Loving nepal news

Wednesday, November 10, 2010

चिनियाँ पर्यटकलाई भिसा शुल्क छुट दिइने


शिला पाण्डे

काठमाडौ, कार्तिक २५ - नेपाल पर्यटन वर्षको अवसर पारेर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ पर्यटकलाई भिसा शुल्क मिनाहा गर्ने तयारी गरेको छ । दक्षिण एसियाली पर्यटक नेपाल आउन यस्तो शुल्क तिर्नु पर्दैन ।

पर्यटन वर्ष २०११ मा नेपाल आउने चिनियाँ पर्यटकलाई भिसा छुट दिन गृह तथा अर्थ मन्त्रालयको समेत स्वीकृति लिने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता लक्ष्मण भट्टराईले बताए । 'ल्हासामा भदौ २५ गतेदेखि भएको पर्यटन समन्वयको संयुक्त समितिको बैठकमा चिनीयाँ पक्षले यस्तो एजेन्डा प्रस्तुत गरेको थियो,' उनले भने, 'यसले नेपाली पर्यटनलाई पनि फाइदा पुग्ने भएकाले मन्त्रालयले सकारात्मक पहल थालेको हो ।'

मन्त्रालयले छिट्टै गृह र अर्थमा पत्र पठाउने उनले जनाए । 'त्यसपछि मन्त्रिपरिषद्मा प्रस्ताव लगिनेछ,' भट्टराईले थपे । नेपाल आउने गैरसार्क क्षेत्रका पर्यटकले १५ दिनको लागि २५ अमेरिकी डलर र एक महिनाका लागि ४० अमेरिकी डलर शुल्क तिर्नुपर्छ ।

विश्वका अन्य मुलुकमा जाने पर्यटकमा चिनियाँ पनि प्रमुख छन् । 'चिनियाँ पर्यटक ठुलो संख्यामा बाह्य मुलुक घुम्न जान्छन्,' उनले भने, 'नेपालले २०११ का लागि मात्र भए पनि भिसा छुट दिँदा त्यसको फाइदा उठाउन सकिन्छ ।'

दु्रत गतिमा आर्थिक वृद्धि गरेर मध्यम वर्गको आम्दानी बढ्दै गएपछि संसार घुम्न निस्कने पर्यटक संख्या बर्सेनि उल्लेख्य बढ्दै गएको छ । चाइना डेलीका अनुसार सन् २००९ मा ४ करोड ७० लाख चिनियाँ घुम्न निस्केका थिए । सन् २०१० मा यो संख्या बढेर ५ करोड ४० लाख पुग्ने अनुमान चाइना टुरिजम एकेडेमीले गरेको छ । यसको थोरै संख्या मात्र नेपाल आकषिर्त गर्न सके पनि नेपाली पर्यटन उद्योगमा ठूलो योगदान पुग्ने आशा गरिएको छ । २०२० मा यो संख्या १० करोड पुग्ने प्रक्षेपण विश्व पर्यटन संगठनले गरेको छ ।

सरकारले पर्यटन वर्षमा लक्ष्य राखेको १ लाख चिनियाँ पर्यटक भित्र्याउन पनि यस्तो व्यवस्थाले सघाउ पुग्ने भट्टराईले बताए । सन् २००९ को जुनदेखि लगातार बढेको पर्यटक आगमनको कुल हिस्सामा ५ प्रतिशत चिनियाँ पर्यटक छन् । यो वर्ष १८ हजार ६ सय ७७ पर्यटक नेपाल आएका थिए । २०१० को जनवरीदेखि अक्टोबरसम्म २० हजार ९ सय चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् । यो अवधिमा नेपाल आउने पर्यटक संख्याको आधारमा चीन चौथो स्थानमा पर्छ । पहिलो स्थानमा भारत -८५ हजार ६ सय ५५ पर्यटक), दोस्रोमा अमेरिका -२७ हजार २ सय १७) र तेस्रोमा २६ हजार पर्यटक संख्याका साथ बेलायत रहेको छ ।

विश्व पर्यटन संगठनले समेत सन् २०२० सम्म चीन ठूलो पर्यटकीय गन्तव्यमा विकास हुने बताएको छ । त्यस्तै बाह्य मुलुक घुम्नका लागि गर्ने खर्चको आधारमा चीन विश्वमै चौथो मुलुकका रूपमा चिनिने उल्लखे गरेको छ । हाल चीन पाँचौं स्थानमा रहेको संगठनको अध्ययनमा छ ।

संगठनका अनुसार चिनियाँ पर्यटकहरुरूे सन् २००२ मा १५ अर्ब अमेरिकी डलर खर्च गरेका थिए । यो रकम क्रमशः बढेको छ । तथ्यांकअनुसार २००४ मा चिनियाँ पर्यटकले घुम्नका लागि १९ अर्ब अमेरिकी डलर खर्च गरेका थिए ।

'आउट बाउन्ड' पर्यटकका लागि चीनले एसियामा सन् २००३ देखि लगातार नेतृत्व गरिरहेको छ । 'छिमेकी मुलुक भएका कारण पनि नेपाली पर्यटनमा यसले निकै फाइदा पुग्न सक्छ,' पर्यटन प्रवक्ता भट्टराईले भने, 'ठूलो सम्भावना देखिएकाले त्यसको तयारी अहिलेदेखि गर्नु राम्रो हुन्छ ।'

उनका अनुसार चिनियाँ पर्यटक बढाउन सडक यातायात सञ्चालन गर्न पनि मन्त्रालयले प्रयास गरिरहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks