला शर्मा रहिछन् । 'सायद कलाकार बन्ने भोक त्यहींबाट पलायो,' उनको त्यो भोक अहिले लतमा परिणत भइसकेको छ । उनी कलाको लतले आफूलाई बुढ्यौलीसम्म नछोड्ने ठान्छिन् । यौवन र उमेरमा मात्रै नायिका नबनेर जुनसुकै भूमिकामा अभिनय गर्ने कलाकार बन्ने उनी बताउँछिन् ।

झन्डै एक वर्षअघि गाउँकै केटासँग प्रेमविवाह गरेको खुलासा गर्दै उनले कतिपयले आफूलाई प्रशान्त -तामाङ) दाइसँग जोडेर पनि कुरा गरेको सुनेकी रहिछन् । उनले भनिन्, 'एकपटक न्युरोडमा हिँड्दा कसैले प्रशान्तेको बूढी भनेको सुनें ।' उनले त्यसो हुनुमा त्यसबेला मिडियामा गोर्खा पल्टन फिल्ममा प्रशान्तसँग बिहे गरेको फोटो आएकाले झुक्किएको हुन सक्ने अड्कल काटिन् । फिल्म लाइनमा लागेपछि धेरैले विवाहका बारेमा थाहा दिन नहुने बताए पनि उनले रोजगारीका लागि बेलायतमा रहेका उनका पतिका बारेमा झूट बोल्न मानिनन् । भन्छिन्, 'मेरा लागि परिवारभन्दा माथि पेसा पनि हुन सक्दैन ।' उमेर नबताउनु, परिवारका बारेमा ढाँट्नु भनेको आफ्नै इतिहासलाई ढाँट्नु रहेछ, उनका लागि ।

खेलेका दुवै फिल्मले राम्रै चर्चा बटुलेकाले यसकी नायिका पनि त अहिले व्यस्त होलिन् नि । 'मसँग अहिले एउटै फिल्म छैन, हातमा फिल्म नभए पनि भ्याएकी छैन वा यस्तै राम्रा बहाना रचेर किन ढाँट्नु ? दसैंअघि एउटा फिल्मका लागि सम्झौता भए पनि व्यवहार राम्रो लागेन र काम गरिनँ ।'

गुरुङ भाषाको फिल्म 'सैर बैं ताँ' -मनको कुरा) की समेत नायिका रहेकी गुरुङलाई 'गोर्खा पल्टन' मा आफ्नो 'अपोजिट'मा प्रशान्त तामाङ हुन् भन्ने पहिलोपटक सुन्दा विश्वासै गर्न गाह्रो परे पनि पछि उनको सरल र सहयोगी स्वभावले सजिलो भएको सुनाइन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks